युक्रेनको रणनैतिक हिसाबले अत्यन्तै महत्वको सहरमा रुसी सेनाको कब्जा

डिसी नेपाल
१९ फागुन २०७८ १०:४३

मस्को (बीबीसी) । युक्रेनको बन्दरगाह नगर खेअर्सनका मेयरले त्यहाँ रुसी सेनाले नियन्त्रण कायम गरेको बताएका छन्। अतिक्रमणयता रुसी फौजको नियन्त्रणमा गएको यो पहिलो महत्त्वपूर्ण सहर हो।

मेयर इगोर कोलीखाएभले उक्त सहरको सभागृहमा अहिले सशस्त्र आगन्तुकहरू रहेको एउटा फेसबुक पोस्टमा लेखेका छन्।

उनले भनेका छन्, “मैले ती फौजहरूलाई भनेँ कि यो नगरमा अहिले युक्रेनी सशस्त्र बलको उपस्थिति छैन, केवल सर्वसाधारण र बाँच्न चाहने मानिस छौँ।”

रुसी सैनिकहरूले स्थानीय समयानुसार राति ८ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको र खानेकुरा औषधि एवं अन्य आपूर्तिका सामान बोकेका कारहरूलाई मात्रै आउजाउ गर्न दिइने भनेको मेयरले लेखेका छन्।

उनले बताएअनुसार सडकमा कारहरू सुस्त गतिमा गुडाउन भनिएको छ भने दुई जनाभन्दा बढीको समूहमा नहिँड्न पैदलयात्रीहरूलाई निर्देशन दिइएको छ।

“अहिलेसम्म भएका कुरा यही हुन्। युक्रेनी झन्डा हाम्रो माथि छ र यथास्थितिमा रहन दिन हाम्रो आवश्यकताहरू पूरा हुनुपर्छ, मैले दिनसक्ने अहिले अरू केही छैन,” मेयर कोलीखाएभले भने।

खेअरसनका मेयरको यो भनाइलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

यसअघि मात्रै अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूले खेअर्सन “निकै चुनौती दिइएको सहर” भएको बताएका थिए।

दक्षिणी बन्दरगाह सहर मारिऊपोलको कुरा गर्नु पर्दा घण्टौँ लामो गोलाबारीमा परी सयौँ मानिस मारिएको हुनसक्ने त्यहाँका सहायक मेयरले बताएका छन्।

रुसी फौजले गैरसैनिक संरचनाहरूलाई समेत निसाना बनाउँदै आएको युक्रेनी अधिकारीहरूले बताउने गरे पनि मस्कोले त्यसलाई अस्वीकार गर्दै आएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार युक्रेनमाथि रुसी अतिक्रमणको पाँचौँ दिनसम्म २२७ जना सर्वसाधारण मारिएका छन्।

सो अवधिसम्म अन्य ५२५ जना घाइते भएको पनि उसले जनाएको छ।

युक्रेनमाथि अतिक्रमणका क्रममा आफ्नो सेनामा भएको क्षतिबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ।

उसका अनुसार करिब ५०० सैनिकको मृत्यु भएको छ झन्डै १,६०० घाइते भएका छन्।

तर विश्लेषकहरूले त्यो सङ्ख्या निकै बढी हुनसक्ने बताएका छन्।

यद्यपि हताहत हुने सैनिकको सङ्ख्याबारे मस्कोले दिएको विवरणबाट रुसी सेनाले युक्रेनको तर्फबाट कडा प्रतिवादको सामना गर्नुपरेको देखाएको विश्लेषकहरूको ठहर छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *