युक्रेनले रूसी कैदीहरूलाई गोली हानेको दावी

डिसी नेपाल
१९ चैत २०७८ १३:४७
308
Shares

किभ (बीबीसी) । युक्रेनी अधिकारीहरूले युक्रेनी सैनिकहरूले रुसी युद्धबन्दीहरूको खुट्टामा गोली हानेको देखाएको भनिएको भिडिओमाथि अनुसन्धान गरिरहेका छन्।

मार्च २७, आइतवार बिहान पहिलो पटक सार्वजनिक भएको केही धमिलो भिडिओ सामाजिक सञ्जालमा चर्चामा छ। त्यस समयदेखि उक्त भिडिओलाई विभिन्न माध्यमहरूमा रुस समर्थकहरूको खातामार्फत व्यापक रूपमा साझा गरिएको छ।

युक्रेनी सशस्त्र बलका कमान्डर-इन-चीफ भालेरी जालुज्नीले रुसले रुसी कैदीहरूप्रति युक्रेनले गरेको व्यवहारलाई बदनाम गर्न “नियोजित भिडिओहरू छायाङ्कन र वितरण गरिरहेको” बताए।

यद्यपि, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी एरेस्टोभिचले यस विषयमा थप अनुसन्धान हुने बताए र भने,”म हाम्रा हरेक सेना, नागरिक र सुरक्षा बलहरूलाई युद्धबन्दीहरूलाई दुर्व्यवहार गर्नु युद्ध अपराध हो भन्ने सम्झाउन चाहन्छु।”

बीबीसीले भिडिओको विश्लेषण गरिरहेको छ तर हालसम्म स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। भिडिओको जाँच गर्दा अहिलेसम्म फेला पारेका कुराहरू प्रस्तुत छ:

अत्यधिक ग्राफिक्स प्रयोग गरिएको फूटेजमा कैद गरिएका थुप्रै सिपाहीहरू भुइँमा सुतिरहेको देखाइन्छ। तीमध्ये कसैको टाउकोमा झोला छ र धेरैको खुट्टामा लागेको चोटबाट रगत बगिरहेको देखिन्छ। उनीहरू कहिले र कसरी घाइते भए भन्ने स्पष्ट छैन।

बन्दीहरूलाई गिरफ्तार गर्ने पक्षले उनीहरूको एकाई र क्षेत्रका गतिविधिहरूबारे सोधपुछ गर्छन्।

एउटा बिन्दुमा, तीन जना मानिसहरूलाई गाडीबाट बाहिर निकालिन्छ र एक सिपाहीले उनीहरूको खुट्टामा गोली प्रहार गरेको देखिन्छ।

त्यसपछि ती मानिसहरूसँग सोधपुछ गरिन्छ।

आइतवार साँझसम्म, एक जना ट्विटर प्रयोगकर्ताले, उक्त भिडिओ खार्किभ सहरको दक्षिण पूर्वस्थित मलाया रोहनको दुग्धशाला (डेरी) मा खिचिएको उल्लेख गरेका थिए। बीबीसीले बताइएको स्थान पुष्टि गर्न भूस्थान उपकरणहरू प्रयोग गर्‍यो। उक्त क्षेत्र हालसालै रुसी सेनाबाट युक्रेनी सेनाले पुनः नियन्त्रणमा लिएको थियो।

भूउपग्रहमार्फत खिचिएका र खेतका तस्बिरहरू विश्लेषण गर्दा हामीले भिडिओ खिचिएको स्थानबारे केही सुराकहरू पहिचान गर्न सक्छौँ।

तीन जना सैनिकहरूलाई गोली हान्नु अघि, उनीहरूमध्ये एक जनाको पृष्ठभूमिमा रहेको घरको तत्त्वहरू प्रस्ट देखिन्छ। सेतो संरचना पछाडिको रुख, चिम्नी र झ्यालको माथिल्लो भाग दुग्धशाला परिवेशको अघिल्लो तस्बिरसँग मिल्दोजुल्दो देखिन्छ जुन हामीले फार्मको वेबसाइटमा भेटेका थियौँ।

भिडिओको अर्को खण्डमा, अग्र भूमिमा सिपाहीहरू लडिरहेका छन्। त्यहाँ पनि स्थान सम्बन्धी केही सङ्केत छन्।

सेतो संरचना र चिम्नी, रुख र कालो पर्खाल- यी सबै फार्ममा रहेको खुला ठाउँमा देखिन्छन्।

सार्वजनिक भिडिओमा समय वा मितिको सङ्केत छैन र त्यहाँ कुनै पनि मेटा डेटा उपलब्ध छैन जसले हामीलाई ठ्याक्कै कहिले उक्त भिडिओ खिचियो पत्ता लगाउन मद्दत पुर्‍याउँछ।

तर केही दृश्यहरूमा आकाश सफा र भुईँ सुक्खा देखिएको छ।

खार्किभको मौसम विवरण अनुसार उक्त भिडिओ मार्च २६, शनिवार खिचिएको गरिएको हुनसक्छ।

शुक्रवार र शनिवारको मौसम सुक्खा, घमाइलो तर चिसो थियो। शनिवार र आइतवार बीचको रातमा त्यस क्षेत्रमा हल्का वर्षा भएको विवरण छ।

केही दृश्यमा घामको स्थान हेर्दा उक्त भिडिओ सबेरै खिचिएको हुनसक्ने सम्भावना छ।

कैदी बन्दीहरूलाई रुसी भाषामा प्रश्न सोधिएको छ। बीबीसीको मोनिटरिङ भाषा विज्ञका अनुसार प्रश्न गर्नेहरूको उच्चारण “रुसी भाषा बोल्ने युक्रेनीहरूबाट अपेक्षित कुराहरूसँग मिल्दो छ।”

अर्का विज्ञले रुसी “गोभोरिट” (बोल्नुस्) को साटो “होभोरिट”लाई इङ्गित गर्दै, प्रश्नकर्ताहरूको उच्चारण पूर्वी युक्रेनीहरूको लवजसँग मिल्दो भएको पुष्टि गरे।

एक ठाउँमा बन्दीहरूमध्ये एक जनालाई खार्किभमा गोलाबारी गरेको आरोप लगाइएको छ। अर्कालाई उनको राष्ट्रियताको बारेमा प्रश्न गरिएको छ र जवाफमा ऊनी अजेरी (एक जातीय रुसी) नभएको बताइन्छ।

बन्दीहरूमध्ये एक जनाले आफूलाई बिस्कविट्नेमा राखिएको बताए, जुन ठाउँ मलाया रोहनको एक गाउँ र हामीले पहिचान गरेको डेरी नजिकै रहेको छ।

अपहरणकारीहरूको उच्चारण देशको पूर्वमा रहने युक्रेनीहरूसँग मेल खान्छ। यद्यपि, यसले उनीहरू युक्रेनी सैनिक हुन् भन्ने कुरा पुष्टि गर्दैन। उनीहरू त्यस क्षेत्रका रुस समर्थक पृथकतावादी हुन सक्ने सम्भावना रहन्छ।

उनीहरू युक्रेनी सेनाले पाखुरामा लगाउने निलो रङ्गको पट्टीसहितको बर्दीमा देखिन्छन् तर यो कुनै पनि तरिकाले निर्णायक छैन।

त्यहाँ कुनै ‘रेजिमेन्टल ब्याज’हरू वा परिचयपत्रहरू देखिएका छैनन्। त्यसैले उनीहरूलाई पहिचान गर्न गाह्रो छ।

यद्यपि युक्रेनी सेनाहरू निकटमै थिए।

मार्च २६-२७ को सप्ताहान्तमा एक भिडियो अनलाइनमार्फत साझा गरिएको थियो जसमा दक्षिणपन्थी समूहमा आबद्ध क्राकेन इकाईका सेनाको गतिविधिहरू प्रस्तुत गरिएको थियो। बीबीसीले उक्त भिडिओमा देखाइएको स्थान मलाया रोहनबाट ५.६ किलोमिटर टाढा रहेको भिल्खिभका गाउँ हो भन्ने यकिन गरेको छ। दुवै ठाउँको मौसम घमाइलो र सुक्खा छ।

समूहले ३० जना रुसीहरूलाई मार्च २५ मा गाउँमा बन्दी बनाएको र भिडियोमा युद्ध बन्दीहरू बाँधिएको, आँखामा पट्टी लगाइएको र एक दृश्यमा गाडीभित्र जबरजस्ती राखिएको र अर्कोमा युक्रेनी राष्ट्रिय गान गाउन बाध्य पारिएको फुटेज रहेको बताएको छ। तर उनीहरूमाथि गोली प्रहार वा गम्भीर प्रकृतिको हिंसा भएको छैन।

डेरीमा भएको आरोपित गोलाबारीको भिडियोमा, एक सिपाही विशिष्ट किसिमको छद्म राइफल बोकेर हिँडिरहेको देखिन्छन्।

हामीले रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्यूट (आरयूएसआइ) का सैन्य विशेषज्ञ निक रेनोल्ड्सलाई भिडिओको त्यस अंश जाँच गर्न आग्रह गर्‍यौँ।

“यो युक्रेनी विशेष बलहरूले आक्रमण गर्दा प्रयोग गर्ने राइफलहरू जस्तै देखिन्छ,” उनले भने, “तर उक्त हतियार अन्य भन्दा फरक देखिन्छ।”

दुवै पक्षले एक अर्काबाट हतियार बरामद गरेकाले भिडिओमा देखिएको बन्दुकबारे यकिन हुन गाह्रो भएको उनले बताए।

भिडिओको सर्वाधिक भयावह अंशमा, तीन जना पुरुषहरूलाई आक्रमणकारी हतियारले खुट्टामा गोली प्रहार गरेको देखिन्छ।

सामाजिक सञ्जालमा उक्त दृश्य यथार्थ हो या नाटकीय भन्ने विषयमा बहस भइरहेको छ। केही मानिसले घटनास्थलमा पर्याप्त रगत नभएको, घाउहरू नदेखिएको वा पीडितहरूले सहयोगको याचना नगरेको दाबी गरिरहेका छन्।

हामीले थुप्रै शल्य चिकित्सक र पूर्व सैन्य डाक्टरहरूसँग कुरा गर्‍यो जसले हामीलाई उनीहरूको राय दिए तर नाम खुलाउन तयार भएनन्।

तीमध्ये एक जनाले आफूले बन्दुकको गोली लागेर घाइते हुँदा पनि नचिच्याएका सिपाहीहरूको उपचार गरेको र उनीहरूको रगत कम बग्नुको कारण भिडिओमा देखिएजस्तै ‘टोर्निके’ (रगत बग्दा बाँधिने डोरी) लगाउनु भएको बताए।

उनले भने: “फुटेजलाई देखिएका दृश्यकै आधारमा ‘नक्कली’ भन्न सकिँदैन। यसका लागि युद्ध अपराध सम्बन्धी अनुसन्धान आवश्यक छ।”

अर्का चिकित्सकले भने: “भिडिओ यथार्थपरक देखिन्छ। यो खुट्टामा गोली प्रहार भएको सजायका विवरणहरूसँग मिल्दो छ।।”

सामाजिक सञ्जालमा केही मानिसहरूले गोली प्रहारपश्चात् उक्त राइफल पछाडि नधकेलिएको इङ्गित गरेका छन्। उनीहरूले उक्त बन्दुक गोलीविना चलाएको दाबी गरेका हुन्।

रेनोल्ड्सका अनुसार एके-४७, ५.४५ एमएम आकारको गोली अट्ने सानो क्यालिबर हो जुन गोली चलाउँदा थोरै मात्र पछाडि धकेलिन्छ। उनले “भिडियोको गुणस्तर राम्रो नभएकाले” आफू प्रस्ट हुन नसकेको समेत बताए।

बीबीसीले उक्त भिडिओ प्रमाणित गर्न प्रयास जारी राखेको छ र थप प्रमाणहरू भेटिए यस सामग्री अद्यावधिक गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *