कांग्रेस-एमाले नेताहरुबीच बालकोटमा छलफल सुरु

डिसी नेपाल
१४ फागुन २०७८ १७:१९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुनः भेटवार्ता हुँदैछ । वार्ता अघि एमाले र कांग्रेसका नेताहरुबीच बालकोटमा वार्ता सुरु भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी भेटवार्ता हुन लागेको हो ।

प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतको भनाइ छ । आजको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कांग्रेसका तर्फबाट उपसभापति पूर्णवहादुर खड्का, महामन्त्री गगन थापा र ञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता बालकोट वार्तामा सहभागी छन् ।

एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल पनि वार्तामा सहभागी छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवा भने पुगेका छैनन् ।

केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ । यसअघि भएका भेटवार्ताका विषयलाई निश्कर्षमा पुर्याउने गरी आज पुनः भेटघाट हुन लागेको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *