रुसले युक्रेनमा युद्धबिरामको घोषणा गर्‍यो

डिसी नेपाल
२१ फागुन २०७८ १२:४७

काठमाडौं। रुस र युक्रेनबीच १० दिनदेखि जारी भीषण युद्धमा युद्धबिरामको घोषणा गरिएको छ । रुसले युक्रेनमा जारी युद्धमा युद्धबिरामको घोषणा गरेको हो । नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि युद्धबिराम लागू भएको छ । यद्यपि यो युद्धबिराम युक्रेनका २ सहर मारियुपोल र भोल्नोभाकामा मात्र गरिएको बताइएको छ । रुसको तर्फबाट गरिएको युद्धबिरामको घोषणामा ‘जबसम्म यहाँ फसेका सर्वसाधारणलाई बाहिर निकालिँदैन तबसम्म आक्रमण गरिने छैन’ भनिएको रुसी समाचार एजेन्सी स्पुतनिकले जनाएको छ । 

१० दिनदेखि युक्रेनमा युद्ध जारी छ । रुसले लगातार युक्रेनमाथि आक्रमण गरिरहेको छ । यही बीचमा रुसले युद्धबिरामको घोषणा गरेको खबर आएको हो । रुस र युक्रेनबीच २ चरणमा वार्ता पनि भएको छ र तेस्रो चरणको वार्ता सम्भवतः आज वा भोलि सुरु हुँदैछ । युक्रेनमा त्यहाँका सर्वसाधारण नागरिकदेखि विदेशी नागरिकहरु समेत फसेका छन् । फस्नेहरुमा केही नेपाली पनि भएको बताइएको छ । यी फसेकाहरुलाई युद्धबिरामले ठूलो राहत दिने अपेक्षा गरिएको छ ।

शनिबार युद्धबिरामको घोषणाभन्दा पहिले किभनजिकै बुकामा रुसी सेनाले आम जनतामा गोली चलाएको दावी गरिएको छ । युक्रेनको मिडियाले दावी गरेअनुसार रुसको सेनाले बुकामा एक कारमा फायरिङ गरेको हो । यो घटनाका १७ वर्षकी एक किशोरी समेत २ जनाको मृत्यु भएको छ । घटनामा अन्य ४ जना घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *