२४औँ वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लबद्वारा विभिन्न विधाका पुरस्कार घोषणा
काठमाडौं । रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विधाका पुरस्कार घोषणा गरेको छ । क्लबले यही चैत १७ गते काठमाडौँमा आयोजना गर्ने विशेष समारोहका बीच ती पुरस्कार वितरण गर्ने जनाएको छ ।
यस वर्षको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै तेजेन्द्र–सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुवेर चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । यी दुवै पुरस्कार क्लबले पहिलोपटक दिन लागेको हो । दुवै पुरस्कारको राशि रु एक लाख रहेको छ ।
यस्तै, क्लबले हरेक वर्ष प्रदान गर्दै आएको रु ५० हजार राशिको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई दिने निर्णय गरेको छ । यसैगरी क्लबका संस्थापक सभापति ऋषि धमलाको मातापिताको स्मृतिमा स्थापित रु ४० हजार राशिको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार अनलाइनखबर न्यूजपोर्टलका पत्रकार विनोद घिमिरेलाई प्रदान गरिने निर्णय भएको क्लबले जनाएको छ ।
त्यस्तै, जनही रु २५ हजार राशिको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका पत्रकार सुरेश यादव, सहिद जगत प्रकाशजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार राससका पत्रकार कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमा पोष्ट अनलाइन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमा सिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी पत्रकार सिर्जना घिमिरे र बाबुछिरी स्मृतिफोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई प्रदान गरिने निर्णय गरिएको छ ।
त्यस्तै, प्राइम टाइम्स टिभीका पत्रकारद्वय बालकृष्ण गौतम र डेबिड पाण्डेलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिने निर्णय गरेको क्लबको पुरस्कार छनोट समितिका सदस्य ईश्वर कार्कीले जानकारी दिए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment