विश्व शान्ति खल्बलिने भएपछि युक्रेनको पक्ष लिएका हौंः परराष्ट्रमन्त्री खड्का

डिसी नेपाल
२३ फागुन २०७८ १७:२१

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले युक्रेनमाथि रुसले आक्रमण गर्दा विश्व शान्ति खल्बलिने सम्भावना बढेकोले नेपाल युक्रेनको पक्षमा उभिनु परेको स्पष्ट पारेका छन् ।

सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले रुसले सार्वभौम तथा स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप गरेको आरोप समेत लगाए ।

‘विश्व शान्ति खल्बलाउने, ठूला र साना देशको सम्बन्धलाई खल्बलाउने भएको कारण युक्रेनको पक्षमा उभिएका हौं,’ उनले भने ।

रुसले फेब्रुअरी २४ का दिन युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेको थियो । परराष्ट्र मन्त्रालयले सोही दिन विज्ञप्ति निकालेर रुसलाई राष्ट्रसंघको बडापत्रको सम्मान गर्न भनेको थियो ।

‘हरेक सार्वभौम र स्वतन्त्र राष्ट्रको सार्वभौतिकता र स्वधिनताको सम्मान गर्नुपर्छ । कुनै ठूला देशले साना देशको सार्वभौमिकतामा हस्तक्षेत्र गर्न हुँदैन भनेर जोडदार आवाज उठाएका छौं,’ परराष्ट्रमन्त्री डा. खड्काले भने ।

असंलग्न नीतिकै आधरमा नेपालले युक्रेनको पक्ष लिएको उनले बताए । सहअस्तित्व असंलग्न परराष्ट्र नीतिको आधार भएको उनले जनाए ।

युक्रेनमा रहेका ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारियो
मन्त्री खड्काले युक्रेनबाट हालसम्म ५३३ जना नेपालीलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

‘युक्रेनमा रहेका नेपालीलाई सुरक्षित राख्ने काय जारी छ,’ उनले बताए ।

मन्त्री खड्काका अनुसार युक्रेनबाट हालसम्मा ४२७ जनालाई पोल्याण्ड, ७१ जनालाई स्लोभाकिया, २७ जनालाई रोमानिया र ८ जनालाई हंगेरीमा सारिएको छ ।

रुसले गत फेब्रुअरी २४ बाट युक्रेनमा सैन्य आक्रमा सुरु गरेपछि त्यहाँ रहको नेपालीलाई सुरक्षित स्थानमा राख्ने कार्य सुरु गरिएको हो । अझै पनि केही नेपालीहरु युक्रनेको युद्वग्रस्त क्षेत्रमा रहेको जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *