जेलेन्स्की मारिएको अवस्थामा पोल्याण्डबाट ‘निर्वासित सरकार’ चलाउने अमेरिकाको ‘प्लान बी’ !

डिसी नेपाल
२३ फागुन २०७८ १३:१७

काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अहिले रुसी आक्रमणको निशानामा छन् । जेलेन्स्की युक्रेनका सरकार प्रमुख भएको हैसियतले यदि उनी रुसको आक्रमणमा मारिएको अवस्थामा के हुन्छ भन्ने विषयमा धेरैलाई चासो छ । यस विषयमा अमेरिकाले युक्रेनसँग आपतकालीन योजना अर्थात ‘प्लान बी’ भएको बताएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनसँग एउटा योजना भएको र यो योजनाअनुसार राष्ट्रपति जेलेन्स्कीको ज्यान भएको अवस्थामा पनि युक्रेनमा मौजुदा सरकार जारी रहने बताएका छन् ।

युक्रेनी राष्ट्रपति अहिले कहाँ छन् भन्ने कुरा रहस्य नै छ । युद्धको बीचमा आखिर जेलेन्स्की कहाँ छन् ? उनले दावी गरेका थिए कि उनले देशको राजधानी किभ छाड्ने छैनन् । यसअघि जेलेन्स्कीले आफू रुसी आक्रमणको ‘नम्बर १ टार्गेट’ भएको पनि बताएका थिए । उनले यो आक्रमणबाट आफू र आफ्नो परिवारलाई सिधा खतरा रहेको बताएका थिए । यही बीचमा अन्तर्राष्ट्रिय मिडिया रिपोर्टमा दावी गरिए अनुसार यदि जेलेन्स्कीको सेना पराजित भयो भने पनि पोल्याण्डबाट ‘निर्वासित सरकार’ चलाइन सक्नेछ ।

अमेरिकी विदेशमन्त्री ब्लिंकेनले पनि यदि राष्ट्रपति जेलेन्स्की देशमा चलिरहेको सैन्य अभियानको शिकार भए र उनको मृत्यु नै भयो भने पनि युक्रेनी अधिकारीहरुसँग एउटा योजना रहेको र यो योजना अनुसार युक्रेनको सरकार कायम रहने बताएका छन् । उनले एक अन्तरवार्तामा भनेका छन् ‘युक्रेनसँग एउटा योजना छ । म यो योजनाबारे विस्तारमा बताउन गइरहेको छैन तर युक्रेनमा सरकारको निरन्तरता जारी रहनेछ । यस्तो कुनै पनि किसिमले अवश्य हुनेछ ।’

अहिले अमेरिकी अधिकारीहरुको बीचमा यदि जेलेन्स्कीको मृत्यु भयो भने उनको उत्तराधिकारी को हुने र नेतृत्वको संकट कसरी सुल्झाउने भन्ने बहस चलिरहेको छ । यद्यपि युक्रेनको संविधानमा यस्तो व्यवस्था छ । युक्रेनको संविधानअनुसार यदि पदमा रहेकै बेला राष्ट्रपतिको मृत्यु भयो भने संसदका अध्यक्ष (नेपालको सन्दर्भमा सभामुख) ले राष्ट्रपतिको स्थान लिने व्यवस्था छ । अहिले युक्रेनी संसद भेरखोभ्ना राडाका अध्यक्ष रुस्लान स्टेफनचुक छन् ।

अमेरिकी मिडियाका अनुसार अमेरिकी अधिकारीहरुले युक्रेनलाई आफ्ना प्रमुख सरकारी अधिकारीहरुलाई लामो समयसम्म एउटै स्थानमा नराख्न सल्लाह दिएका छन् । अमेरिकी अधिकारीहरुले युक्रेनी अधिकारीहरुलाई राजधानी बाहिर फरक फरक स्थानमा स्थानान्तरित गरिरहन सुझाव दिएका छन् । यद्यपि युक्रेनी अधिकारीहरुले भने राष्ट्रपति जेलेन्स्की राजधानी किभमै भएको दावी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *