एमालेको रणनीति : जनताबीच कार्यकर्ता गोलबन्द गराउने

मदन कोइराला
१ चैत २०७८ ११:२४

काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन्।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस ‘घर घर जाउँ, कांग्रेस जिताउँ’ अभियान लिएर जनताको घर दैलोमा पुगेको छ। स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने नगर्ने निर्णय गर्न नसकेको कांग्रेस चुनावी अभियानमा भने होमिएको छ।

उता मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा एमाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी प्रवेश अभियानमा सक्रिय छ। एमालेले दशौं महाधिवेशनको सन्देश घर घर पुर्याउन र अन्य दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउन तीन महिने अभियान संचालन गरिरहको छ।

सो अभियान अन्तर्गत एमाले यतिबेला अन्य दलका नेतादेखि जनप्रतिनिधि एमाले प्रवेश गराउने अभियानमा छ। केही दिन अगाडि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसका विभिन्न स्थानमा पुगेर अन्य दलका नेतादेखि जनप्रतिनिधिलाई एमालेका प्रवेश गराएका छन्।

‘अहिले हामी देशभर जनताको बीचमा कार्यकर्तालाई गोलबन्द गर्ने काम गरिरहेका छौं,’ एमाले उपाध्यक्ष सुवास नेम्वाङले डिसी नेपालसँग भने, ‘महाधिवेशनको सन्देश घर घर पुर्याउने र अन्य दलका नेता कार्यकर्ता पार्टी प्रवेश गराउने अभियानमा एमाले छ।’

एमालेले पार्टी प्रवेश कार्यक्रमलाई चुनावी अभियानमा रुपमा जोडेको छ। गत स्थानीय तह निर्वाचनमा मधेसमा पाँचौं बनेको एमालेले अहिले त्यहाँ आफ्नो सम्पूर्ण शक्ति लगाएको छ। अध्यक्ष ओलीले मधेसलाई विशेष महत्व दिँदै धमाधम पार्टी प्रवेश गराइरहेका छन्।

एमालेले जनताको बीचमा कार्यकर्ता गोलबन्द गराउने अभियान चलाइरहँदा निर्वाचनमा गठबन्धन गर्ने नगर्ने भन्ने विषयमा ठोस निर्णय गरेको छ।

गत स्थानीय तह निर्वाचनमा एमाले एक्लै चुनावी मैदानमा होमिएको थियो र सबैभन्दा ठूलो दल पनि बनेको थियो। तर अहिले पार्टी विभाजित अवस्थामा छ भने एमाले विरुद्ध अन्य पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने तयारी गररहेका छन्।

यस्तो अवस्थामा स्थानीय निर्वाचन एमालेका लागि चुनौती बनेको छ। ‘हामीले अंगीकार गरेको चुनाव प्रणालीले गठबन्धन गर्नुलाई उचित नै मान्नुपर्छ,’ उपाध्यक्ष नेम्वाङ भन्छन्, ‘तर त्यस्तो गठबन्धन लोकतान्त्रिक मूल्य मान्यतामा आधारित हुनुपर्छ। हामी अपवित्र गठबन्धन गर्ने पक्षमा छैनौं।’

एमालेले वर्तमान सत्ता गठबन्धनलाई अपवित्र भन्दै आएको छ। वर्तमान सत्ता गठबन्धनलाई कायम राख्दै तीनै तहको निर्वाचनसम्म मिलेर जाने विषयमा सकारात्मक छलफल भइरहेको छ।

विशेष गरी माओवादी केन्द्र र एकीकृत समाजवादीले तीन तहकै निर्वाचनसम्म गठबन्धन गरेर जानुपर्ने बताउँदै आएका छन्, सो भनाइप्रति प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नकारात्मक छैनन्।

आफू विरुद्ध गठबन्धन हुने अवस्थामा एमालेले पनि गठबन्धन गर्न सक्ने नेम्वाङले संकेत गरे। उनले एमालेको सबै दलसँग सम्बन्ध राम्रो रहेको र सबैसँग सम्पर्कमा रहेको बताए।

गत स्थानीय तह निर्वाचनमा एमालेले काठमाडौं महानगरपालिकामा राप्रपासँग चुनावी तालमेल गरेको थियो। कामपामा एमालेले मेयर जित्दा उपमेयर भने कांग्रेसले चिनेको थियो। राप्रपाका उम्मेद्वार राजाराम श्रेष्ठ तेस्रो भएका थिए।

अहिले एमाले विभाजन भएको अवस्थामा एमालेलाई विगतमा आफूले जितेका ठाउँ जोगाउनु पर्ने चुनौती छ भने एमाले विरुद्ध गठबन्धन भएको अवस्थामा एमालेले पनि लोकतान्त्रिक मूल्य मान्यताका आधारमा गठबन्धन हुन सक्ने संकेत गरेको छ।

गत स्थानीय तह निर्वाचनमा एमालेले ७५३ स्थानीय तहमध्ये दुई महानगरपालिका सहित २ सय ९४ स्थानीय तहको प्रमुख एमालेले जितेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *