को हुन् पुटिनका विशेष सहयोगी जसले युक्रेन युद्धको योजना बुने

डिसी नेपाल
२८ फागुन २०७८ ७:४९

पोल किर्बी/ बीबीसी 

बीबीसी। रुसको अर्थतन्त्रलाई अस्तव्यस्त पार्न सक्ने सम्भावना भएको उच्च जोखिमयुक्त युद्धमा रुसी सेनालाई होम्ने भ्लादिमिर पुटिनको व्यक्तित्व एकलकाँटे खालको छ। आफ्ना विश्वासपात्र र निकटतम सल्लाहकारसँगका पछिल्ला दुई बैठकमा उनी स्पष्ट रूपमा पर बसेका थिए। त्यो सुनियोजित जस्तो पनि देखिन्थ्यो।

रुसी सेनाको सर्वोच्च नेतृत्वकर्ताको को हैसियतले आक्रमणको निर्णायक जिम्मेवारी उनमा निहित छ। तर उनी भने सधैँ आफ्ना बफादार र रुसी सैन्य सेवामा सँगै सेवा सुरु गरेका विश्वासपात्रहरूको भर पर्छन्। आफ्नो शासनकालमा उत्पन्न सबैभन्दा कठिन अहिलेको अवस्थामा उनी कसको कुरा सुन्छन् त?

यदि कसैको कुरा पुटिन सुन्छन् भने ती व्यक्ति पुटिनसँग लामो सङ्गत रहेका रक्षामन्त्री सर्गेई शोइगु हुन्। उनले पुटिनले जसरी नै युक्रेनलाई निरस्त्र पार्ने र रुसलाई पश्चिमा साझेदारहरूको सुरक्षा धम्कीबाट जोगाउनुपर्ने बताउँदै आएका छन्। यी ती व्यक्ति हुन् जो पुटिनसँगै साइबेरियामा सिकार गर्न र माछा मार्न जान्छन्। विगतमा उनलाई पुटिनको सम्भावित उत्तराधिकारीको रूपमा चित्रण गरिएको थियो।

तर तल देखाइएको यो असाधारण तस्बिरमा उनी पुटिनभन्दा पर देखिन्छन्। उनी उनी सशस्त्र बलका प्रमुखको छेउमा छन्। यसले हाल पुटिनले उनको कुरा कति सुन्छन् भन्ने विषयमा संशय उत्पन्न हुन्छ। उक्त तस्बिर रुसले युक्रेनमा सैन्य आक्रमण गरेको तेस्रो दिनपछि लिइएको हो। त्यतिबेला रुसी सेना युक्रेनमा भएको अप्रत्याशित प्रतिकारका कारण कमजोर मनोबलसँग सङ्घर्ष गरिरहेको थियो।

“शोइगु किएभतिर गएको हुनुपर्थ्यो। किनकि उनी रक्षामन्त्री हुन् र उनले यो युद्ध जित्नुपर्थ्यो,” सशस्त्र द्वन्द्वविज्ञ भेरा मिरोनोभा भन्छिन्। सन् २०१४ मा उनलाई क्राइमियामाथिको सैन्य नियन्त्रणको श्रेय दिइएको थियो। उनी सैन्य गुप्तचर निकाय जीआरयूको समेत नेृतत्व गर्थे।

उक्त निकायलाई दुई चरहरूलाई विष आक्रमण गरिएको आरोप लागेको थियो – पहिलो सन् २०१८ मा यूकेको सालिस्बरीमा र सन् २०२० मा विपक्षी नेता एलेक्सी नभाल्नीलाई साइबेरियामा। प्रस्तुत तस्बिर थप नजिकबाट नियाल्दा अवस्था झनै विषम देखिन्छ। “यो मलाम गएको बेला जस्तो देखिन्छ,” मिरोनोभाले भनिन्।

यो दृश्य केही असहज देखिए पनि रुसी सुरक्षाविज्ञ एवं लेखक आन्द्रेई सोल्दातोभका अनुसार रक्षामन्त्री शोइगु अझै पनि पुटिनले बढी कुरा सुन्ने र निकटस्थ विश्वासपात्र हुन्। “शोइगुले सैन्य मामिला मात्र नभई रुसी विचारधारा पनि हेर्छन्। रुसी विचारधारा इतिहाससँग जोडिएको छ र उनी यो भाष्यलाई नियन्त्रण गर्छन्।” रुसी सैन्य बलको प्रमुख भएकाले युक्रेनमा आक्रमण गर्ने र काम चाँडै फत्ते गर्ने जिम्मा भालेरी गेरासिमोभको हो। तर उनले नतिजा हात पारिसकेका छैनन्।

सन् १९९९ को चेचेन युद्धमा रुसी फौजको नेतृत्व गरेदेखि उनले अहिलेसम्म पुटिनका अधिकांश सैन्य अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। युक्रेनविरुद्धको सैन्य आक्रमणको योजनामा पनि उनी अग्रपङ्क्तिमा खटेका थिए। गत महिना उनलाई बेलारुसमा सैन्य अभ्यासको निरीक्षण गरेको देखिएको थियो।

रुसी मामिलाविज्ञ मार्क गालिओटीले जेनरल भालेरी गेरासिमोभलाई “रूखो र जब्बर” को सङ्ज्ञा दिएका छन्। उनका अनुसार क्राइमिया रुसमा गाभ्ने सैन्य अभियानमा गेरासिमोभको भूमिका प्रमुख थियो। युक्रेनविरुद्धको सैन्य अभियानको सुस्त थालनी र रुसी सेनाको खस्किँदो मनोबलका कारण उनलाई अहिले कुनामा पारिएको केही विवरणहरूले जनाएका छन्।

तर रुसी अनुसन्धान पत्रकार आन्द्रेई सोल्दातोभका अनुसार केही मानिसहरू “पुटिनले सबै मामिला र सबै सैन्य सैनिक दलको एक्लै निरीक्षण गर्न सक्दैनन् र यही उनको जिम्मेवारी हो” जस्ता आशावादी टिप्पणी गरेको बताउँछन्। उनी भन्छन्ः रक्षामन्त्रीलाई आफ्नो सैनिक पोसाकप्रतिको मोह निकै होला, तर सैन्य अनुभव अभावका कारण उनले पनि विशेषज्ञको भर पर्नुपर्ने हुन्छ।

“पात्रुशेभ एक आक्रामक र हक्की स्वभावका व्यक्ति हुन्। उनी पश्चिमा मुलुकहरूले वर्षौँदेखि रुसलाई कमजोर बनाउन खोजेको ठान्छन्,” यूनिभर्सिटी कलेज लन्डनका सहप्राध्यापक बेन नोबलले भने। उनी पुटिनका तीन बफादारमध्ये एक हुन् जसले सन् १९७० यता पुटिनसँगै सेन्ट पिटर्सबर्गमा सेवा गरेका थिए। रुसको दोस्रो ठूलो सहर सेन्ट पिटर्सबर्ग त्यतिबेला लेनिनग्रादको नामले चिनिन्थ्यो।

अन्य दुई बफादारमा सुरक्षा सेवा प्रमुख अलेक्जेन्डर बोर्न्तिकोभ र परराष्ट्र गुप्तचर प्रमुख सर्गेई नारीश्किन हुन्। राष्ट्रपतिको सबै भित्री र निकटस्थहरूलाई “सिलोभिकी” भनिन्छ। तर यी तीन व्यक्ति पुटिनका निकटतम भएको विश्वास गरिन्छ। पुटिनमा प्रभाव पार्न सक्ने केहीमा निकोलाई पात्रुशेभ पनि पर्छन्।

उनले कम्युनिस्ट शासनकालमा “केजीबी” भनिने सुरक्षा निकायमा पुटिनसँगै काम गरे। सन् १९९९ मा केजीबीको उत्तराधिकारीको रूपमा आएको अर्को संस्था “एफएसबी” मा पुटिनलाई प्रतिस्थापन गर्दै उनी प्रमुखको रूपमा आएका थिए। उनले त्यहाँ सन् २००८ सम्म सेवा गरे।

युक्रेनमा धावा बोल्नु तीन दिनअघि पात्रुशेभले रुसी सुरक्षा परिषद्को बैठकमा अमेरिकाप्रतिको आफ्नो अडान स्पष्ट गरे। रुसलाई विभाजन गर्नु अमेरिकाको उद्देश्य भएको उनको भनाइ थियो। उक्त बैठक एउटा विशिष्ट रङ्गमञ्चको हिस्साजस्तै देखिएको थियो – राष्ट्रपति पुटिन केही पर डेस्कमा बसेर सभा चलाउँदै थिए भने उनको सुरक्षा टोलीका सदस्यहरू एक-एक गर्दै माइक भएको ठाउँमा पुगेर युक्रेनमा रुस-समर्थित विद्रोहीहरूको स्वतन्त्रतालाई मान्यता दिनेबारे आफ्नो विचार व्यक्त गर्दै थिए।

पात्रुशेभले उक्त बैठकमा पुटिनलाई प्रभावित पारे। “सैन्य आक्रमणमा विश्वास गर्ने अधिकारीहरूमध्ये उनी एक प्रमुख हुन्। अनि धेरैको अनुमानअनुसार पुटिन उनकै चरम सैन्यवादतर्फ ढल्किँदै छन्”, बेन नोबलले भने।

क्रेम्लिन नियालिरहेका केही पर्यवेक्षकहरूका अनुसार रुसी राष्ट्रपति अन्य स्रोतबाट प्राप्त जानकारीभन्दा सैन्य निकायबाट प्राप्त जानकारीप्रति अधिक विश्वास गर्छन्। यस मामिलामा अलेक्जेन्डर बोर्न्तिकोभ पुटिनसँग नजिक मानिन्छन्।उनको पुटिनसँगको सङ्गत लेनिनग्रादस्थित केजीबीमा काम गर्दादेखिकै हो। केजीबीको उत्तराधिकारी निकाय एफएसबीको प्रमुखको रूपमा निकोलाई पात्रुशेभपश्चात् उनी आएका थिए।

पात्रुशेभ र बोर्त्निकोभ दुवै पुटिनको निकटस्थ र विश्वासपात्र मानिन्छन्। तर बेन नोबलका अनुसार पुटिनले लिने निर्णयहरू यी दुईमध्ये कसको हो भनेर खुट्याउन गाह्रो छ। देशका कानुन कार्यान्वयनकारी निकायहरूमा एफएसबीकोप विशेष प्रभाव छ र उसको आफ्नै छुट्टै विशेष फौज पनि छ। आन्द्रेई सोल्दातोभका अनुसार बोर्न्तिकोभ महत्त्वपूर्ण छन्। तर उनी पुटिनलाई चुनौती वा अरूले जसरी सुझाव दिन सक्दैनन्।

लेनिनग्रादमा पुटिनसँगै सेवा गर्ने तीन जनामध्ये नारीश्किन पनि एक हुन्। उनले सेवावधिको अधिकांश समय पुटिनसँगै बिताए। तर यति हुँदाहुँदै पनि सुरक्षा परिषद्को पछिल्लो बैठकमा विषयवस्तुबारे अलमलिएको भन्दै पुटिनले उनलाई झपारे।

पृथक्तावादीले नियन्त्रण गरेको भूभागलाई तत्काल अलग राष्ट्रको मान्यता दिनुपर्ने सम्बन्धमा पुटिनले नारीश्किनलाई आफ्नो विचार राख्न भनेका थिए। केही अकमकिँदै उनले पृथक्तावादीद्वारा नियन्त्रित भूभाग रुसमा गाभ्न आफू सहमत भएको बताएका थिए। पुटिनले “हामीले छलफल गरेको विषय यो होइन” भन्दा नारीश्किन हताश देखिन्थे।

लामो बैठकको दृश्य सञ्चारमाध्यममा सम्पादन गरेर प्रसारित गरिएको थियो। क्रेम्लिनले स्पष्ट रूपमा दर्शकहरूलाई नारीश्किनको निरीहता देखाउन चाहेको थियो। “त्यो विस्मयकारी थियो। सामान्यतया उनी शान्त र अविचलित हुन्छन्, त्यसैले दर्शकहरूले के हुँदैछ बनेर प्रश्न सोधे,” बेन नोबलले बीबीसीलाई भने।

मार्क गालिओटी चाहिँ उक्त बैठकको विषाक्त वातावरण देखेर छक्क परे। तर पुटिनले रमाइलो मानिरहेको सोल्दातोभलाई लाग्छ। उनी भन्छन्ः “पुटिन आफ्ना निकटस्थहरूसँग ठट्टा गर्न मन पराउँछन्, उनले नारीश्किनलाई मूर्खजस्तो देखाइदिए।”

सर्गेई नारीश्किन लामो समय पुटिनको छत्रछायामा रहे। सन् १९९० को दशकमा सेन्ट पिटर्सबर्गमा, त्यसपछि सन् २००४ मा पुटिनको कार्यालयमा र अन्ततः संसद्को सभामुखको रूपमा। उनी ‘रुसी ऐतिहासिक समाज’को प्रमुख पनि हुन् र सोल्दातोभको विचारमा उनले राष्ट्रपतिलाई उनको कार्यका लागि वैचारिक आधार प्रदान गर्न आफूलाई निकै महत्त्वपूर्ण साबित गरेका छन्।

गत वर्ष उनले बीबीसीको मस्कोस्थित संवाददाता स्टीभ रोजनबर्गलाई दिएको अन्तर्वार्तामा रुसले विभिन्न व्यक्तिहरूलाई विष दिएको, साइबर हमला गरेको र अन्य राष्ट्रको चुनावमा हस्तक्षेप गरेको आरोपहरू खण्डन गरेका थिए।

अठार वर्षदेखि रुसको वरिष्ठतम कूटनीतिज्ञका रूपमा कार्यरत लाभ्रोभले रुसको मुद्दालाई विश्वसमक्ष प्रस्तुत गर्दै आएका छन्। यसका बाबजुद निर्णय प्रक्रियामा उनको ठूलो भूमिका नरहेको विश्वास गरिन्छ। एकहत्तर वर्षीय लाभ्रोभले विगतमा गरेका काम र तथ्याङ्कप्रति पुटिन भर पर्ने गरेको बताइन्छ।

उनी एक चतुर कूटनीतिज्ञ हुन्। उनले गत महिना ब्रिटिश विदेशमन्त्री लिज ट्रसलाई उनको रुसी भूगोलको ज्ञानका कबारे खिल्ली उडाएका थिए र ठिक एक वर्षअघि ईयूको विदेशनीति प्रमुख जोसेफ बोरेललाई अपमानित गरेका थिए।

तर लामो समयदेखि युक्रेन सम्बन्धित हरेक कुरामा उनलाई किनारा लगाइएको छ। रूखो मिजास र आक्रामक स्वभावका बाबजुद उनले युक्रेनसम्बन्धी मामिलाका लागि कूटनीतिक वार्ताहरूको पहल गरेका छन्। यद्यपि रुसी राष्ट्रपतिले उनलाई बेवास्ता गरेका छन्। उनले भिडिओ सत्रमार्फत् रुसको आक्रमणको रक्षा गर्ने प्रयास गरेपछि राष्ट्रसङ्घी मानव अधिकार परिषद्का अधिकांश अधिकारीहरू बाहिरिएका थिए। तर त्यसबाट उनी अविचलित देखिए।

पुटिनको समूहमा एक महिला सदस्य छिन् जसले माथिल्लो सदनमा दिएको एक महत्त्वपूर्ण मतका कारण आक्रमणको लागि मार्ग प्रशस्त गर्दै विदेशमा रुसी सेनाको तैनाथको बाटो खुल्यो।
सेन्ट पिटर्सबर्गकी भ्यालेन्टिना माट्भियेन्को पुटिनकी अर्की विश्वासपात्र हुन् जसले सन् २०१४ मा क्राइमियालाई विलय गर्न सहयोग पुर्‍याएकी थिइन्।

उनलाई प्राथमिक निर्णयकर्ता भने ठानिएको छैन। अर्थात् पूर्ण निश्चितताका साथ कसले ठूला निर्णयहरू लिइरहेका छन् त्यो केही मानिसहरूले भन्न सक्छन्। रुसको सुरक्षा परिषद्का अन्य सदस्यको जस्तै भ्यालेन्टिनाको उपस्थिति पनि सामूहिक छलफल भएको सङ्केत दिनु थियो। तर रुसी नेताहरूले त्यसअघि नै आफ्नो धारणा बनाइसकेको हुनसक्ने सम्भावना उच्च छ।

राष्ट्रपतिका भूतपूर्व अङ्गरक्षकले अहिले न्याश्नल गार्ड अफ रसिया (रोस्ग्भार्डिया) को नेतृत्व सञ्चालन गर्छन्। छ वर्षअघि मात्र राष्ट्रपति पुटिनले रोमन साम्राज्यको प्रीटोरीअन गार्डको शैलीमा व्यक्तिगत सेनाको रूपमा न्याश्नल गार्ड गठन गरेका थिए। त्यसको नेतृत्वका लागि आफ्नै अङ्गरक्षक भिक्टर जोलोटोभलाई छानेर पुटिनले आफूप्रतिको बफादारी सुनिश्चित गरे। भिक्टोरले हालसम्म रोस्ग्भार्डियामा सुरक्षाकर्मीको सङ्ख्या बढाएर चार लाख पुर्‍याएको तथ्याङ्क छ।

भेरा मिरोनोभाका अनुसार रुसको मूल योजना केही दिन भित्रै आक्रमण पूरा गर्ने थियो। तर जब सेना असफल ठहरियो तब रुसको राष्ट्रिय गार्डले नेतृत्व लियो। समस्या त के हो भने न्याश्नल गार्डका नेतृत्वकर्ताले कुनै सैन्य तालिम लिएका छैनन्। यसको बलसँग ट्याङ्कहरू नभएकाले उनीहरू पनि आक्रमणमा पर्ने जोखिममा छन्।

प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग अर्थतन्त्रलाई बचाउने अपरिहार्य जिम्मेवारी छ तर उनी युद्धको बारेमा निकै कम मात्र बोलेका छन्। राजनीतिक विश्लेषक येभ्गेनी मिन्चेन्कोका अनुसार मस्कोका नगरप्रमुख सर्गेई सोब्यानिन र राज्यको तेल उत्पादक कम्पनी रोज्नेफ्टका प्रमुख इगोर सेचिन पनि राष्ट्रपति निकटस्थ व्यक्ति हुन्।

अर्बपति दाजुभाइ बोरिस र अलेक्जेन्डर रोटेन्बर्ग राष्ट्रपतिका बाल्यकालका साथी हुन्। उनीहरू लामो समयदेखि पुटिनका नजिकका विश्वासपात्र पनि हुन्। सन् २०२० मा फोर्ब्स पत्रिकाले उनीहरूलाई रुसको सबैभन्दा धनी परिवारको सूचीमा राखेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *