बेलायतमा स्नेहा श्रेष्ठ बनिन् पहिलो नेपाली महिला ब्यारिष्टर

डिसी नेपाल
१५ फागुन २०७८ ६:२१
124
Shares

लण्डन। स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन्।

ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरे पछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन्। बार स्ट्याण्डर्ड बोर्डमा उल्लेख भएअनुसार उनले अपराध, परिवारसित सम्बन्धित [बालबालिका] र अध्यागमनका बारेमा कानुनी अभ्यास गर्नेछिन्।

सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा सात वर्षको उमेरमा बेलायत आएकी थिइन्। उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।

प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि उनले आफूलाई खुशी लागेको प्रतिक्रिया दिइन्। धेरै लामो समयको अध्ययन र कठोर तालिम पछि ब्यारिष्टर हुन पाएको र यसक्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिइन्।

ब्यारिष्टर बनेपछि आफ्नो व्यावसायिक चुनौती बल्ल शुरु भएको बताउँदै उनले नेपालीहरुलाई कानुनी परामर्शका क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्। बेलायतमा ब्यारिष्टर बन्न धेरै लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै तीव्र प्रतिस्पर्धा पनि छ।

कानुनमा विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ। बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिएको छ।

ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्दछन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्दछन्। बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन् । जसमध्ये नेपाली मूलका तीनजना प्रा। डा। सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र स्नेहा शाक्य श्रेष्ठ रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *