भारतलाई अमेरिकाको धम्की !

डिसी नेपाल
२४ चैत २०७८ ११:५९
3.5k
Shares

काठमाडौं । रुसप्रति भारतको अडानबाट अमेरिका निराश भएको छ । बारम्बार दबाबका बाबजुद पनि भारतले रुसप्रति आफ्नो तटस्थ अडान परिवर्तन नगरेपछि अमेरिका अहिले धम्कीमा उत्रिएको छ । अमेरिकाले भारतले रुससँग गठबन्धन गरे ठूलो मूल्य चुकाउनु पर्ने बताएको छ ।

ब्लुमबर्गको रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनका शीर्ष आर्थिक सल्लाहकार (ह्वाइट हाउस नेशनल इकोनोमिक काउन्सिलका निर्देशक) ब्रायन डीजले अमेरिकी प्रशासनले भारतलाई रुससँग गठबन्धन नगर्न चेतावनी दिएको बताएका छन्। उनले युक्रेन र रुस युद्धमा भारतको केही प्रतिक्रियाबाट अमेरिका निराश भएको बताए ।

अन्तर्राष्ट्रिय समाचार वेबसाइट क्रिस्चियन साइन्स मनिटरले बुधबार आयोजना गरेको एक कार्यक्रममा उनले पत्रकारहरुलाई भने, ‘युद्धको सन्दर्भमा यस्ता धेरै मौकाहरूमा चीन र भारत दुवैका निर्णयबाट हामी निराश भएका छौं ।’ उनले अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीलाई अझ बढाएमा भारतले यसको दीर्घकालीन परिणाम भोग्नुपर्ने बताएको बताए ।

युक्रेनमा रुसको आक्रमणलाई लिएर अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र जापानले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । भारतले भने रुसी आक्रमणको आलोचना समेत गरेको छैन । भारतले संयुक्त राष्ट्रसंघमा रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावमा मतदानबाट पनि आफूलाई टाढा राखेको छ ।

भारतले लगातार हिंसाको अन्त्य हुनैपर्ने र दुवै पक्षले कूटनीतिक तवरले मतभेद समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ। भारतले युक्रेनमा मानवीय सहायता पनि पठाएको छ । योसँगै रुसले भारतलाई सहुलियत दरमा इन्धन तेल उपलब्ध गराउने प्रस्ताव गरेको छ, जुन भारत लिन तयार छ । भारतले पनि पहिले जस्तै रुसबाट तेल आयात गर्ने क्रम जारी राखेको छ ।

पछिल्ला केही दशकहरूमा भारत र अमेरिका निकै नजिक आएका छन् र दुई देशबीचको रणनीतिक र सामरिक सम्बन्ध पनि निकै सुदृढ भएको छ । चीनको आक्रामकताविरुद्ध अमेरिकाले भारतको साथ रहेको देखाएको छ र पटकपटक भारतको पक्षमा बयान दिएको छ ।

चीनको प्रभावलाई रोक्न भारतलाई पनि अमेरिकाको सहयोग चाहिन्छ, तर रुस–युक्रेन युद्धमा भारतको निष्पक्ष र स्वतन्त्र अडानका कारण अमेरिका भारतसँग निकै रिसाएको छ । अमेरिकाले भारतसँग हरेक तहमा वार्ता गरेर आफ्नो अडान परिवर्तन गर्ने प्रयास गरेको छ । धेरै अमेरिकी अधिकारीहरू पनि भारत आएका छन् तर यी सबैले अहिलेसम्म कुनै काम गरेको छैन।

गत हप्ता अमेरिकाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले पनि भारत भ्रमण गरेका थिए । भारत भ्रमणका क्रममा दलीपले भारतलाई रुससँग सम्बन्ध नराख्न आग्रह समेत गरेका थिए ।

उनको भ्रमणका सम्बन्धमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले भर्खरै भनेकी थिइन् “आफ्नो भ्रमणको क्रममा दलीपले आफ्ना भारतीय समकक्षहरूलाई स्पष्ट गरे कि हामी रुसी ऊर्जा र अन्य सामानको आयात बढाउन भारतको हितमा छैन भन्ने मान्छौं । भारतको विदेश मन्त्रालयले अमेरिकाबाट आएका यी टिप्पणीहरूमा कुनै प्रतिक्रिया दिएको छैन।

एक अमेरिकी अधिकारीले बुधवार रुस विरुद्ध नयाँ प्रतिबन्धको बारेमा आफ्नो नाम नछाप्ने सर्तमा पत्रकारहरूसँग कुरा गरे। उनले अमेरिका र बाँकी जी–७ देशले भारतसँगको सहकार्यलाई निरन्तरता दिने र यसका लागि सक्दो प्रयास जारी राख्ने बताए । अधिकारीले भने कि भारत र अमेरिका खाद्य सुरक्षा र विश्वव्यापी ऊर्जामा ठूलो सहयोगी हुन्।

अमेरिकाले भारतलाई रुससँगको सम्बन्धलाई प्रगाढ नबनाउन र आफ्नो तेल र रक्षा हतियारमाथिको निर्भरता अन्त्य गर्न भनिरहेको छ । त्यसको बदलामा उसले भारतलाई हतियार र तेल दिने बताएको छ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको यो प्रस्तावको विरोध गरेका छन् । उनले पाकिस्तान र चीनसँग लड्न भारतलाई रुसी हतियार चाहिने र हतियार दिन तयार अन्य देशहरुका हतियार निकै महँगो परेको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *