विषादी मिसिएको पानी पिउँदा तीन विद्यार्थी बिरामी

डिसी नेपाल
१४ चैत २०७८ २०:४५

खोटाङ । विषादी मिसिएको पानी पिउँदा खोटाङमा तीन विद्यार्थी बिरामी परेका छन् । विद्यालयमा जारमा राखिएको पानी पिउँदा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली माविमा कक्षा ८ मा अध्ययनरत छात्र दबिन राई, कक्षा ९ मा अध्ययनरत छात्रा प्रनिसा कुँवर र उर्मिला बिक बिरामी परेका हुन् ।

विषादी मिसिएको पानी पिउँदा बिरामी परेका राई र बिकको उदयपुरको घुर्मीस्थित एक निजी अस्पतालमा र कुँवरको ओखलढुंगाको मिसन अस्पतालमा उपचार भइरहेको छ । बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको दाम्ली माविका प्रअ गमराज राईले बताए ।

विद्यालयका परिचरले सोमबार बिहान सधैझैँ धाराबाट एक जार पानी ल्याएर राखेका थिए । विद्यालयमा पहिलो जारको पानी सकिएपछि दोस्रो जार पानी ल्याइएको थियो । त्यो पानी केही छात्रले पिएका थिए । त्यसपछि पानी पिउन गएका तीन छात्ररछात्रा बिरामी परेको हो । पानी दुधिलो भएको र मेटासिटको गन्ध आएकाले पानीमा विष मिसाइएको अनुमान गरिएको डिकुवाका वडाध्यक्ष हरिकुमार खड्काले बताए ।

एउटै जारको पानी अगाडि पिउनेलाई केही नहुनु र पछाडि पिउने छात्ररछात्रा बिरामी पर्नुमा बीचमा विषादी मिसाइएको अनुमान गरिएको छ । पानीमा विषाक्त वस्तु मिसिएको आशंकापछि विद्यार्थीलाई स्वास्थ्यचौकीमा लगेर प्राथमिक गरेर अस्पताल लगिएको हो । प्राथमिक उपचारका क्रममा छात्ररछात्राले बान्ता गरेका थिए ।

पानीमा विषादी मिसिएको आंशकामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विषादीयुक्त पानीका कारण छात्र\छात्रा बिरामी परेको जानकारी पाएपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई लगायत दाम्ली मावि पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *