गर्भावस्थामा यी संकेतहरूलाई बेवास्ता नगर्नुहोस्, आमा र बच्चा दुवैलाई हुन्छ खतर

डिसी नेपाल
४ फागुन २०७८ १२:५७

काठमाडौं । गर्भावस्थामा हरेक महिलाले आफ्नो विशेष ख्याल राख्नुपर्छ । गर्भावस्थाको सुरुवाती महिनादेखि अन्तिम महिनासम्मको समय निकै नाजुक हुन्छ। यस अवधिमा बच्चाको विकासका लागि खाना र औषधिको विशेष ध्यान दिनुपर्छ। नियमित रुपमा आमाको स्वास्थ्यको चेकअप र बच्चाको अवस्थाको बारेमा चिकित्सकसंग सल्लाह लिनु पर्ने हुन्छ । कहिलेकाहीँ केहि चीजहरूको बेवास्ता गर्दा आमा र बच्चाको ज्यानै जाने सम्भावना समेत हुने गर्दछ ।

एउटी महिलाले गर्भ रहेदेखि बच्चा नपाएसम्म कम्तिमा ४ पटक नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउनु पर्छ । जाँच गराउँदा गर्भवती महिलाको स्वास्थ्यको अवस्था र पाठेघरमा हुर्कंदै गरेको शिशुको अवस्थाबारे जानकारी प्राप्त हुन्छ । पहिलोपटक गर्भवती भएको शंका लाग्नेबित्तिकै, दोस्रोपटक गर्भवती भएको ५ देखि ७ महिनामा, तेस्रोपटक गर्भवती भएको ८ महिनामा र अन्तिमपटक गर्भवती भएको ९ महिनाभित्र स्वास्थ्य परीक्षण गराउनै पर्छ। यदि गर्भवति महिलामा यी लक्षण देखे तुरुन्तै चिकित्सकलाई सम्पर्क गर्नुहोस्।

गर्भावस्थामा पेट तन्किएको खुम्चिएको महशुस हुनु – जब बच्चा जन्मिने समय पुग्छ । त्यो बेलामा पेट तन्किएको खुम्चिएको महसुस हुनु सामान्य कुरा हो । यसरी पेट तन्किदा वा खुम्चिदा गर्भवति महिलालाई दुखाइ महसुस हुने गर्दछ । यदि एक घण्टामा छ पटक भन्दाबढी बढी पेट तन्किएको वा खुम्चिएर दुखाई बढ्यो भने यो बच्चा जन्मने संकेत पनि हुन सक्छ । यस्तो अवस्थमा ढिला नगरी तुरुन्त चिकित्सकसंग सम्पर्क गनुहोस् ।

बच्चाको चाल रोकिएमा –गर्भावस्थाको २८ हप्ता भन्दा कम छ भने, तपाइँको बच्चाको चाल धेरै नहुन सक्छ । तर २८ हप्तापछि भने बच्चा पेट भित्र धेरै नै चल्ने गर्दछ । यो चाल तपाईले मज्जासंग महसुस गर्न सक्नुहुने छ । तपाईले आफ्नो बच्चा चल्दै छ वा छैन ख्याल गर्नुहोस् । यदि तपाइँको बच्चा सामान्य भन्दा कम चलिरहेको महसुस गर्नुहुन्छ भने, डाक्टरलाई तुरुन्तै खबर गर्नुहोस् ।

रगतमा चिनी धेरै वा कम भएमा –गर्भावस्थाको समयमा धेरै गर्भवति महिलाहरुमा मधुमेहको समस्या हुने गर्दछ । त्यसैले रगतमा चिनीको मात्रामा ध्यान दिनु आवश्यक छ। रगतमा चिनीको मात्रा अचानक उच्च वा कम हुँदा गर्भमा रहेको बच्चामा असर गर्दछ । त्यसैले आफ्ने रगतमा चिनीको मात्रालाई व्यालेन्समा राख्न जरुरी छ । यदि रगतमा चिनीको मात्रा अचानक बढे तुरुन्त चिकित्सकलाई सम्र्पक गर्नुपर्दछ । यसो नगरे आमा र बच्चा दुवैको लागि खतरा हुन्छ ।

धेरै रक्तश्राव – गर्भावस्थामा थोरै रक्तश्राव हुनु त सामान्य नै हो। तर गर्भवति महिलालाई धेरै रगत बगिरहेको छ वा भनौंंै महिनावारीको समयमा जस्तै रगत बग्यो भने यसले बच्चालाई हानी गर्छ । यस्तो अवस्थामा बच्चा खेरा जान पनि सक्छ । तुरुन्त चिकित्सककहाँ जानुपर्छ अन्यथा आमा र बच्चा दुवैको ज्यान जाने खतरा हुन्छ ।

बेस्सरी पेट दुख्नू – गर्भावस्थामा पेट दुख्नु वा पेटको मांसपेशी दुख्नु सामान्य नै हो । यस समयमा धेरै महिलालाई कब्जियतको समस्या पनि हुन्छ । तर यदि गर्भवति महिलालाई अचानक पेट बेस्सरी दुख्छ भने गर्भावस्थामा समस्या आउन सक्छ । यो आमा र बच्चा दुवैको लागि खतरनाक छ । तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस्।

गर्भावस्थामा पानी थैली फुट्दा – गर्भावस्थाको समयमा, बच्चालाई एम्नियोटिक तरल पदार्थले बेरिन्छ। यो बच्चाको स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ। गर्भावस्थामा चाँडो पानी थैली फुट्दा पनि आमा र बच्चा दुवैको लागि जोखिम बढ्ने गर्दछ । आमाको लागि खतरनाक संक्रमणको जोखिम पनि हुन सक्छ। यस कारण, बच्चा विकास र समयपूर्व जन्म को जोखिम बढ्छ। पानी फुटेको तुरुन्तै चिकित्ससंग सम्र्पक गर्नुपर्छ ।

पिसाबको संक्रमण भएमा –गर्भावस्थामा महिलाहरुमा पिसाबको संक्रमण हुने सम्भावना बढी हुन्छ । यस अवस्थामा पिसाबको स्टासिस् अर्थात पिसाब थैलीमा बढी समय पिसाब जम्ने भएकाले संक्रमण हुने सम्भावना अझै बढी हुन्छ । पिसाबको संक्रमण भएको अवस्थामा पेट दुख्ने, पिसाब छिनछिनमा जाने हुन्छ । कसैकसैलाई ज्वरो आउने पनि हुन सक्छ । पिसाबको संक्रमणलाई जतिसक्दो चाँडो पत्ता लगाएर उपचार गर्नु आवश्यक हुन्छ । तर गर्भावस्थामा प्रयोग गरिने औषधि गर्भलाई असर नगर्ने हुनु पर्छ ।

साथै गर्भावस्थामा निम्न खतरापूर्ण सङ्केत देखिएमा नजिकैको स्वास्थ्य संस्थामा शीघ्र परामर्श र उपचार गर्नु पर्दछ । जस्तै, टाउको साह्रै दुखेमा हातखुट्टा अररो भइ काम्ने वा मूर्छा परेमा, आँखा तिरमिराएर धमिलो देख्ने भएमा, अनुहार वा हात सुन्निएमा पनि तुरुन्त चिकित्सकहरुलाई सल्लाह लिनु पर्दछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *