फार्मेसी विहीन जिल्ला अस्पताल

डिसी नेपाल
१३ माघ २०७८ १८:४५

काठमाडौं। हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा यहाँका बिरामी सास्ती खेपी रहेका छन् । जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको अस्पतालमा फार्मेसी विनाको अस्पताल हुँदा यहाँका बिरामीलाई औषधि पाउनै मुस्किल हुने गरेको छ ।

२०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म फार्मेसी सेवा स्थापना नहुँदा बिरामीले निजी मेडिकलको औषधि चर्को मुल्य हालेर उपचार गर्नु पर्ने अवस्थाले झन् सास्ती भएको छ । उपचारको लागि अस्पतालमा आएका बिरामीलाई चिकित्सकले चेकजाँच गरी अस्पताल भित्र पाइने निःशुल्क औषधि दिने र नभएको औषधि पुर्जामा लेखेर बिरामीलाई गमगढी बजारमा रहेका निजी मेडिकलमा पठाउने गरेका छन् ।

जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई औषधि उपचार गर्न गाह्रो अवस्था भएको चिकित्सक नहकुल शाहीले बताए । उपचार गर्न आएका बिरामीलाई सबै प्रकारका औषधि प्राप्त होस भन्ने उद्देश्यले अस्पतालले अनिवार्य फार्मेसी स्थापना गर्नु पर्ने हो ।जिल्ला अस्पतालका चिकित्सक भन्छन्, “सरकारले दिएको निस्शुल्क औषधिले सबै बिरामीको उपचार हुँदैन । केही औषधि फार्मेसीबाट ल्याएर उपचार गर्नुपर्ने हुन्छ । तर, त्यो सुविधा छैन ।”

जिल्ला अस्पतालबाट माथि गमगढी बजारका मेडिकल पुग्न ३० मिनेट समय लाग्ने गरेको छ । निःशुल्क र सहुलियत दरमा उपचार गर्न जिल्ला अस्पताल आएका बिरामीलाई उल्टै महँगो औषधिको मार खेप्नु पर्ने अवस्था अस्पतालमा छ । जिल्ला अस्पतालमा फार्मेसी खोल्नु पर्ने नियम भए पनि सम्बन्धित निकायले वास्ता नगर्दा अस्पताल लामो समयदेखि फार्मेसी विहीन छ ।

“निर्देशिका बनाएर अस्पतालमा फार्मेसी स्थापना गर्ने सोचमा छौं,” जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक प्रमुख उमेश गौतमको भनाई छ । फार्मेसी स्थापना गर्न करिब ५ लाख बजेट चाहिने उक्त बजेट प्रदेश कार्यालयमा माग गर्नुपर्ने उनको भनाई छ । अस्पतालमा फार्मेसी स्थापना गर्न सकियो भने बिरामीलाई औषधिमा २० प्रतिशत छुट दिन सकिने उनले बताए ।

क्षेत्रीय मेडिकल स्टोरले उपलब्ध गराउने ७० प्रकारको निस्शुल्क औषधि र जिल्ला स्वास्थ्य सेवा कार्यालयको बजेट बाट खरिद गरेको औषधि स्टोरमा राख्ने र आवश्यकता अनुसार सोही औषधि बिरामीलाई दिने गरिएको छ ।जिल्ला स्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा आफ्नो बजेटबाट औषधि नै खरिद नगर्दा जिल्लामा औषधिको जटिल समस्या देखिएको छ ।

औषधि खरिदको लागि १८ लाख बजेट भए पनि अहिलेसम्म उक्त बजेट कागजमै सीमित राखिएकाले बिरामीलाई औषधि किन्न मेडिकल पठाउने गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *