कांग्रेसका भातृ संस्थाको तदर्थ समितिले कहिले पाउँछ पूर्णता ?

सम्भव सिंह ठकुरी
२२ फागुन २०७८ १४:३४

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको विभिन्न भातृ संगठनहरु यतिबेला नेतृत्व बिहीन अवस्थामा रहेको छ।

फागुन ३ मा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरेको थियो।

बैठकले सभापति शेरबहादुर देउवालाई पार्टीभित्र सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति निर्माण गर्ने जिम्मा दिएको छ। यसरी पुरानो समिति भंग भएपछि नयाँ नेतृत्वका लागि आकांक्षीहरु दौडधुप गरिराखेका छन्। नेताहरुले पनि आफू निकटलाई नेतृत्वमा ल्याउन लबिइङ गरिराखेका छन्।

निवर्तमान भातृसंस्था भंग गरेसँगै नेविसंघको नेतृत्व कसले हत्याउँछ भन्ने विषय सबैभन्दा चासोको रुपमा हेरिएको छ। कांग्रेसको नर्सरीको रुपमा हेरिएको नेविसंघको नेतृत्वमा रहेका नेताहरु कालान्तरमा पार्टीको केन्द्रीय राजनीतिमा स्थापित भएको इतिहास पनि छ।

सभापति शेरबहादुर देउवादेखि उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा नेवि संघकै पूर्वअध्यक्षहरु हुन् भने अर्का महामन्त्री गगन थापा नेविसंघका पूर्वमहामन्त्री हुन्।

त्यस्तै कांग्रेसको अन्य भातृ संस्थाहरुभन्दा नेविसंघ सक्रिय र चलायमान हुने भएकाले पनि यसको नेतृत्व कस्तो आउला भनेर चासोको विषय बनेको छ।

नयाँ नेतृत्वको लागि प्रेम शाही, मनिष जंग थापा, उत्तम साउद, दुजाङ शेर्पा, नवराज त्रिपाटी, एलिजा ढकाल, गीता गुरुङलगायत दर्जनौँ विद्यार्थी नेताहरु आकांक्षी छन्।

नेविसंघको ११ औँ महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नैनसिंह महरले महाधिवेशन गराउन नसकेपछि २०७५ सालमा अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसपछि सभापति देउवाले २०७६ माघमा ६ महिनाभित्र महाधिवेशन सम्पन्न गराउने गरी राजीव ढुंगानालाई तदर्थ समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो।

तर ढुंगानाले पनि महाधिवेशन गराउन सकेनन्। उनको कार्यसमितिले पूर्णतासमेत पाएन। १०१ सदस्यीय हुनुपर्ने केन्द्रीय कार्यसमितिमा ढुंगानाको नेतृत्व १० पदाधिकारीमै सीमित रह्योे। र, नेविसंघमा कुनै परिवर्तन देखिएन।

गत मंसिरमा भएको महाधिवेशनबाट महर र ढंगाना दुबै पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। र त्यसलगत्तै पार्टीको केन्द्रीय समितिको बैठकले नेविसंघ भंग गरिदिएको छ। र अहिले नेविसंघ नेतृत्वविहीन बन्न पुगेको छ।

तर पनि नेविसंघ लगायत अन्य भातृ संस्थाको तदर्थ समिति चाँडै आउनेमा शंका उत्पन्न भएको छ। कांग्रेसका एक पदाधिकारीका अनुसार भातृसंस्था भंग गरेपनि नयाँ तदर्थ समिति कहिले ल्याउने भन्ने विषयमा परामर्श नै भएको छैन।

‘भातृसंस्था भंग भएको हो। तर नयाँ समिति कहिले ल्याउने भन्ने विषयमा पार्टीमा छलफल भएको छैन। हामीले पनि सभापतिज्यूलाई चाँडो समिति ल्याएर भातृसंस्थालाई चलायमान बनाउनु पर्छ भनेर जोड दिइरहेका छौँ। उहाँले आफ्नो तरिकाले तयारी गर्नुभएको होला। तर कहिले ल्याउने भनेर केन्द्रीय समितिको बैठकमा छलफल पनि भएको छैन र गृहकार्य पनि भएको छैन,’ती पदाधिकारीले भने।

नेविसंघको इतिहासमा हालसम्म भएका अध्यक्षहरुः

२०२७ प्रथम महाधिवेशन विपिन कोइराला

२०२८ दोस्रो महाधिवेशन शेरबहादुर देउवा (सर्वसम्मत)

२०३६ तेस्रो महाधिवेशन बिमलेन्द्र निधि (सर्वसम्मत)

२०३९ ज्ञानेन्द्रबहादुर कार्की (तदर्थ)

२०४० चौँथो महाधिवेशन बलबहादुर केसी (सर्वसम्मत)

२०४४ पाँचौँ महाधिवेशन वालकृष्ण खाँड (सर्वसम्मत)

२०४८ छौँटो महाधिवेशन एनपी साउद (निर्वाचित)

२०५३ धनराज गुरुङ (तदर्थ)

२०५३ सातौँ महाधिवेशन गोविन्द भट्टराई (सर्वसम्मत)

२०५७ आठौँ महाधिवेशन विश्वप्रकाश शर्मा (निर्वाचित)

त्यसपछि कांग्रेस विभाजन पश्चात कांग्रेस (प्रजातान्त्रिक) को तर्फबाट किशोरसिंह राठौर र कल्याण गुरुङ नेविसंघको अध्यक्ष भए।

२०५९ नवौँ महाधिवेशन गुरुराज घिमिरे (निर्वाचित)

२०६१ केशव सिंह (तदर्थ)

२०६२ महेन्द्र शर्मा (तदर्थ)

२०६४ दशौँ महाधिवेशन प्रदीप पौडेल (निर्वाचित)

२०६९ रञ्जित कर्ण (तदर्थ)

२०७३ एघारौँ महाधिवेशन नैनसिंह महर (निर्वाचित)

२०७६ राजीव ढुंगाना (तदर्थ)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *