संसद भंग गर्ने सिफारिस पाकिस्तानी राष्ट्रपतिद्वारा सदर, प्रधानमन्त्रीको निर्णयबारे जनता के भन्छन् ?
काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई स्वीकार गर्दै राष्ट्रपति डा. आरिफ अल्वीले नेशनल एसेम्बली भंग गरेका छन् । आइतबार इमरान खानले आकस्मिक कदम चाल्दै राष्ट्रपतिलाई संसद भंग गर्न सिफारिस गरेका थिए ।
पाकिस्तानका राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वीले नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफरिसलाई अनुमोदन गर्नुभएको छ । यो पाकिस्तानको संविधानको धारा ५८(१) र ४८ (१) अनुसार गरिएको छ।’
आज अर्थात आइतवार ३ अप्रिलमा इमरान खान सरकार विरुद्ध विपक्षी दलको अविश्वास प्रस्तावमा मतदान हुँदै थियो । तर पाकिस्तानको नेशनल एसेम्बलीका उपसभामुख कासिम सुरीले इमरान खानविरुद्धको अविश्वास प्रस्ताव असंवैधानिक भन्दै अस्वीकृत गरिदिए । उनले अविश्वासको प्रस्तावलाई असंवैधानिक भनेका छन् । इमरान खानसँग सरकार बचाउने बहुमत थिएन। उनको पार्टी तहरीक–ए–इन्साफका धेरै सांसद पनि विपक्षी क्याम्पमा गएका थिए ।
३४२ सिट भएको नेशनल एसेम्बलीमा इमरान खानका १ सय ५५ सांसद थिए । तर, इमरान खानसँग अहिलेसम्म १ सय ५५ सांसद पनि नभएको बताइएको छ । सहयोगीहरूले पहिले नै साथ छाडेका थिए। विपक्षीहरु संख्यामा अगाडि थिए र अविश्वासको मत आयो भने इमरान खानलाई हार्ने डर थियो ।
इमरान खान अहिले संसद भंग गरेर फेरि चुनावमा जाने तयारीमा छन् । पाकिस्तानी मिडियाको रिपोर्ट अनुसार पाकिस्तानमा ९० दिनभित्र नयाँ निर्वाचन हुनेछ । पाकिस्तानको नेशनल एसेम्बलीका उपसभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गरेपछि इमरान खानले खुलेर स्वागत गरेका थिए ।
देशलाई छोटकरीमा सम्बोधन गर्दै उनले भने, ‘अविश्वासको प्रस्तावलाई सभामुखले खारेज गरेकोमा म सम्पूर्ण समुदायलाई बधाई दिन्छु। पाकिस्तानमा सरकार परिवर्तन गर्ने बाह्य एजेन्डा थियो। यो देशद्रोह भइरहेको देखेर जनता आक्रोशित थिए। जनताले यस्तो षड्यन्त्रलाई सफल हुन नदिनुहोस्, संवैधानिक अधिकार प्रयोग गरेर सभामुखले गरेको निर्णय स्वागतयोग्य छ। मैले संसद विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छु, हामी जनतामाझ जानेछौं र त्यो निर्णय सर्वमान्य हुनेछ ।’
इमरान खानले अगाडि भने, ‘जनताले चुनावको लागि तयारी गर्नुपर्छ। चुनावको प्रक्रिया जुनसुकै होस्, त्यो अब सुरु हुन्छ। पाकिस्तानले आज एउटा षड्यन्त्रलाई असफल बनायो।’
पाकिस्तानका धेरै जनताले इमरान खानको यो निर्णयलाई संविधानको उल्लंघन भनेका छन् । प्रख्यात पाकिस्तानी पत्रकार हमिद मिरले ट्वीट गर्दै भने, ‘नेशनल एसेम्बलीका उपसभामुख कासिम सुरीले संविधानको धारा ५ अन्तर्गत अविश्वासको प्रस्ताव खारेज गरेका छन्। त्यसपछि इमरान खानले नेशनल एसेम्बली भंग गर्ने घोषणा गरेका छन्। यी सबै निर्णयहरू संविधानको उल्लंघन हुन्। पीटीआईले पाकिस्तानलाई संवैधानिक संकटमा धकेलेको छ। यो पाकिस्तानको संविधानसँग गद्दारी हो ।’
इमरान खानले अविश्वासको प्रस्तावलाई लिएर राजीनामा नदिने तर अन्तिम बलसम्म लड्ने बताएका थिए । इमरान खान राजनीतिमा आउनु भन्दा पहिले एक प्रसिद्ध क्रिकेटर थिए र पाकिस्तान क्रिकेट टीमको कप्तान पनि थिए। इमरान खानले अन्तिम बलसम्म लडेको टिप्पणीमा हमिद मिरले खिल्ली उडाउँदै लेखेका छन्, ‘अन्तिम बलसम्म लड्नुको सट्टा इमरान खान विकेट लिएर मैदानबाट भागे ।’
हमिद मीरले आफ्नो अर्को ट्वीटमा लेखेका छन्, ‘पाकिस्तान सुप्रीम कोर्ट बार एसोसिएसनका अध्यक्ष अहसान भुनले सभामुख र प्रधानमन्त्रीले संविधानको उल्लंघन गरेको कुरा एकदमै सही भन्नु भएको छ। सर्वोच्च अदालतले यस विषयमा अगाडि आउनु पर्छ र पाकिस्तानलाई संकटबाट बचाउनुपर्छ। हामी लोकतन्त्र चाहन्छौं, मार्शल ल होइन।’
भारतका लागि पाकिस्तानका उच्चायुक्त अब्दुल बासितले ट्वीट गर्दै भने, ‘स्थिति राम्रो छैन। यद्यपि चुनाव सम्भवतः सही तरिका हो। सबै राजनीतिक दलहरूले यो माग गरिरहेका थिए।’
अर्कोतर्फ, जियो न्यूजका पत्रकार मुर्तजा अली शाहले भिडियो क्लिप ट्वीट गर्दै लेखेका छन्, ‘पाकिस्तानका डेपुटी महान्यायाधिवक्ता राजा खालिदले राजिनामा दिँदै भनेका छन्, ‘इमरान खान सरकारले पाकिस्तानको संविधानसँग छेडछाड गरेको छ। इमरान खानले जे गरे त्यो कुनै तानाशाहले गरेका थिएनन्। जे भयो त्यो अवैध र असंवैधानिक हो।’ आफ्नो अर्को ट्वीटमा मोर्तजाले लेखेका छन्, ‘नेशनल एसेम्बली विघटनपछि पाकिस्तानका प्रधानन्यायाधीशले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई आफ्नो निवासमा बोलाएका छन् ।’
मोहम्मद अली जिन्नाको विषयमा किताब लेख्ने लेखक यासिर लतिफ हमदानीले ट्वीट गरेका छन्, “यो संविधानको विरुद्धमा भएको कूभन्दा कम होइन। मुशर्रफको विपरीत, इमरान खान एक नागरिक हुन्। मलाई उनको भविष्यको डर छ।’
पाकिस्तानका प्रसिद्ध पत्रकार सैयद तलत हुसैनले लेखेका छन्, ‘पाकिस्तान एक आणविक शक्ति सम्पन्न राष्ट्र हो। इमरान खानले एक कार्यकारी अधिकार विघटन गरेर सम्पूर्ण प्रणालीलाई पक्षाघातग्रस्त बनाएका छन्। केन्द्रमा अहिले कोही प्रमुख कार्यकारी छैनन् र भए पनि यो विवादित छ। पञ्जाबमा मन्त्रिमण्डल छैन र मुख्यमन्त्री पनि छैन, एक व्यक्तिले पुरै देशलाई अपहरण गरेको छ ।’
पाकिस्तानी नयाँ दौर मिडियाका कार्यकारी सम्पादक मुर्तजा सोलांगीले लेखेका छन्, ‘विपक्षीहरूले संख्यात्मक बलको आधारमा इमरान खानलाई सत्ताबाट हटाउन खोजेका थिए। इमरान खानका विद्रोही सांसदको पनि आवश्यकता पर्ने थिएन । तर पाकिस्तानी ट्रम्पले आफ्नो अबुझ ट्रम्प कार्ड छोडिदिएका छन् । अल्लाह बचाऊ इमरान खानले देशलाई धोका दिएका छन्, यो व्यक्ति वास्तविक देशद्रोही हो।’
तर, इमरान खानको निर्णयको सबैले विरोध गरिरहेका छन् भन्ने होइन । जनताले पनि इमरान खानको निर्णयलाई समर्थन गरिरहेका छन् । पाकिस्तानी क्रिकेट टोलीका पूर्व प्रशिक्षक तथा कप्तान वकार युनिसले लेखेका छन्, “कप्तान सधैं तपाईमा गर्व छ । कस्तो मास्टरस्ट्रोक।’ यसका साथै इमरान खानको पार्टीका नेताहरूले पनि यो निर्णयलाई समर्थन गरिरहेका छन् ।
पाकिस्तान मुस्लिम लिग नवाजकी नेतृ र पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजले ट्वीट गरेकी छन्, ‘कसैलाई पनि पाकिस्तानको संविधानसँग छेडछाड गर्ने अनुमति दिनु हुँदैन। यदि यो स्वार्थी व्यक्तिलाई सजाय दिइएन भने यहाँ कानुनको राज रहने छैन ।’







डिसी नेपाल







Facebook Comment