१ करोड डलर टाउकोको मूल्य तोकिएका तालिबान नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक

डिसी नेपाल
२२ फागुन २०७८ १०:५१

काठमाडौं। अफगानिस्तानका अन्तरिम गृहमन्त्री र तालिबानका बरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन् । पाकिस्तानी अखबार डनका अनुसार हक्कानी उक सरकारी कार्यक्रममा सहभागी भए र उनका केही तस्वीरहरु पनि सार्वजनिक भएका छन् । हालसम्म उनी अमेरिकाले जारी गरेको मोस्ट वान्टेड सूचीमा छन् ।

हक्कानी शनिबार काबुलमा अफगान पुलिस अधिकारीहरुको पासिङ आउट परेडमा सहभागी भए । यो कार्यक्रमलाई अफगानिस्तानको राष्ट्रिय टिभी च्यानलमा पनि लाइभ प्रसारण गरिएको थियो । कार्यक्रम सकिएपछि तालिबानले नै यो कार्यक्रममा सहभागी भइरहेका सिराजुद्दीन हक्कानीका तस्वीरहरु सामाजिक संजालमार्फत जारी गरेको हो ।

यस क्रममा पुलिस अधिकारीहरुलाई सम्बोधन गर्दै उनले भने ‘तपाइँहरुको सन्तुष्टि र तपाइँहरुलाई आश्वस्त बनाउनको लागि म मिडिया र जनताको अगाडि आएको हुँ ।’ अहिलेसम्म सिराजुद्दीन हक्कानीको केवल एउटा मात्र तस्वीर सार्वजनिक भएको थियो जसमा उनको अनुहार निकै धमिलो देखिन्छ ।

गत वर्ष अगष्टमा तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि हक्कानीले तालिबानका बरिष्ठ अधिकारी र विदेशी पाहुनाहरुसँग लगातार भेटघाट गरिरहेका थिए तर ती भेटघाटको कुनै पनि तस्वीर जारी गरिएको थिएन । एक पटक उनले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता पनि दिएका थिए तर त्यसमा पनि उनको अनुहार देखाइएको थिएन ।

हक्कानी अहिले पनि अमेरिकाको संघीय जाँच ब्यूरो एफबीआइको मोस्ट वान्टेड सूचीमा छन् । अमेरिकाले उनको बारेमा कुनै पनि खबर दिनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *