पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीका लागि पूर्व प्रधानन्यायाधीशको नाम सिफारिस
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कार्यवाहक प्रधानमन्त्रीका लागि पाकिस्तानका पूर्व प्रधानन्यायाधीशको नाम राष्ट्रपतिसमक्ष पठाएका छन् । यो जानकारी इमरान खान सरकारका सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीले दिएका हुन् ।
उनले ट्वीट गर्दै राष्ट्रपति आरिफ अल्वीको पत्रको जवाफमा इमरानले पूर्व प्रधानन्यायाधीश गुलजार अहमदको नाम पठाएको लेखेका छन् । पीटीआई (पाकिस्तान तहरीक ए इन्साफ) को कोर कमिटी बैठकमा पूर्व प्रधानन्यायाधीशको नाम तय भएको उनले बताए।
यसअघि पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खान र संसदका विपक्षी नेता शाहबाज सरिफसँग कार्यवाहक प्रधानमन्त्रीका लागि सहमति भएको नाम मागेका थिए। रेडियो पाकिस्तानका अनुसार राष्ट्रपति आरिफ अल्वीले इमरान खान र शाहबाज सरिफलाई पत्र लेखेका छन् ।
राष्ट्रपति अल्वीले इमरान खान र शाहबाज सरिफसँगको परामर्शमा कार्यवाहक प्रधानमन्त्री नियुक्त गर्नेछन्। संसद विघटन भएको तीन दिनभित्र प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच कुनै पनि नाममा सहमति नभए दुई जनाको नाम संसदीय समितिमा पठाउने समेत पत्रमा लेखिएको छ ।
यस समितिमा सत्तापक्ष र प्रतिपक्षबाट समान संख्यामा आठ सदस्य रहनेछन् । यही समितिले कार्यवाहक प्रधानमन्त्रीको नाम तय गर्नेछ ।







डिसी नेपाल







Facebook Comment