यातायात व्यवस्था कार्यालय दाङद्वारा २४ करोड ३३ लाख राजस्व संकलन

डिसी नेपाल
१६ फागुन २०७८ १९:५३

दाङ । यातायात व्यवस्था कार्यालय दाङ तुलसीपुरमा सात महिनाको अवधिमा २४ करोड बढी राजस्व संकलन भएको छ । कार्यालयले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा २४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रदीप खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा सवारी कर, रुट पर्मिट कर र अन्य सेवा सम्बन्धी करबाट २४ करोड ३३ लाख ४६ हजार ७ सय ७९ रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । सबैभन्दा धेरै सवारी करबाट राजस्व संकलन भएको उनले बताए ।

गत साउनदेखि माघ मसान्तसम्म सवारी करतर्फ १९ करोड ८८ लाख ४५ हजार ७ सय ३७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै अन्य सेवा सम्बन्धी करतर्फ ४ करोड ३६ लाख ६३ हजार ३ सय १५ ७५ र रुट पर्मिटतर्फ ७८ लाख ३६ हजार ७ सय २७ रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख खनालको भनाई छ ।

गत आर्थिक वर्षमा कार्यालयले ३२ करोड ९६ लाख ४४ हजार ४ सय २९ रुपैयाँ राजस्व संकलन गरेको थियो । कार्यालय प्रमुख खनालका अनुसार चालु आर्थिक वर्षको फागुन ११ गते सम्मको सवारी दर्ता विवरण अन्तर्गत मोटरसाइकल, स्कुटर र मोपेट गरी ७५ हजार ६ सय ५८ वटा सवारी दर्ता भएका छन् ।

यस्तै यो अवधिमा ट्याम्पु, बस, कार गरी १३ हजार ३ सय ८७ वटा सवारी दर्ता भएका छन् । चालु आर्थिक वर्षको फागुन ११ गतेसम्म दर्ता भएका सवारीको जम्मा संख्या ८९ हजार ४५ वटा रहेको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार नयाँ सवारी दर्ता गर्ने भन्दा नामसारी गर्नेको संख्या बढी रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *