डिफेन्डीङ च्याम्पेन पिप्लेसँग हिमालयन सेर्पा ३–० ले पराजित

डिसी नेपाल
६ चैत २०७८ २१:१०

सर्लाही । डिफेन्डीङ च्याम्पेन पिप्ले युवा क्लब हेटौडा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डीङ च्याम्पेन पिप्लेले हिमालयन सेर्पा काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुदेखिनै पिप्लेका खेलाडी हिमालयन सामु हाबी भएका थिए । सुन्दर फिनिसिङका साथ मैदानमा रहेका पिप्लेका खेलाडी आक्रामक अवस्थामा देखिए । पिप्लेले खेलको १५ औँ मिनेटमा रूपक लामाको गोलबाट अग्रता बनाएको थियो । ४० यार्ड टाडा पाएको फ्रिकिकलाई पिप्लेका रूपक लामाले कुनै गल्ती नगरी हिमालयनको जाली चुमाउन सफल भए ।

पहिलो हाफमा १–० को अवस्था बनाएको पिप्लेले दोस्रो हाफको ४ मिनेटमै दोस्रो गोल थप्यो । रूपक लामाको क्रसमा कुलदिप कार्कीले हेडमार्फत पिप्लेका लागि दोस्रो गोल गरे । दोस्रो हाफ पछि पनि पिप्लेका खेलाडी पुरा समय लयमै खेलिरहे ।

यस्तै खेलको अतिरिक्त समयमा पिप्लेका रितिक खड्काले पाएको वान टु वानको अवस्थालाई सहजै गोलमा परिणत गर्दै टिममलाई ३–० को अवस्थामा पुर्‍याए । पिप्लेले खेलमा दुई गोल गरेपछि हिमालयन केही दबाबमा देखिएको थियो । सुरुदेखिने निकै कमजोर फिनिसिङ खेलेका हिमालयन सेर्पाको खेलमा फर्कने लगातारको प्रयास असफल भयो । सुरुदेखिनै लयमा खेल्न नसकेको हिमालयन त्यस पछि पनि खेलमा फर्कन सकेन ।

खेलमा हिमालयनका खेलाडीले बनाएको केही राम्रा अवसरलाई समेत सदुपयोग गर्न सकेनन् । खेलको ७ औँ मिनेटमा हिमालयनका विकास मेरागिलले गरेको सशक्त प्रहार पिप्लेका गोल रक्षक अशोक बरालले असफल गरिदिए । पहिलो हाफको अतिरिक्त समयमा हिमालयनका दिवस ओरओले सुन्दर हेड गरे । तर, क्रसबारमा ठोकिएर फक्रियो ।

दोस्रो हाफको ३२ र ३३औं मिनेटमा हिमालयनका सत्य शर्माले पिप्लेको गोल पोस्टमा दुई वटा सशक्त प्रहार गरे । तर, सफल भएनन् । बल क्रमशः पहिलो बारमा र क्रसबारमा लागेर फर्कियो । त्यस पछि पनि हिमालयनका खेलाडीले केही राम्रो अवसरहरू तयार गरे । तर सदुपयोग गर्न सकेनन्, योसँगै हिमालयन सेर्पाले उपाधि होडबाट बाहिरिनु पर्‍यो ।

पिप्लेको लागि पहिलो गोल गरेका रूपक लामा म्यान आफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार समेत प्राप्त गरे । उद्घाटन खेलमा धु्रवतारा सर्पोटिङ झापालाई पराजित गर्दै हिमालयनले पिप्लेसगँको भेट पक्का गरेको थियो । एक खेल बाइपाएको पिप्लेले सिधै क्वाटरफाइनल खेलेको हो । यस प्रतियोगिता अन्तरगत सोमवार दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस र सुदूर पश्चिम–११, धनगढी खेल्ने छन् ।

पुलिस नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सुदूर पश्चिम–११, एक खेल बाई पाएर अन्तिम चारमा रहेको थियो । १२ टिम सहभागी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *