आमाको सानो नोटको सहारामा युक्रेनबाट १००० किलोमिटर टाढा एक्लै पुगे ११ वर्षका बालक

डिसी नेपाल
२४ फागुन २०७८ १४:२६
3.4k
Shares

काठमाडौं। रुसले युक्रेनमाथि आक्रमण गरेको मंगलबार १३ दिन भएको छ । रुसले युक्रेनका ठूला सहरहरु किभ, खारकिभ लगायतमा लगातार आक्रमण गरिरहेको छ ।युक्रेनका अन्य केही सहरमा रुसले कब्जा गरिसकेको छ । यस्तो तनावपूर्ण अवस्थाबाट ११ वर्षका एक युक्रेनी बालकको तस्वीर सामाजिक संजालमा भाइरल भइरहेको छ । यी बालक एक्लै भयानक युद्धबाट बच्दै भागेर १ हजार किलोमिटर टाढा पुगेका छन् ।

युद्धले आक्रान्त देश युक्रेनमा यी बालकले १ हजार किलोमिटरको जोखिमपूर्ण यात्रा एक्लै पूरा गरे । यो लामो यात्रामा ती बालकसँग न आमाको आँचल थियो न पिताको छत्रछायाँ । उनीसँग थियो त केवल जीवित रहने एक आशा । युक्रेन छोडेर १ हजार किलोमिटर लामो यात्रा पार गर्दै अहिले यी बालक स्लोभाकिया पुगेका छन् ।

यी बालक दक्षिण पूर्वी युक्रेनको जपोरिजजियाका हुन् । यो ठाउँमा युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्ट पनि छ । यो क्षेत्रमा अहिले रुसले कब्जा गरिसकेको छ त्यसैले यहाँका मानिसहरु सहर छोडेर भागिरहेका छन् । १ हजार किलोमिटर यात्राको क्रममा यी बालकको साथमा एक ब्याग र आफ्नी आमाले लेखेको एउटा नोट थियो । यो सानो नोटमा उनकी आमाले कसैको फोन नम्बर पनि लेखिदिएकी थिइन् ।

स्लोभाकियाको मन्त्रालयले ती बालकको भोगाइ र उनका केही तस्वीरहरु सामाजिक संजालमा शेयर गरेको छ । आफ्नो पोस्टमा मन्त्रालयले लेखेको छ ‘जपोरिजजियाका ११ वर्षका बालक युक्रेनबाट स्लोभाकियाको सीमामा आएका थिए । उनको हातमा एउटा प्लास्टिक ब्याग, पासपोर्ट र फोन नम्बर लेखिएको थियो । उनी एक्लै आएका थिए किनकि उनका मातापितालाई युक्रेनमै बस्नुपर्ने थियो ।’

मन्त्रालयले अगाडि लेखेको छ ‘यहाँ स्वयंसेवकले उनलाई न्यानो स्वागत गरे र उनलाई सुरक्षित ठाउँमा लगेर खानपिनका सामानहरु दिए । बालकले आफ्नो मुस्कान, निडरता र एक रियल हिरोको संकल्पले सबैलाई जिते । हातमा नम्बर र पासपोर्टमा एउटा कागजको टुक्राको लागि धन्यवाद जसबाट यहाँका मानिसहरुले उनका अभिभावकसँग सम्पर्क गर्न सके । यसरी एउटा राम्रो कहानी पूरा भयो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *