चुनाव जित्न घर-घरमा कांग्रेस, गठबन्धनका विषयमा नाजवाफ

सम्भव सिंह ठकुरी
१ चैत २०७८ १२:५८

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले गत २९ गते देखि ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ नाराका साथ एक महिने चुनावी अभियान अन्तर्गत ७७ वटै जिल्लामा केन्द्रीय नेता खटाएको छ। फागुन २९ गते देखि चैत २९ गतेसम्म चल्ने यो अभियानका लागि केन्द्रीय प्रतिनिधिका साथ कांग्रेस नेताहरु देश दौडहामा छन्।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा एकजुट भएको कांग्रेस स्थानीय तह निर्वाचन आउन २ महिना मात्र बाँकी रहँदा पार्टीभित्र गठबन्धन दलसँगको चुनावी समीकरणबारे अनेक कोणबाट बहस भइसकेको छ।

गठबन्धन दलबीच समीकरणको पक्ष र विपक्षमा नेताहरूका विभिन्न फरक-फरक धारणा आइरहेका छन्। चुनावी समीकरणबारे कांग्रेसमा मुख्य गरी दुई धार प्रस्ट देखिएका छन्।

प्रधनामन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा गठबन्धन प्रति नरम धारणा ब्यक्त गर्दै आएपनि डा.शेखर कोइरालालगायत अधिकांश नेताहरू कांग्रेस गठबन्धन बिना नै चुनावमा होमिनुपर्ने पक्षमा छन्।

तर सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत भने आवश्यकता अनुसार चुनावमा तालमेल गर्नुपर्ने पक्षमा छन्। यसरी कांग्रेसमा चुनावी समीकरणको विषयमा अन्यौल कायमै रहँदा जनताको घरदैलोमा पुगेका कांग्रेस नेताहरुले चुनावी समीकरणको विषयमा कार्यकर्तालाई के जवाफ दिएका छन्?

केन्द्रीय सदस्य दीपक गिरी अहिले चुनावी समीकरणको विषयमा ब्यापक बहस भएपनि यो एक महिने अभियान सम्पन्न भइसकेपछि मात्र सो विषय टुंगोमा पुग्ने बताउँछन्।

केन्द्रीय प्रतिनिधिको रुपमा बाँके जिल्लामा रहेका गिरीले भने, ‘बास्तवमा हाम्रो पार्टीमा चुनावी समीकरणको विषयमा दुईथरीको धारणा आएकै हो। केन्द्रमा जस्तै जिल्ला तहमा पनि एक थरिका साथीहरु समीकरण गर्नुपर्छ भन्नुभएको छ। अर्का थरिका साथीहरु हिजोको दिनमा माओवादीबाट पीडित भएका कारण गठबन्धन गर्नुहुँदैन भनिरहनु भएको छ। त्यसकारण हामी एक महिनासम्म कार्यकर्ताको चाहना के कस्तो हुन्छ त्यो प्रतिवेदन केन्द्रमा बुझाएपछि हामी एउटा धारणा बनाउँछौँ।’

उनले अगाडि भने, ‘हाम्रो यो अभियानको प्रमुख उदेश्य चुनावको तयारीका साथ साथै एमसीसीमाथि गलत प्रचार गरिएको कारण जनतालाई एमसीसी गतल हैन भनेर बुझाउनु पनि हो। हामीले एमसीसीको भ्रम र यथार्थ बारेमा पुस्तक बनाएर जनतालाई दिइरहेका छौँ। त्यसकारण अब हामी एक महिना जनताको धारणा बुझ्छौँ। आवश्यकताको आधारमा जिल्लालाई समीकरण गर्ने या नगर्ने विषयको निर्णय गर्ने अधिकार दिनेछौँ।’

‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत डोल्पा जिल्लाको केन्द्रीय प्रतिनिधिका रुपमा रहेका डा.गोपाल दहित पनि अहिले नै चुनावी समिकरणको विषयमा बोल्ने अवस्था नरहेको बताउँछन्।

‘हामी अहिले हाम्रो पार्टीको सर्वसहमतिको महान अभियानका साथ आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर कार्यकर्ता र जनताको घरदैलोमा पुगेका छौँ। अब यो चुनावी समीकरणको विषयमा केन्द्रले अहिले नबोल्नु भनेको छ। त्यसकारण हामी यो अभियान सकेर बस्ने बैठकले निर्णय गर्छौं,’दहितले भने।

यो विषयमा गत बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्काले पनि अहिले नै चुनावी समीकरणबारे छलफल गर्नु अपरिपक्व हुने बताएका थिए।

उनले भनेका थिए, ‘चुनावी गठबन्धन कोसँग र कसरी र के को अधारमा गर्ने भन्ने निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट हुन्छ, त्यसअघि ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सम्पन्न गछौँ र देशभरको कार्यकर्ता,जनताको समग्र अवस्था,राय बुझेर चुनावी रणनीति बनाउँनेछौँ।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *