पोखरा महानगरमा नेकपा एसको दावीः मेयर नछोड्ने कांग्रेसको बटम लाइन

सम्भव सिंह ठकुरी
२५ चैत २०७८ १२:२४

काठमाडौं। स्थानीय तहको मिति नजिकिँदै गर्दा कास्कीको पोखरा महानगरपालिकामा राजनीतिक दलहरुले चुनावी गतिविधिलाई तीब्र पारेका छन्।

महानगरको ३३ वटै वडामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी नेपाल (जसपा) लगाएतका दलहरुले चुनावी प्रचारप्रसार तथा घरदेलो कार्यक्रमलाई तीब्रता दिएका छन्।

सत्तारुढ गठबन्धन एमालेको ‘गढ’ मानिएको महानगरको नेतृत्व आफ्नो पक्षमा ल्याउने प्रयासमा छ। गठबन्धनको पाँच दल एकातिर र एमाले एक्लै अर्को तिर बनाएर एमालेलाई धक्का दिने रणनीतिका साथ गठबन्धन चुनावी मैदानमा उत्रिएका छन्।

तर महानगरको नेतृत्व कसले लिने भन्ने विषय अझै अनिर्णित छ। पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट कांग्रेस र एकीकृत समाजवादीले मुख्य दावी गरेका छन्। एकीकृत समाजवादीले देशभरको महानगरमध्ये पोखरालाई पहिलेदेखि महत्वका साथ लिएको छ।

एमाले विभाजनको असर तुलनात्मक रुपमा गण्डकी प्रदेशमा कम असर देखिन्छ। त्यसैले एकीकृत समाजवादी गठबन्धनको सहयताले एमाले कमजोर बनाउने रणनीतिमा देखिएको छ।

देशका ६ वटा महानगरपालिकामध्ये एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेको छ।
पोखराको मेयरमा एकीकृत समाजवादीले दाबी गरेपनि कांग्रेसले कुनै पनि हालतमा मेयर नछोड्ने अडान लिएको छ।

प्रधानमन्त्री शेरबहादुर निकट स्रोतका अनुसार एकीकृत समाजवादीलाई कास्कीका अन्य स्थानीय तहको नेतृत्व दिन तयार भएपनि महानगरको नेतृत्व दिने पक्षमा प्रधानमन्त्री देउवा छैनन्।

एमाले विभाजनको असर पोखरामा नदेखिएका कारण पनि कांग्रेसले महानगरको नेतृत्व नदिने पक्षमा पोखरेली कांग्रेस र प्रधानमन्त्री स्वमं लागि परेको स्रोतले जनाएको छ।

‘पार्टी विभाजन गरेर कांग्रेसको सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। तर प्रयाप्त जनाधार बिना पार्टी विभाजन भएकाले माधव नेपालको पार्टीलाई महानगरको नेतृत्व दिन सकिन्न। तर उहाँहरुलाई सम्मान जनक रुपमा अन्य स्थानीय तहहरुमा सघाउने छौँ,’ स्रोतले भन्यो।

यसरी कांग्रेस र एकीकृत समाजवादीबीच आजसम्म तालमेलमा कुरा नमिल्दा पोखराको चुनावी गठबन्धन अन्यौल र पेचिलो बनेको छ।
अघिल्लो निर्वाचनको परिणाम हेर्दा महानगरको नगर प्रमुखसहित ३३ वटा वडा रहेको महानगरमा २२ वटा एमालेले र कांग्रेसले ११ वटामा जितेको छ।

अहिले एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीले कुनै पनि वडाध्यक्ष आफ्नो पक्षमा ल्याउन सकेको छैन। तर एकीकृत समाजवादीले महागरमा आफ्नो ५ हजारभन्दा धेरै मत रहेको दावी गरिरहेको छ। र त्यो मत नै महानगरको निर्णायक मत हुने उनीहरुको तर्क रहेको छ। तर पोखराका स्वतन्त्र विश्लेषक र कांग्रेस, माओवादीका नेताहरु भने एसको ३ हजार भन्दा धेरै मत नरहेको दावी गर्दै आएका छन्।

यसरी गठबन्धनमा रहेको कांग्रेस र एकीकृत समाजवादीसँगै महानगरमा माओवादीले पनि आफ्नो दावी कायमै राखेको छ। तर माओवादीले अन्य महानगरभन्दा यो महानगरलाई आफ्नो दावी कम गरेको स्रोतले बताएको छ। त्यसैले कांग्रेस माओवादीलाई उपमेयर दिएर आफू मेयर लिने पक्षमा रहेको स्रोतले जानकारी दिएको छ।

कांग्रेसबाट क–कसको चर्चा ?

कांग्रेसबाट गण्डकी प्रदेशका बहालवाला कानुनमन्त्री विन्दुकुमार थापा, जिल्ला सभापति किशेरदत्त बराल, बावुराम आचार्य, विश्वशंकर पालिखे, पूर्वमन्त्री यज्ञबहादुर थापा, सरस्वती गुरुङ लगाएत दर्जनौं नेताहरु मेयरको दौडमा छन्।

यी आकांक्षी मध्ये सबैभन्दा बलियो आकांक्षी कानुनमन्त्री थापा हुन्। स्रोतका अनुसार प्रधानमन्त्री देउवा उनीप्रति सकारात्मक देखिएका छन्।

माओवादीबाट क-कसको चर्चा ?

पोखराका एक माओवादी नेताका अनुसार बखानसिंह तमु, विश्वप्रकाश लामिछाने र हरिनारायण गिरी (विज्ञान) लगाएतका नाम चर्चामा रहेको छ।

एकीकृत समाजवादीले पार्टीका कास्की अध्यक्ष धनराज आचार्यलाई गठबन्धनको तर्फबाट महानगरको उम्मेदवारी बनाउनुपर्ने दाबी गर्दै आएको छ।

२०७४ सालको स्थानीय तहको मतरिणामः
नगप्रमुख
मानबहादुर जिसी– नेकपा एमाले :  ६०११८(विजयी)
रामजी कुँवर– नेपाली कांग्रेस : ४६४१६
हुमबहादुर गुरुङ– तत्कालिन (संघीय समाजवादी फोरम) :  ३१७०
गीता गुरुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : २२७२

उपप्रमुख
मञ्जुदेवी गुरुङ– नेकपा एमाले : ५६४४८(विजयी)
सरस्वती गुरुङ– नेपाली कांग्रेस :  ४४३३८
गोमा ढकाल– नेकपा माओवादी केन्द्र :  ८७९६
रमेश बहादुर खत्री–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) : २८४०

कमजोर छैन एमाले

यसरी २०७४ सालको निर्वाचनको मत परिणाम हेर्दा सत्ता गठबन्धनका सबै दल एकातिर हुँदा पनि एमाले नै पहिलो शक्ति देखिन्छ।
एमालेबाट निर्वाचित महानगर प्रमुख मानबहादुर जिसीले ६० हजार ११८ मत प्राप्त गर्दा मुख्य प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। यी दुई उम्मेदवारबीचको अन्तर भनेको १३ हजार ७ सय २ रहेको छ।

सो निर्वाचनमा पनि कांग्रेस र माओवादीले तालमेल नै गरेका थिए। नगरप्रमुखमा कांग्रेसलाई सघाएको माओवादी केन्द्रले उपमेयरमा भने उम्मेदवारी दिएको थियो।उपप्रमुखमा माओवादीले ८ हजार ९ सय ९६ मत प्राप्त गरेको थियो।

त्यसैले अघिल्लो निर्वाचनको मतपरिमाणलाई आधारमान्दा यो पटक पनि गठबन्धनले १४ हजार बढी मत थप्नु पर्दछ। तर एमाले विभाजनको ठूलो असर नदेखिएपनि मत विभाजन गर्न र उम्मेदवार हराउन सामान्य मत पनि निर्णायक हुने भएकाले निर्वाचनको परिणाम नआएसम्म यसै अनुमान गर्न सकिन्न ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *