श्रीलंकामा केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिए, राष्ट्रपतिद्वारा विपक्षीलाई सरकारमा आउन निम्तो
काठमाडौं । श्रीलंकामा जारी आर्थिक संकटका बीच देशका राष्ट्रपति गोटाबाया राजापाक्षेले देशको सबैभन्दा खराब आर्थिक संकटको समाधान खोज्न देशका सबै राजनीतिक दललाई सरकारमा सहभागी हुन आमन्त्रण गरेका छन् ।
उनले यस संकटको समाधान खोज्न सबै राजनीतिक दललाई एकजुट भएर लाग्न आग्रह गरेका छन् । यसअघि श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर अजित निभार्ड काब्रालले राष्ट्रपति गोटाबाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका थिए ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘देशका सबै क्याबिनेट मन्त्रीहरुको राजीनामालाई ध्यानमा राख्दै मैले पनि गभर्नर पदबाट राष्ट्रपति गोटाबाया राजापाक्षेलाई राजीनामा दिएको छु ।’ आइतबार अबेर राति श्रीलंकाका सबै २६ मन्त्रीहरूले तत्काल प्रभावबाट राजीनामा दिएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै देशका शिक्षामन्त्री तथा संसदीय दलका नेता दिनेश गुणवर्द्धनाले प्रधानमन्त्री महिन्दा राजापाक्षेसमक्ष मन्त्रिपरिषद्का मन्त्रीहरुले राजीनामा बुझाएको जानकारी दिए । तर उनले यो सामूहिक राजीनामाको कुनै कारण भने खुलाएनन् ।
राजनीतिक विश्लेषकहरूले मुलुकमा देखिएको आर्थिक संकटसँग जुध्ने सरकारको ‘पद्धति’लाई लिएर मन्त्रीहरूमाथि ठूलो जनदबाब रहेको बताएका छन् । मार्च ३१ मा आक्रोशित प्रदर्शनकारीहरूले गोटाबाया राजापाक्षेको निजी निवासलाई घेरा हालेर बस र सरकारी गाडीमा आगजनी गरेका थिए। त्यसपछि सरकारले देशमा संकटकाल घोषणा गरेको थियो ।







डिसी नेपाल







Facebook Comment