लालु यादव दोषी ठहर

डिसी नेपाल
३ फागुन २०७८ १३:१२

काठमाडौं। बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवलाई झारखण्डमा सीबीआइको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा दोषी ठहर गरेको छ । अदालतले २१ फेब्रुअरीमा सजाय सुनाउनेछ र त्यस दिन लालु यादव अदालतमा उपस्थित हुनु पर्नेछ । लालु यादवलाई चारा घोटालाका ४ अन्य मुद्दामा पहिले नै दोषी ठहर गरिसकिएको छ ।

यो मामिला करिब ३ दशक पुरानो हो । सीबीआइले यो मामिलामा ६४ केस दर्ता गरेको थियो र लालु यादवको नाम यीमध्ये ६ केसमा आएको थियो । यीमध्ये ५ केस बिहार विभाजनपछि झारखण्डमा स्थानान्तरित भएका थिए । एउटा केसको सुनुवाइ पटनामा भयो । यसअघि लालु यादवलाई झरखण्ड सीबीआइ अदालतमा सबै ४ मुद्दामा दोषी ठहर गरिसकिएको छ । मंगलबार अन्तिम केसमा अदालतले फैसला सुनाएको हो ।

आरसी/४७ए/९६ पाँचौं केस थियो र यसलाई सबैभन्दा अहम मानिन्छ । यसमा सबैभन्दा धेरै १३९.३ करोड रुपैयाँको हेराफेरी भएको थियो । डोरंडा ट्रेजरीबाट १९९०–९१ र १९९५–९६ को बीचमा अवैध निकासी भएको थियो । यसमा लालु प्रसाद यादव समेत ९९ जना अभियुक्त थिए । यहाँबाट चारा, औषधि र पशु कृषि विभागमा उपकरणको खरिदको नाममा पैसा निकालिएको थियो ।

लालु यादवलाई यसअघिका ४ मुद्दामा दोषी ठहर गरेपछि १४ वर्षको जेल सजाय दिइएको छ । गत महिना सीबीआइ न्यायाधीश एसके शशीले पाँचौं मुद्दामा सुनुवाइ पूरा गरेका थिए । पाँचौं मुद्दामा कूल १७० अभियुक्त थिए तर यीमध्ये ५५ जनाको मृत्यु भइसकेको छ । यीमध्ये ७ जना सरकारी गवाह बनेका थिए र २ जनाले अपराध स्वीकार गरेका थिए । यीमध्ये ६ जना फरार छन् ।

लालु यादव अहिले जमानतमा जेलबाहिर छन् । फैसला सुनाइएपछि लालु यादवलाई हिरासतमा लिइएको छ । अहिले उनी अदालतमा नै छन् । मे २०१७ मा सर्वोच्च अदालतले सीबीआइको अपिलपछि लालु यादवविरुद्ध चारा घोटालाका अलग अलग मामिलासँग सम्बन्धित मुद्दा चलाउने आदेश दिएको थियो । सर्वोच्च अदालतले हाइकोर्टको फैसला रद्द गर्दै प्रत्येक अपराधको लागि अलग सुनुवाइ हुनुपर्ने भनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *