पाकिस्तानी सेनासँग कुनै समस्या छैन, अमेरिकाले विपक्षीसँग मिलेर षड्यन्त्र गर्‍यो : इमरान खान

डिसी नेपाल
२० चैत २०७८ ११:१५
100
Shares

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा अप्रिल ३ अर्थात आज आइतबार मतदान हुँदैछ । यसअघि २ अप्रिलमा इमरान खानले फेरि जनतालाई सम्बोधन गर्दै जनताका प्रश्नको जवाफ दिएका थिए । यस क्रममा इमरान खानले विपक्षीसँग मिलेर आफूविरुद्ध विदेशबाट षड्यन्त्र रचिएको प्रमाणित भएको बताए ।

राष्ट्रिय सुरक्षा समिति र मन्त्रिपरिषद्ले उक्त दस्तावेज हेरेको उनले बताए । इमरान खानले भने, “म तपाईलाई भन्दैछु कि यो आधिकारिक दस्तावेज हो । यदि तपाईले इमरान खानलाई हटाउनुभयो भने, अमेरिकाको सम्बन्ध तपाई भन्दा राम्रो हुनेछ। तपाईले इमरान खानलाई हटाउने बित्तिकै हामी तपाईलाई माफ गर्नेछौं।”

यस क्रममा शाहबाज शरीफलाई निशाना बनाउँदै उनले यस षड्यन्त्रमा उनको संलग्नता रहेको र शाहबाज अमेरिकाको गुलामीका लागि तयार रहेको बताए । आफ्नो सम्बोधनमा इमरान खानले सम्पूर्ण देशवासी, विशेष गरी युवाहरुलाई शान्तिपूर्ण प्रदर्शन गर्न र सडकमा आउन अपिल गरेका छन् । विपक्षीले देशलाई धोका दिएको भन्दै उनीहरुको विरुद्धमा पुरै पाकिस्तान सडकमा उत्रिएर प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, “षडयन्त्र प्रमाणित भइसकेको छ। राजनीतिज्ञहरू बोकाझैँ लिलामी भइरहेका छन्, किनिने गरेका छन्। बाहिर षड्यन्त्र भइरहेको छ। सिंगो समाज र विशेषगरी युवाहरूले निर्णय गर्नुपर्छ। चुपचाप बस्यौँ भने, खराबको साथ दिएको हुनेछ। यो षड्यन्त्रको विरुद्धमा सबैले आवाज उठाउनु हुनेछ।”

प्रधानमन्त्री इमरान खानले यदि यो षड्यन्त्र सफल भयो भने भविष्यमा कुनै पनि प्रधानमन्त्री कुनै पनि देशलाई मन नपरे पैसा प्रयोग गरेर हटाइने बताएका छन् । पाकिस्तानी जनताले यसको विरोध गर्नुपर्ने उनको भनाइ छ । सम्बोधनपछि इमरान खानले जनताका प्रश्नको जवाफ दिए । एक प्रश्नको जवाफ दिँदै इमरान खानले पाकिस्तान सरकारलाई ध्वस्त पार्ने षड्यन्त्र गर्नेहरू विरुद्ध देशद्रोहको मुद्दा दायर गर्ने बताए।

इमरानले देशद्रोहको मुद्दाका लागि वकिलको सल्लाह लिएको बताए । उनले भने, “यी मानिसहरूले हाम्रो देशलाई जुन धोका दिएका छन्, यसलाई कुनै पनि हालतमा माफ गर्न सकिँदैन। हामी सबैलाई कारबाही गर्छौं, हामीले कानून पनि हेर्नुपर्छ, त्यसैले म रातीसम्म वकिलहरूसँग छलफल गर्छु। उनीहरू विरुद्ध कस्तो कानुनी कारबाही गर्ने हो म निर्णय गर्नेछु।

सेनासँग सम्बन्धित एक प्रश्नमा इमरान खानले अहिले पाकिस्तानलाई सेना र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीले एकजुट राखेको बताउँदै पाकिस्तानलाई बलियो सेनाको आवश्यकता रहेको बताए । उनले भने, ‘सेनालाई नराम्रो भन्नेले पाकिस्तानलाई नराम्रो गर्दैछन्, सेनालाई होइन । हामीले सेनालाई हानि हुने कुनै पनि काम गर्नु हुँदैन।

इमरान खानले सेनाको तटस्थ रहने निर्णयलाई सम्मान गर्ने र सेनासँग कुनै पनि प्रकारको समस्या नरहेको बताए । इमरान खानलाई सोधिएको थियो कि विपक्षीले पहिलो दिनदेखि नै तपाईले अर्थतन्त्र राम्ररी चलाउन नसकेकोले अविश्वासको प्रस्ताव ल्याएको भनेका थिए । जवाफमा इमरान खानले अर्थतन्त्रका विज्ञहरूले बसेर साढे तीन वर्षमा आफ्नो पार्टीले के गर्‍यो र पछिल्ला केही वर्षमा अन्य दलहरूले के गरे हेर्नु पर्ने बताएका छन् ।

एकातिर इमरान खानले खुलेर अमेरिकालाई दोष दिइरहेका छन् । अर्कोतर्फ, पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाले शनिबार भनेका छन् कि पाकिस्तानको चीन र अमेरिकासँग उत्कृष्ट रणनीतिक सम्बन्ध छ र पाकिस्तान यी दुई देशसँगको सम्बन्ध बिग्रिन नदिई यसलाई अझ विस्तार गर्न चाहन्छ।

इस्लामाबादमा शनिबार भएको सुरक्षा वार्ताको दोस्रो दिनमा बाजवाले पाकिस्तानले क्याम्प राजनीतिमा विश्वास नगर्ने बताए। जनरल बाजवाले पाकिस्तानले कुनै एक देशसँगको सम्बन्ध बिग्रिन नदिई दुवै देशसँगको सम्बन्ध विस्तार गर्न चाहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *