मैत्रीपूर्ण खेलका लागि लिगको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षक नै टिम बाहिर
काठमाडौ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्यान्डसँगको एक मैत्रीपूर्ण खेलका लागि २५ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार २५ खेलाडीको नाम सार्वजनिक गर्दा नेपाली टोलीका प्रमुख खेलाडी नै बाहिर राखेका छन् ।
कुवेती नागरिक अब्दुल्लाहले यसै महिना समाप्त सहिद स्मारक ए डिभिजन लिगमा सर्वोत्कृष्ट खेलाडी चुनिएका सुनिल बल र उत्कृष्ट गोलरक्षक चुनिएका विशाल श्रेष्ठलाई टिम बाहिर राख्दै नाम घोषणा गरेका हुन् ।
उनले लिग विजेता मछिन्द्रका कप्तान सुजल श्रेष्ठसहित फरवार्ड विमल घर्तीमगर र मनिष डाँगीलाई पनि बाहिर राखेका छन् । यस्तै डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डर विशाल राई ‘बी’ टिममा पर्न असफल भएका छन् । नेपालले १० चैतमा थाइल्यान्डसँग खेल्नेछ भने १३ चैतमा चोनबुरीसँग खेल्नेछ । दुबै खेल चोनबुरीमा हुनेछ ।
एएफसी तालिका जुध्दा मछिन्द्रका खेलाडी टिम बाहिरः व्यवस्थापक उपाध्याय
एन्फाका केन्द्रीय सदस्य तथा राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले मछिन्द्र फुटबल क्लबले एएफसी कप खेल्ने तालिका रहेका कारण क्लबका खेलाडीलाई ‘कल’ नगरिएको बताएका छन् । ‘यो मैत्रीपूर्ण खेल हो । त्यसै कारण मछिन्द्रसँगको सहकार्यमै खेलाडीलाई राष्ट्रिय टोलीमा कल नगरिएको हो,’ उपाध्यायले भने ।
मछिन्द्रले एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्दैछ । उसले २२ चैतमा एएफसी कपको प्रारम्भिक छनोटमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार दशरथ रंगशालामा खेल्दैछ ।
नेपाली टोलीः
गोलरक्षकः किरण चेम्जोङ (कप्तान), टिकेन्द्र थापा, दिप कार्की,
डिफेन्डरः अनन्त तामाङ, नवीन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदीप गुरुङ, सुरजजिउ ठकुरी, रोहित चन्द
मिडफिल्डरः अन्जन बिष्ट, एरिक बिष्ट, प्रशान्त अवस्थी, आयुश घलान, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढामगर, सुबास गुरुङ, तेज तामाङ, जगजित श्रेष्ठ
फरवार्डः आशीष लामा, दर्शन गुरुङ, सुमन लामा
No ads found for this position

डिसी नेपाल
Facebook Comment