रुसले युद्धबिरामको घोषणा गरेपछि अब युक्रेनमा के–के गरिन्छ ?

डिसी नेपाल
२१ फागुन २०७८ १३:१४

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको १० दिनपछि युद्धबिरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले शनिबार मस्कोको समयअनुसार बिहान १० बजे (नेपाली समय दिउँसो पौने १ बजे) देखि रुसी सेनाले आक्रमण रोक्ने घोषणा गरेको हो । युक्रेनको राजधानी किभमा रहेका बीबीसी संवाददाता जेम्स वाटरहाउसले सामाजिक संजालमा रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एक पोस्ट गरेर युद्धबिरामबारे जानकारी दिएका छन् ।

वाटरहाउसले सामाजिक संजाल पोस्टमा रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार रुसी सेनाले त्यहाँ फसेका मानिसहरुको सहायताको लागि मानवीय कोरिडोर खोल्नका लागि युद्धबिराम गर्नेछ । यद्यपि यो युद्धबिराम दुई शहरको लागि मात्रै भएको उनले बताएका छन् । अर्थात यो यद्धबिराम मारियुपोल र भोल्नोभाका सहरमा लागू हुनेछ ।

अब रुसको युद्धबिरामपछि यहाँ आक्रमण हुने छैन । आक्रमण रोकिएको यो समयमा मारियुपोल र भोल्नोभाका सहरका नागरिकहरुको सहयोग गरिनेछ । यो अवधिमा त्यहाँ फसेका सर्वसाधारणलाई त्यहाँबाट सुरक्षित रुपमा बाहिर निकाल्ने प्रयास हुनेछ । यसका लागि रुसी सेनाले मानवीय कोरिडोर खोल्नेछ र त्यही कोरिडोरबाट सर्वसाधारणलाई बाहिर निकालिनेछ ।

रुसी समाचार एजेन्सी स्पुतनिकले पनि ग्रिनविच मिन टाइम ६ बजेदेखि युद्धबिराम लागू हुने र यो समयमा मानवीय सहायताको लागि कोरिडोर खोलिने बताएको छ । यो युद्धबिराम यस्तो समयमा भएको छ जतिबेला युक्रेनको अधिकांश भागमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिसकिएको छ । किभ, खारकिभ, सुमी, चेर्निगोभ र मारियुपोल सहर सबैभन्दा धेरै प्रभावित छन् ।

युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोदोलियाकले करिब २ लाख युक्रेनी मारियुपोलबाट बाहिर निस्किने कोसिस गरिरहेको बताएका थिए । उनले करिब २० हजार मानिसहरुले दोनेत्स्कमा भोल्नोभाखा क्षेत्र छोड्न चाहेको पनि बताएका थिए । अहिले युक्रेनका सबैभन्दा ठूला बन्दरगाह भएका सहर मारियुपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेर राखेको छ र यहाँ युद्ध जारी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *