कांग्रेसमा चुनावी गठबन्धनको बहस : प्रदेश सभापति भन्छन्-स्थानीय आवश्यक्ताको आधारमा गरिनुपर्छ

सम्भव सिंह ठकुरी
१५ चैत २०७८ १३:०१

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेस भित्र चुनावी गठबन्धनको विषय निकै पेचिलो बन्दै गएको छ। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिए पनि यो विषयमा कांग्रेस अझै अनिर्णित रहेको छ।

सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहित देउवा निकटका अधिकांश नेताहरु सत्तारुढ गठबन्धनमा रहेका दलहरुसँग चुनावी गठबन्धन गर्न सकारात्मक भए पनि कांग्रेसका संस्थापन इतरका समूहका डा.शेखर कोइराला समूहका महामन्त्री गगन थापासहित देउवा पक्षकै केही नेताहरु कांग्रेस कसैसँग गठबन्धन गर्न नहुने मत राख्दै आएका छन्।

देउवा पक्षका नेताहरु शंकर भण्डारी, वीरबहादुर बलायर कम्युनिष्टसँग गठबन्धन गर्न नहुने मत राख्दै आएका छन्। तर केन्द्रीय समितिको बैठकमा भने जर्वजस्त देउवाको अडानमा केन्द्रीय सदस्यहरु लागेका छन्। सोमबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि अधिकांश नेताहरुले देउवाको बोली मै समर्थन गरेका थिए।

२०७४ को स्थानीय निर्वाचनमा माओवादीले कांग्रेसलाई धोका दिएका कारण कोइरालासहित उनी निकटका नेताहरुले त्यो पुरानो धोका भुल्न नहुने बताएका थिए। तर देउवाले विगत बिर्सन आग्रह गरेका छन्। विगतमा माओवादीले आफूलाई गोली समेत हानेको भन्दै उनले पुराना कुरा भुलेर गठबन्धन गरेर नै अघि बढ्नुपर्ने र गठबन्धन अहिलेको आवश्यक्ता रहेको बताएका छन्।

नेकपा एमाले अझै बलियो रहेको तर्क गर्दै सभापति देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने अडानमा कायमै रहेका छन्।
यसरी कांग्रेसभित्र गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा बहस जारी रहँदा प्रदेश एक, गण्डकी, लुम्बिनी,र सुदूरपश्चिम प्रदेशका पार्टी सभापतिसहित शीर्ष नेताहरु केन्द्रबाट निर्णय लद्ने भन्दा पनि स्थानीय आवश्यक्ताको आधारमा चुनावी गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन्।
के भन्छन् प्रदेश सभापतिहरु ?

उद्धव थापा (सभापति प्रदेश एक)

मैले अहिले चलिरहेको पार्टीको केन्द्रीय समितिको बैठकमा स्पष्ट धारणा राखेको छु। अहिले सत्तारुढ गठबन्धनसँग एक पटक केन्द्रदेखि स्थानीय तहसम्मै चुनावी समीकरण गरेर जानुपर्छ भनेको छु।

चुनावी गठबन्धन अहिले राष्ट्रिय आवश्यक्ताको विषय बनेको छ। हिजोको दिनमा पनि आवश्यक्ताले नै बनेको गठबन्धन हो। र, सो आवश्यक्ता आज पनि कायमै छ। हिजोको दिनमा केपी शर्मा ओलीले संविधानलाई कुल्चिएर, विधिको शासन उल्लंघन गरेर सर्वसत्तावादमा हिँडेका कारण हामी सत्ता गठबन्धनमा जोडिएका हौँ।

त्यो खाले खतरा अहिले पनि हामीलाई महशुस भइराखेको छ। त्यसकारण संविधानको संरक्षण, लोकतन्त्र र विधिको शासनको लागि पनि स्थानीय तहको आवश्यक्ता अनुसार गठबन्धन गर्नुपर्छ। त्यो गठबन्धन पनि स्थानीय मतको आधारमा तय हुनुपर्छ। मलाई लाग्छ केन्द्रीय समितिले पनि सोही निर्णय गर्छ।

शुक्रराज शर्मा (सभापति गण्डकी प्रदेश)

गठबन्धनको नाममा केन्द्रबाट नै निर्णय गरिनु हुँदैन। तर स्थानीय तहको आवश्यक्ताको आधारमा गठबन्धन गर्नुपर्छ भन्ने हाम्रो धारणा रहेको छ। गठबन्धन गर्दा सबैभन्दा भरपर्दो र राम्रो माध्यम पनि त्यही हो।

हामी केही दिन अघि सात वटै प्रदेशका सभापतिहरु बसेर गरेको छलफलमा पनि केन्द्रलाई सोही जानकारी दिएका छौँ। त्यसकारण स्थानीय आवश्यक्ता र स्थानीय जनमतको आधारमा गठबन्धन गर्नुपर्छ।

अमरसिंह पुन (सभापति लुम्बिनी प्रदेश)

स्थानीय आवश्यक्ताको आधारमा मात्र गठबन्धन हुनुपर्छ। र सोही आवश्यक्ता अनुसार तालमेल हुने सम्भावना रहेको छ। यसरी तालमेल गर्दा पार्टीको मतभार ‘क्याल्कुलेसन’ गरेर नीतिगत रुपमा जानुपर्छ।

केन्द्रबाट फलानो ठाउँमा गठबन्धन गर्नुपर्छ भनेर जर्वजस्त लादेको अवस्थामा कार्यकर्ताले मत हाल्ने अवस्था छैन। त्यसकारण नेता कार्यकर्तालाई सही रुपमा व्यवस्थापन गरेर आवश्यक्ताको आधारमा गठबन्धन हुनुपर्छ। मलाई लाग्छ पार्टीको केन्द्रीय समितिले पनि यही निर्णय गर्ला ।

वीरबहादुर बलायर (सभापति सुदूरपश्चिम प्रदेश)

गठबन्धन भन्ने कुरा कागजमा लेखेर हुँदैन। यो आत्मादेखि हुुनुपर्छ। मैले पहिलेदेखि भन्दै आएको छु। सुदूरपश्चिमका कार्यकर्ताले रुख बाहेक अन्यमा मत हाल्दैन। त्यसकारण मैले यो बोल्दै गर्दा मैले बोलेको भन्दा पनि सुदूरपश्चिम प्रदेशको कांग्रेसको कार्यकर्ताको मनोभावना बोलेको हो।

ठिक छ अब गठबन्धन नै गर्ने भए भोटको हिसाव गरौँ। सोही अनुसार उम्मेदवार खडा गरौँ। तर गठबन्धन भन्ने आजसम्म हामीसम्म एउटा छलफल संवाद पनि नगर्ने केन्द्रमा गएर हाम्रा शीर्ष नेतालाई भनेर मात्र हुन्न नि। हामीसँग छलफलमा पनि आउनुपर्छ।

त्यसकारण अब गठबन्धन गर्ने नै हो भने केन्द्रबाट जर्वजस्त लादेर हुन्न। गठबन्धन गरेका छौँ फलानो उम्मेदवारलाई भोट हाल्नुपर्छ भनेको भरमा कार्यकर्ताले भोट हाल्ने अवस्था छैन। त्यसकारण गठबन्धनको अधिकार स्थानीयलाई नै दिनुपर्छ। आवश्यक्ता महशुस भए गठबन्धन हुन्छ नत्र हुँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *