जन्मकैद पाएका कंदील बलोचका हत्यारालाई किन रिहा गरियो ? को थिइन् कंदील बलोच ?

डिसी नेपाल
३ फागुन २०७८ १२:०७

काठमाडौं। पाकिस्तानको लाहोर हाइकोर्टको मुल्तान बेन्चले मोडल तथा अभिनेत्री कंदील बलोचको हत्याको मुद्दामा मुख्य अभियुक्त तथा पीडितका दाजु मोहम्मद वसीमलाई जन्मकैदको सजायबाट बरी गरिदिएको छ । लाहोर हाइकोर्टको मुल्तान बेन्चका न्यायाधीश सुहैल नासिरले दुवै पक्षमा सम्झौता भएको र गवाहहरुले बयान फेरेको आधारमा मुख्य अभियुक्तलाई बरी गरिदिएका हुन् । मुख्य अभियुक्त मोहम्मद वसीमले मोडल कोर्टको फैसलालाई चुनौती दिँदै हाइकोर्टमा गरेको अपिलमाथि सुनुवाइपछि यो फैसला सुनाइएको हो ।

अभियुक्त मोहम्मद वसीमको तर्फबाट वकिल सरदार महबुबले अदालतमा दलील पेश गरेका थिए । यसअघि मुल्तानको मोडल कोर्टले २०१९ को डिसेम्बर २७ मा कंदील बलोच हत्याकाण्डमा फैसला सुनाउँदै मुख्य अभियुक्त र पीडितका दाजु मोहम्मद वसीमलाई जन्मकैदको सजाय सुनाएका थिए । सामाजिक संजालमा आफ्नो खुला र बोल्ड पहिचान बनाएकी कंदील बलोचको २०१६ को जुलाइमा हत्या गरिएको थियो । त्यतिबेला उनी आफ्नै घरमा थिइन् । पुलिस जाँचमा उनको घाँटी थिचेर हत्या गरेको खुलासा भएको थियो ।

बीबीसी संवाददाता तुरहब असगरसँग कुरा गर्दै कंदील बलोचका वकिल सफदर अब्बासले कंदीलका मातापिताले आफूलाई कंदीलको वकिल नियुक्त गरेको बताए । अर्कोतर्फ वकिल महबुबलाई कंदीलका दाजुभाइको वकिल नियुक्त गरिएको थियो । अब्बासले भने ‘मैले कंदीलका मातापिताको तर्फबाट राजीनामा दाखिला गरेको थिएँ कि यदि अदालतले वसिमलाई रिहा गर्छ भने यसमा हामीलाई कुनै आवत्ति छैन । यद्यपि यसपछि वसिमका वकिलले अदालतमा रिहा गरिनुपर्ने रिट दायर गरे र सोमबार उनलाई रिहा गरियो ।’

उनले अगाडि भने ‘कंदीलका दाजुलाई दुई कुराको आधारमा रिहा गरिएको हो । पहिलो हाम्रो तर्फबाट दाखिला गरिएको राजीनामा र दोस्रो अदालतमा पुलिसको तर्फबाट पेश गरिएको १६४ को बयान हो । यसैका आधारमा वसीमको तर्फबाट यो भनियो कि पुलिसले मलाई धम्क्याएर इकबालिया बयान लिएको थियो जबकि मैले कंदील बलोचलाई मारेको होइन ।’ वकिल सफदर अब्बासले बताएअनुसार कंदीलका मातापिता आफ्ना छोरा यो केसबाट रिहा होउन् भन्ने चाहन्थे । तर, एक महिना पहिले कंदीलका पिताको पनि मृत्यु भयो जो यो केसमा वादी थिए ।

मुल्तानको मोडल अदालतले २०१९ मा यो मुद्दामा एक अभियुक्त मोहम्मद आरिफलाई वान्डेड घोषित गरेको थियो । कंदीलका दाजु असलम शाहीन तथा धार्मिक स्कलर तथा पाकिस्तान तहरिक ए संसाफका उलेमा विंगका पूर्व सदस्य मुफ्ती अब्दुल कवी समेत ५ अभियुक्तलाई बरी गरेको थियो । न्यायाधीशले फैसला सुनाउँदै भनेका थिए ‘मोहम्मद वसीमलाई धारा ३११ अनुसार जन्मकैदको सजाय सुनाइन्छ । जबकि अभियोजन पक्ष अन्य अभियुक्तहरुको विरुद्ध आरोप प्रमाणित गर्न विफल रह्यो ।’

मोहम्मद वसीमले गिरफ्तारीपछि आफूले कंदीलको हत्या गरेको स्वीकार गरेका थिए । उनले हत्याको कारण ‘कंदील बलोच परिवारको बदनामीको कारण बनिरहेकी थिइन्’ भनेका थिए । तर पछि जब औपचारिक रुपमा अदालतमा चार्जशीट दाखिला गरियो त्यसमा उनले अपराध अस्वीकार गरेका थिए । यसअघि अदालतमा कंदीलका पिताले मोहम्मद वसीम र असलम शाहीनको लागि क्षमा याचना दाखिल गरेका थिए जसलाई खारेज गरिएको थियो ।

यो मुद्दाका अभियुक्तहरुमध्ये कंदीलका दुई दाजु मोहम्मद वसीम र असलम शाहीनका अलावा उनका नजिकका आफन्त हक नवाज, जफर इकबाल, कोहम्मद आरिफ, मुफ्ती अब्दुल कवी र अब्दुल बासित थिए । मोहम्मद वसीम र हक नवाज मुख्य अभियुक्त थिए । अब्दुल बासित ट्याक्सी डाइभर थिए र उनीमाथि कंदील बलोचको हत्यापछि मोहम्मद वसीम र हक नवाजलाई भाग्न सहयोग गरेको आरोप लगाइएको थियो ।

यो मुद्दालाई मुल्तानको जिल्ला तथा सेसन न्यायाधीशको अदालतबाट मोडल कोर्टमा स्थानान्तरित गरिएको थियो ताकि मुद्दाको छिटो फैसला हुन सकोस् । यही अदालतले २०१९ मै पीडितका पिताको तर्फबाट आफ्ना २ छोराको लागि दायर गरिएको क्षमा याचनालाई रद्द गरिदिएको थियो । अदालतले भनेको थियो कि अनर किलिङको मुद्दामा वादीद्वारा दायर गरिएको सम्झौता वा क्षमादानको अर्जी स्वीकार गर्न सकिँदैन । ६ वर्ष पहिले जतिबेला कंदील बलोचको हत्या भएको थियो त्यतिबेला कंदीलका पिता तथा वादी मोहम्मद अजीमले अभियुक्तहरुलाई कुनै हालतमा माफ नगर्ने प्रस्ट भनेका थिए ।

कंदील बलोच पाकिस्तानको पंजाब प्रान्तको दक्षिणी जिल्ला मुल्तानको एक गरिब परिवारकी थिइन् । उनको वास्तविक नाम फौजिया अजीम थियो तर उनी पछि कंदील बलोच नामले प्रसिद्ध भएकी थिइन् । उनलाई पाकिस्तानकी प्रथम सामाजिक संजाल सेलिब्रेटी भनिन्छ । सामाजिक संजालमा उनले पाएको यो प्रसिद्धि उनको खुला र बोल्ड शैलीका कारण थियो । यही शैली पछि उनको हत्याको कारण बन्यो । सामाजिक संजालमा उनका हजारौं प्रशंशक थिए । हत्याभन्दा अगाडि उनी पाकिस्तानमा इन्टरनेटमा सबैभन्दा धेरै खोजिने १० प्रमुख हस्तीमध्ये एक थिइन् ।

२०१४ मा प्रसिद्धि पाएपछि कंदीलको निजी जीवनका जानकारी पनि सार्वजनिक भए । उनको बिहे कम उमेरमा भएको र उनका एक छोरा पनि भएको समेत खुलासा भयो । कंदीलले आफ्ना पतिको बारेमा दावी गरेकी थिइन् कि ऊ एक क्रुर व्यक्ति थियो जसले उनलाई कुटपिट गर्थ्यो । त्यसैले उनले छोरालाई साथ लिएर पतिलाई छोडेर आएकी थिइन् । कंदीलका अनुसार छोराको खर्च उठाउन असमर्थ भएपछि उनले पछि छोरा उनका पितालाई जिम्मा लगाएकी थिइन् । मिडिया रिपोर्टका अनुसार त्यसपछि कंदीलले छोरालाई देखेकी थिइनन् ।

छोरालाई पिताकहाँ पठाएपछि फौजिया अजीम कंदील बलोच बनिन् । उनको बोल्ड र खुला शैलीका कारण उनको ज्यानलाई खतरा हुन सक्ने आशंका पनि व्यक्त गरिएको थियो । तर, कंदीलले आफ्नो शैली र विचारको लागि कहिल्यै माफी मागिनन् । बीबीसी उर्दूलाई दिएको एक अन्तरवार्तामा उनले भनेकी थिइन् ‘मलाई धम्कीहरु आउँछन् तर मलाई विश्वास छ कि मृत्युको समय निश्चित छ र जब तपाइँको मृत्युको समय आउँछ तपाइँ मर्नै पर्छ ।’

कंदील बलोचको हत्याको प्रतिक्रियामा आन्दोलन सुरु भएपछि २०१६ मा पाकिस्तानको संसदले अनर किलिङ कानुनमा संशोधन पारित गरेको थियो । यसका अनुसार मृतकका परिवारको तर्फबाट क्षमा गरिएपछि पनि हत्यारालाई जन्मकैद वा २५ वर्ष कैदको सजाय हुनेछ । यसअघि पाकिस्तानमा अनर किलिङका धेरै केसमा पाइएको थियो कि वादी हत्याराका मातापिता वा दाजुभाइ दिदीबहिनी हुन्थे जसले हत्यारालाई माफ गरिदिन्थे । त्यसपछि हत्याराविरुद्ध मुद्दा समाप्त हुन्थ्यो । कंदील बलोचको हत्यापछि राजनीतिक र सामाजिक वृत्तमा यसको चर्चा भयो र यो घटना अन्तर्राष्ट्रिय मिडियामा पनि आयो । त्यसपछि पाकिस्तानमा अनर किलिङका घटना बढ्नुको कारण यस सम्बन्धमा उचित कानुन नहुनु बताइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *