छोराको अन्त्येष्टिपछि १५ वर्षदेखि मसानघाटमा बसिरहेकी आमा भन्छिन् ‘छोरा सुतिरहेको छ’

डिसी नेपाल
१३ माघ २०७८ १६:३७

काठमाडौं। आमाको आफ्नो सन्तानसँग नाता बच्चा जन्मिनुभन्दा ९ महिना पहिल्यै जोडिन्छ । तर, एउटी आमा यस्ती पनि छिन् जसले छोराको मृत्यु भएको १५ वर्षपछि पनि उनलाई आफूबाट अलग्गिन दिएकी छैनन् । जहाँ छोराको अन्तिम संस्कार भयो आमाले त्यही मसानघाटलाई नै आफ्नो घर बनाइन् ।

तर, उनले यस्तो किन गरिन् ? यही प्रश्नको जवाफ खोज्न भारतीय अखबार दैनिक भास्करको टिम राजस्थानको सीकरको धर्माण मोक्षधाम पुग्यो । त्यहाँ उक शवको अन्तिम संस्कारको तयारी चलिरहेको थियो । मलामी पुरुषहरुको भिडमा एउटी महिला देखिइन् । उनी त्यहाँ भएका मानिसहरुलाई पानी खुवाइरहेकी थिइन् भने अन्तिम संस्कारका लागि आएका मलामीहरुको सहयोगको लागि दाउरा पनि जुटाइरहेकी थिइन् ।

जब चितालाई मुखाग्नी दिइयो, महिला पनि त्यहाँबाट ओझेल परिन् । भास्कर टिमले मोक्षधाम समितिका मानिसहरुसँग महिलाबारे सोध्यो । उनीहरुले भने ‘महिलाको नाम राज कंवर हो । हेर्नुस् यहीँ कहीँ होलिन् । मसानघाटबाहिर त कहिल्यै जान्नन् ।’ आसपास हेर्दा राज कंवर एउटा बिरुवाबाट फूल टिप्दै थिइन् ।

उनले भास्करको टिमलाई केही कागज र अखबारको कटिङ देखाउँदै भनिन् ‘मेरो छोराले आजसम्म न्याय पाएन । दुनियाले उसलाई बिर्सियो । उसले पनि मलाई बिर्सियो तर मैले उसलाई कसरी बिर्सुं ?’ त्यसपछि उनले सबैलाई अन्तिम संस्कार गरिएको ठाउँमा लगेर देखाउँदै भनिन् ‘यहाँ सुतिरहेको छ मेरो छोरा… इन्दर ।’

उनका अनुसार ३ डिसेम्बर २००८ मा उनका २२ वर्षका छोरा इन्द्र सिंह सडक दुर्घटनामा परेका थिए । सीकरको एसके अस्पतालमा उपचार गरिएको थियो तर उपचारकै क्रममा मृत्यु भयो । उनले अन्तिम पटक छोराको अनुहार समेत देख्न पाइनन् । शवलाई शिवधाम धर्माणा ल्याइयो । उनको छोराबाहेक कोही थिएन र छोराको पनि उनीबाहेक कोही थिएन । उनैले छोराको अन्तिम संस्कार गरिन् ।

अन्तिम संस्कारपछि अस्थि विसर्जित गर्न उनी हरिद्वार गइन् । त्यहाँबाट फर्केर मसानघाट आइन् । १२ दिनसम्म त कसैले केही भनेनन् तर पछि भन्न थाले कि महिलाको मसानघाटमा के काम ? राज कंवर भन्छिन् ‘मैले उनलाई कसरी सम्झाउनु कि मेरो त जीवनभरको सम्पत्ति नै मसानघाटमा छ उसलाई छोडेर म कसरी जाउँ ? मैले मानिसहरुको कुरा सुनिन । केही समयपछि उनीहरुले पनि भन्न छोडे । अब यही मेरो घर हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *