९ वर्षका बालक बिना टिकट विमान चढेर ३ हजार किलोमिटर टाढा पुगे, कसैले थाहै पाएनन्

डिसी नेपाल
१९ फागुन २०७८ १३:१४

काठमाडौं। यही फागुन महिनाको दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रौतहटका एक युवक बिना टिकट र बिना कुनै अन्य कागजात नेपाल एयरलाइन्सको कतार जान लागेको जहाजमा चढेर बिजनेस क्लासको सिटमा बसिरहेका थिए । उनी यसरी विमानभित्र चढेको पाइएपछि विमानस्थलको सुरक्षामा गल्ती गरेको भन्दै नेपाल एयरलाइन्सका सुरक्षा कमाण्डरलाई निलम्बर गरेर उच्चस्तरीय जाँच समिति गठन गरिएको थियो ।

नेपालमा अवैध रुपमा विमानभित्र प्रवेश गरेका युवकले यात्र गर्न भने पाएनन् तर त्यसको एक साता नबित्दै ब्राजिलमा भने ९ वर्षका एक बालकले बिना टिकट विमानमा यात्रा गरेर ३ हजार किलोमिटर टाढा पुगेका छन् । यी बालकले आफ्ना परिवारलाई कुनै जानकारी नदिइ एक्लै यति लामो यात्रा गरेका थिए । उनी चुपचाप घरबाट निस्किए, विमानस्थल गए र त्यहाँ सुटुक्क एउटा विमानमा चढे । उनी घरबाट हिँडेको उनका परिवारले थाहा पाएनन् र उनी विमानमा अवैध तरिकाले चढेको विमानस्थलका र एयरलाइन्सका कर्मचारीले पनि थाहा पाएनन् ।

न्यूयोर्क पोस्टमा प्रकाशित रिपोर्टअनुसार यी बालकले घरबाट निस्किनुभन्दा पहिले गुगलमा ‘कसैको नजरमा नपरीकन विमानमा कसरी बस्ने ?’ भनेर खोजी पनि गरेका थिए । यी बालकको नाम इमानुअल मार्क्युज डि ओलिभेरा हो जो ब्राजिलको मानाउस सहरमा मातापिताको साथमा बस्छन् । रिपोर्टका अनुसार गत हप्ता इमानुएलका मातापिता बिहान उठ्दा उनी आफ्नो कोठामा थिएनन् । उनकी आमाका अनुसार बिहान साढे ५ बजेतिर उनले छोरालाई सुतिरहेको देखेकी थिइन् तर त्यसको २ घण्टापछि हेर्दा उनी कोठामा थिएनन् ।

उनीहरुले आत्तिएर छोरालाई खोज्न थाले । दिनभर खोज्दा नभेटिएपछि अन्ततः पुलिसमा खबर गरियो । उता इमानुएल भने बिहानै घरबाट निस्केर नजिकैको विमानस्थल गएका थिए । त्यहाँ उनी सबैको नजरबाट जोगिएर त्यहाँबाट करिब ३ हजार किलोमिटर टाढाको गुआरुलहोस सहर जाने बिमानभित्र गएर बसे । केही बेरमा विमान उड्यो र उनी ३ हजार किलोमिटर टाढाको सहरमा पुगे । उनले गुगलमा विमानमा बिना टिकट यात्रा गर्ने विषयमा सर्च गरेको भए पनि उनले कसरी सुरक्षालाई झुक्याएर भित्र पुगे भन्ने जाँच भइरहेको छ ।

रिपोर्टका अनुसार इमानुएलको परिवारले २६ फेब्रुअरीमा उनी हराएको पुलिसमा रिपोर्ट गरेका थिए । यही बीचमा जब इमानुएल गुआरुलहोस पुगे त्यहाँको स्थानीय पुलिसले उनलाई फेला पारेपछि उनलाई पुनः मानाउस पुर्याइदिएको छ । मानाउस विमानस्थलले यी बालक बिना टिकट र बिना कुनै अन्य दस्तावेज विमानमा कसरी बसे भन्ने विषयमा जाँच गरिरहेको छ । जाँचमा बालकमात्र नभइ उनका परिवारका कुनै पनि सदस्यको कुनै आपराधिक इतिहास भेटिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *