अप्ठ्यारोमा देउवा : अमेरिका रिझाउँदा ओली–प्रचण्ड मिल्ने त्रास

मदन कोइराला
१७ माघ २०७८ १२:१८

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन प्रधानमन्त्री शेरबहादुर देउवाको लागि ‘अप्ठ्यारोमा फलेको फर्सी’ जस्तै भएको छ।

उनलाई अमेरिका रिझाउनको लागि एमसीसी संसदबाट पारित गराउने दबाब छ। यसका लागि उनी पेलेरै अगाडि जान पनि तयार छन्। तर, यसरी अगाडि बढ्दा चुनाबअगाडि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आपसमा मिल्ने डर उनलाई छ।

प्रधानमन्त्री देउवा संसदबाट एमसीसी पारित गर्नुपर्ने पक्षमा छन्। यसका लागि देउवालाई सघाउन एमाले अध्यक्ष केपी शर्मा ओली पनि तयार छन्। एमाले र कांग्रेस दुवैको समर्थन भएको अवस्थामा संसदबाट एमसीसी पारित हुन सक्ने सम्भावना रहन्छ।

तर, यसो गर्दा चुनाबमा ओली–प्रचण्ड मिलेर जाने जोखिम देखेका कारण देउवा हच्किएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसी पारित गर्न नहुने पक्षमा छन्।

बुढानीलकण्ठ स्रोतका अनुसार देउवासँग एमसीसी संसदमा टेबुल गर्ने र एमालेको समर्थनमा त्यसलाई संसदबाट पारित गराउने विकल्प छ। उनलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी आफ्नो गठबन्धनमा बाहिरिँदा पनि चिन्ता छैन।

किनकि एमाले अध्यक्ष ओलीसँग तल्लो स्तरको आरोप प्रत्यारोपमा उत्रिएर अलग्गिएका माधव नेपाल फेरि एमालेमै फर्किएर जालान् वा पार्टी एकता नगरे पनि निर्वाचनका लागि नेपालले ओलीसँग कार्यगत एकता वा सहकार्य गर्लान् भन्ने देउवालाई लाग्दैन।

तर, प्रचण्डको हकमा भने त्यस्तो अवस्था छैन। प्रचण्डले पहिले एउटै पार्टी नेकपामा हुँदा ओलीसँग मतभिन्नता भए पनि पार्टी फुटाएका होइनन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता सर्वोच्च अदालतले अर्कै मुद्दाको फैसला गर्ने क्रममा बदर गरिदिएको हो।

एमालेसँग मिल्दा गठबन्धन भत्किने भय देउवालाई पनि छ, त्यो भन्दा ठूलो भय देउवालाई फेरि ओली र प्रचण्ड मिल्छन् कि भन्ने छ। त्यही भएर देउवा गठबन्धनको निरन्तरताको पक्षमा छन्, त्यो भन्दा बढी गठबन्धनको आवश्यकता प्रचण्ड र माधव नेपाललाई छ, उनीहरु एमसीसीको बहानामा सत्ता गठबन्धन तोड्न चाहँदैनन्।

त्यसैले अहिले आफूले एमसीसी पेलेर अगाडि बढाएर प्रचण्डलाई बिच्क्याउँदा उनी आत्मालोचनासहित ओलीसँग मिल्न गइदिए भने चुनाबमा आफ्नो पार्टी नराम्रोसँग पराजित हुन सक्ने जोखिम देउवाले देखेका छन्।

प्रधानमन्त्री देउवामाथि एमसीसी पारित गराउनुपर्ने दबाव छ। त्यसका लागि देउवा पछिल्लो समय आक्रामक रुपमा लागि परेका पनि छन्।
गत शनिबार प्रधानमन्त्री देउवाले सत्ता सहयात्री दलका नेतालाई एमसीसी संसदबाट पारित गर्न आग्रह गरेका थिए।

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सहयोग गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए।

माओवादी र एकीकृत समाजवादीभित्र जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा छन्। विशेष गरी माओवादी नेता नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा छन्। तर त्यसका लागि प्रधानमन्त्री तयार नभएको स्रोतले जनाएको छ।

‘अहिले परिस्थिति अलिक फरक जस्तो देखिएको छ,’ प्रधानमन्त्री देउवा निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘अहिले प्रधानमन्त्रीज्यूलाई एमसीसी पारित गर्नेपर्ने दबाव आएजस्तो देखिएको छ। त्यसका लागि उहाँले अग्रसरता लिनु भएको हो।’

प्रधानमन्त्री देउवा वर्तमान गठनबन्धनलाई जोगाउँदै एमसीसी पारित गर्ने पक्षमा छन्। यदि त्यसका लागि सत्ता सहयात्री दल तयार नभए प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहयोग लिएर भएपनि एमसीसी पारित गर्ने पक्षमा छन्।

‘अहिले बाहिर आएजस्तो एमसीसी अगाडि बढाउँदा गठबन्धन टुट्ने भन्ने होइन,’ देउवा निकट स्रोतले भन्यो, ‘सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने सहमति भइसकेको छ। पारित गर्दा आफूले बाध्यतामा सहमति गरेको देखाउन अहिले बाहिर प्रचारबाजी गरेका हुन्।’

त्यसो त प्रधानमन्त्री देउवासँग एमालेसँग मिलेर एमसीसी पारित गराउने विकल्प पनि छ। त्यसका लागि एमालेले सभामुख अग्नि सापकोटाको बहिर्गमन चाहेको छ। एमालेले वर्तमान गठबन्धनको निरन्तरता चाहँदैन।

स्थानीय तह निर्वाचन अगाडि नै यो गठबन्धन भत्कियोस भन्ने चाहन्छ। एमालेसँग मिल्दा गठबन्धन भत्किने भय देउवालाई पनि छ, त्यो भन्दा ठूलो भय देउवालाई फेरि ओली र प्रचण्ड मिल्छन् कि भन्ने छ।

त्यही भएर देउवा गठबन्धनको निरन्तरताको पक्षमा छन्, त्यो भन्दा बढी गठबन्धनको आवश्यकता प्रचण्ड र माधव नेपाललाई छ, उनीहरु एमसीसीको बहानामा सत्ता गठबन्धन तोड्न चाहँदैनन्। ‘सबैका आ–आफ्ना स्वार्थ भएका कारण तत्काल गठबन्धन तोडिँदैन र एमसीसी पनि संसदबाट पारित हुन्छ,’ गठबन्धनका एक नेताले भने।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *