निर्वाचनमा स्वच्छ र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड

डिसी नेपाल
१६ चैत २०७८ २१:००

खोटाङ । खोटाङका पत्रकारले आसन्न स्थानीय तहको निर्वाचनमा स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ शाखा खोटाङले बुधबार आयोजना गरेको ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारले स्थानीय तहको निर्वाचनमा तटस्थ भूमिका निभाउँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका हुन् ।

जिल्लाका मिडिया सञ्चालक तथा पत्रकारले स्थानीय तहको समाचार सम्प्रेषणका क्रममा आफै नांगिनेगरी ‘पार्टीकारिता’ गर्न नहुने निष्कर्ष निकालेका छन् ।

स्थानीय, प्रदेश र संघको निर्वाचनका बेला पत्रकारले पार्टीको मुखपत्रको रूपमा काम गर्दा भ्रामक समाचार सम्प्रेषण हुनेगरेको अनुभवलाई मध्यनजर गर्दै महासंघले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया गरेको हो । महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले आसन्न निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने सामाजिक उत्तरदायित्व वहन गर्न पत्रकारलाई आग्रह गरेका छन् ।

कुनै न कुनै दलनिकट पत्रकार संगठनमा आबद्ध कतिपय पत्रकार निर्वाचनका बेलामा कार्यकर्ताकै शैलीमा उत्रिने गरेका छन् । एक पार्टीको गुणगान गाउने र अरू दलको सत्तोसराप गर्दै समाचार सम्प्रेषण गर्ने पत्रकारका कारण समग्र पत्रकारप्रतिको विश्वसनीयता घट्दैगएको सहभागीले औंल्याएका छन् ।

अग्रज पत्रकार कृष्ण आचार्यले निर्वाचनका बेला सार्वजनिक रूपमै पत्रकारमाथि टीकाटिप्पणी र आलोचना हुने किसिमले पत्रकारिता नगर्न सुझाव दिएका छन् । निर्वाचनका बेलामा जिल्लाका सञ्चार माध्यमको तटस्थता अनुगमनका लागि संयन्त्र बनाउन पहल गरिने महासंघले जनाएको छ ।

कार्यक्रममा पत्रकार महासंघ शाखाका पूर्वअध्यक्ष डम्बरसिंह राई, निवर्तमान अध्यक्ष दमन राई, प्रेसचौतारीका केन्द्रीय सदस्य हरिबोल आचार्य, प्रेस सेन्टरका पूर्वकेन्द्रीय सदस्य भीम राई, प्रेस युनियनका जिल्ला सभापति उत्तम चौंलागाई, नेपालवाइड डटकमका सम्पादक सूर्य तामाङ लगायतले मर्यादित पत्रकारिताका लागि जोड दिएका छन् ।

कार्यक्रममा महासंघका अध्यक्ष खत्रीले पत्रकार आपतकालिन कोष स्थापना गरिएको, कोभिड–१९ को महामारीका बेलामा पत्रकारलाई एप्रोन तथा स्वास्थ्य सामग्री वितरण, कोभिड संक्रमणमा परेका पत्रकारलाई आर्थिक सहयोग गरिएको जानकारी दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *