मेयर कप क्रिकेटमा उपाधिका लागि दशरथचन्द र खलङ्गा भिड्ने

डिसी नेपाल
१ चैत २०७८ २०:३१

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा–४ खलङ्गा भिड्ने भएका छन् ।

आज भएको दोस्रो सेमिफाइनलमा दनपा–६ थालिगडालाई ४ विकेटले हराउँदै दशरथचन्दले उपाधि भिडन्त पक्का गरेको हो । खलङ्गा गत संस्करणको विजेता हो भने दशरथचन्द उपविजेता हो । गत वर्ष दशरथचन्दलाई ४ रनले हराउँदै खलङ्गाले उपाधि हात पारेको थियो ।

आजको खेलमा थालिगडाले दिएको १३४ रनको लक्ष्य दशरथचन्दले १६।४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । उसका लागि सुदीप टमटाले ३३ र जगदीश चन्दले अविजित २६ रनको योगदान दिए । बलिङतर्फ थालिगडाका सौरभ चन्दले २ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको थालिगडा १६।१ ओभरमा १३३ रनमा समेटियो । उसका लागि कल्पेस चन्दले ३७ र मनोज ऐरीले ३६ रनको योगदान दिए । बलिङतर्फ दशरथचन्दका रोविन चन्द एक्लैले ५ विकेट लिए । उनी खेलका म्यान अफ दी म्याच चुनिएको स्कोरर खेमराज भट्टले जानकारी दिए ।

उपाधिका लागि बुधबार खेल हुने दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए । उपाधि विजेताले रु ७५ हजार र उपविजेताले रु ५० हजार पुरस्कार पाउने समितिका संयोजक रमेश भट्टले बताए । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *