युक्रेनबाट ज्यान बचाएर छिमेकी देश पुगेका भारतीय विद्यार्थीलाई कुटेर फेरि युक्रेनमै फर्काइयो

डिसी नेपाल
१९ फागुन २०७८ ११:२७

काठमाडौं। युक्रेनबाट ज्यान बचाएर भागेर छिमेकी देश पोल्याण्डमा पुगेका भारतीय विद्यार्थीलाई सीमामा तैनाथ सुरक्षाकर्मीले कुटपिट गरेर पुनः युक्रेनमै फर्काइदिएको बेलारुसले दावी गरेको छ । बेलारुसका अनुसार पोल्याण्डको सीमामा तैनाथ सुरक्षाकर्मीले करिब १०० भारतीय विद्यार्थीलाई कुटेर पुनः युक्रेनमै पठाएको हो । यी विद्यार्थीहरुलाई अहिले रोमानियाको एक शरणार्थी शिविरमा राखिएको दावी गरिएको छ ।

संयुक्त राष्ट्रसंघमा बेलारुसका राजदूत भ्यालेन्टिन रयबाकोभले बुधबार राष्ट्रसंघको महासभामा आफ्नो बयानको क्रममा यो जानकारी दिएका हुन् । रयबाकोभले भने ‘पोल्याण्डका सीमा सुरक्षाकर्मीहरुले २६ फेब्रुअरीमा लगभग १०० भारतीय छात्रहरुको एक समूहलाई कुटे र उनीहरुलाई युक्रेनमै फर्कादिए । जसलाई रोमानियामा एक शरणार्थी शिविरमा राखिएको छ ।’

संयुक्त राष्ट्रसंघमा युक्रेनका राजदूत सर्गेइ किस्लिट्स्याले रुसको आक्रमणको क्रममा एक भारतीय विद्यार्थीको मृत्यु भएको र चीनका एक नागरिक घाइते भएको बताए । किस्लिट्स्याले भने ‘युक्रेन यी दुर्घटनाप्रति गहिरो दुख व्यक्त गर्दछ । हामी भारतमा ती छात्राका पीडित परिवारप्रति आफ्नो गहिरो समवेदना राख्छौं ।’

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले मंगलबार लगभग ८ हजार भारतीयहरु युक्रेनमा फसेका र तिनीहरुमा धेरैजसो विद्यार्थी भएको बताएका थिए । उनले भारतले युक्रेनका छिमेकी देशहरु रोमानिया, हंगेरी र पोल्याण्डबाट विशेष उडानको माध्यमबाट आफ्ना नागरिकलाई सुरक्षित निकाल्ने कोसिस गरिरहेको बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *