राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।
फागुपूर्णिमाका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रपतिले यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्दछ, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिले सन्देशमा व्यक्त गर्नुभएको छ ।
“हाम्रो संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्छ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ ।
समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस्”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।-
No ads found for this position


डिसी नेपाल
Facebook Comment