मातापिताले आफ्नै छोरालाई यस्तोसम्म गरे, मानवता नै लज्जित !

डिसी नेपाल
१३ माघ २०७८ १६:०१

काठमाडौं। चीनमा एक किशोरले आत्महत्या गरेका छन् । यी किशोरलाई उनका मातापिताले अपनाउन अस्वीकार गरे त्यसपछि उनले आत्महत्याको बाटो रोजे । लियु शुझोउ नामका यी किशोरलाई उनका मातापिताले बाल्यकालमै बेचिदिएका थिए । ठूलो भएर उनले धेरै प्रयासपछि आफूलाई जनमाउने मातापितालाई खोजे । तर, उनका मातापिताले उनलाई अपनाउन अस्वीकार गरे । त्यसपछि लियुले आत्महत्याको बाटो रोजेका हुन् ।

यी किशोरको दर्दनाक भोगाइ सार्वजनिक भएपछि सामाजिक संजालमा चिनियाँहरुले आक्रोश पोखेका छन् र उनीहरु मृतक किशोरप्रति संवेदना व्यक्त गरिरहेका छन् । बीबीसीको एक रिपोर्टका अनुसार लियुले सोमबार बिहान चीनको हैनान प्रान्तमा आत्महत्या गरेका हुन् । १७ वर्षका लियु चिनियाँ नागरिकबीच त्यतिबेला चर्चामा आएका थिए जब उनले एउटा भिडियो पोस्ट गरेर आफ्ना जन्म दिने मातापिता खोज्न सहयोग मागेका थिए ।

रिपोर्टअनुसार लियुलाई उनका मातापिताले २००५ मा बेचिदिएका थिए । तर, लियुलाई किनेका उनका पालनपोषण गर्ने मातापिताको एक दुर्घटनामा मृत्यु भयो । त्यसपछि लियु हजुरबुवा, हजुरआमा र अन्य आफन्तसँग बसेका थिए । गत वर्ष डिसेम्बरमा लियु सामाजिक संजालको सहयोगमा आफ्ना मातापिता खोज्न सफल भए । उनलाई जन्माउने मातापिताले सम्बन्धविच्छेद गरिसकेका थिए र अर्को बिहे पनि गरिसकेका थिए ।

लियुले सामाजिक संजालमा जानकारी दिएअनुसार उनी पहिलो पटक मातापितासँग भेट्दा उनीहरुको व्यवहार राम्रो थियो तर उनले आफूलाई केही पैसा आवश्यक भएको बताएपछि उनीहरुको व्यवहार बदलियो । लियुले आफूसँग बस्न घर नभएकोले आफू उनीहरुसँग बस्न सक्छु भनेर सोधेका थिए । तर, यसपछि उनका मातापिता उनीसँग बोल्न छोडे र म्यासेज गर्ने एप विच्याटमा पनि ब्लक गरिदिए ।

सोमबार आधा रातमा लियुले विबोमा लामो पोस्ट लेखेका थिए । पोस्टमा उनले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । पोस्टको अन्त्यमा उनले आफ्नो जीवन अन्त्य गर्न लागेको लेखेका थिए । यो पोस्ट पढेपछि धेरैले उनलाई यसो नगर्न भनेका थिए, कैयौंले उनलाई बचाउन उनलाई खोज्ने प्रयास पनि गरेका थिए । लियुकी आन्टीले स्थानीय मिडियासँग बताएअनुसार पोस्ट लेखेको केही घण्टामा लियुलाई खोजिएको थियो र उनलाई अस्पताल लगिएको थियो तर उनको अवस्था धेरै बिग्रिएकोले उनलाई बचाउन सकिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *