लता मंगेशकरकी ‘सानी साथी’ को हुन् ? जसले लतालाई नै गीत गाएर सुनाउँथिन्

डिसी नेपाल
२५ माघ २०७८ १५:४८
276
Shares

काठमाडौं। स्वर कोकिला लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । लताले करिब ७ दशक लामो सांगीतिक यात्रामा ३६ फरक फरक भाषामा ३ हजारभन्दा धेरै गीत गाएर करोडौंलाई सुनाइन् । यसको विपरित एउटी ८ वर्षकी बालिका छिन् जसले लतालाई गीत गाएर सुनाउँथिन् । ८ वर्षकी इशानवी लताकी सानी साथी हुन् जसलाई लताले ‘छोटी’ भनेर बोलाउँथिन् । भिडियो कलमा लता र इशानवीले लामो कुरा गर्थे ।

भिडियो कलका क्रममा लताले आफूले सुन्न चाहेको गीत फरमाइश गर्थिन् र इशानवीले लतालाई गीत गाएर सुनाउँछिन् । यसको बदलामा लताले इशानवीको लागि उपहार पठाउँथिन् । यी दुईले प्रत्यक्ष रुपमा कहिल्यै भेटेनन् तर विगत ३ वर्षदेखि उनीहरुको मित्रता अगाडि बढिरहेको थियो । अब लता नरहेपछि इशानवीले लतालाई निकै सम्झिरहेकी छिन् । उनका प्रश्नको उत्तर उनका अभिभावकसँग छैन । इशानवी डाक्टर प्रतीत समधनीकी छोरी हुन् जसले २०१९ देखि लताको नियमित स्वास्थ्य जाँच र उपचार गरिरहेका थिए ।

डाक्टर प्रतीत समधनीका अनुसार लता र इशानवीबीच संगीतका विषयमा धेरै कुरा हुन्थ्यो । यी दुईले एक अर्कालाई चिठी पनि लेख्थे । डा. समधनीले भने ‘निमोनियाका कारण २०१९ मा लताजी ब्रिच क्याण्डी अस्पताल भर्ना भएका बेलादेखि उहाँको रेखदेख मैले र डा. शर्माले गरिरहेका थियौं । यही क्रममा मेरी पत्नी रुची र छोरी इशानवीसँग उहाँको खास सम्बन्ध बन्यो । कोभिड गाइडलाइनका अनुसार मैले उहाँको प्रोटोकल तयार गरेको थिएँ । म पनि उहाँको घर धेर जान्नथें । भिडियो कलमा ८–१० दिनको फरकमा कुरा हुन्थ्यो । उहाँ पनि धेरै अरुसँग भेट्नुहुन्नथ्यो ।’

डा. समधनीका अनुसार उनले लताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन फोन गर्दा लताले सानी साथीसँग कुरा गराउन भन्थिन् । लता इशानवीलाई छोरी भनेर बोलाउँथिन् । लताले डा. समधनीसँग उपचार र औषधिबारे जानकारी लिएपछि सधैं इशानवीसँग कुरा गर्थिन् । लताले आफ्नो बाल्यकालबारे इशानवीलाई बताउँथिन् र उनी चाखपूर्वक सुन्थिन् । लताले इशानवीलाई गीत गाउन पठाउँथिन् । गीत सुनेपछि लताले उनको गीत आफ्नो युट्युब च्यानलमा बजाउने बताउँथिन् ।

कुनै पनि अवसरमा लता इशानवीलाई गिफ्ट पठाउँथिन् । भिडियो कलमा इशानवीलाई देखेर अनुमानको आधारमा उनको लागि ड्रेस पठाउँथिन् । ती कपडाहरु इशानवीलाई फिट हुन्थे । लताले भिडियो कलबाटै इशानवीको फोटोमा स्क्रिनबाट साइल गरेर अटोग्राफ पनि पठाएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *