२४ घण्टामै राजीनामा घोषणा गरेका श्रीलङ्काका अर्थमन्त्रीले पदलाई निरन्तरता दिने
कोलम्बो । यसै हप्ताको शुरुमा नयाँ वित्त मन्त्री नियुक्त पाई २४ घण्टामा राजिनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका छन् ।
उनलाई गत सोमबार राष्ट्रपति राजपाक्षले अर्थमन्त्री नियुक्त गरेका थिए भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेश गरेका थिए । राष्ट्रपतिबाट उनको राजिनामा स्वीकृत भएको थिएन ।
उनले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
अरु कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति गोटाबाया राजपाक्षले सबारीको राजिनामा स्वीकृत गर्न नमानेपछि उनले वित्त मन्त्रीका रुपमा निरन्तरता दिने बताएका हुन् ।
सबारीले भने, “जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।”
श्रीलङ्कामा आर्थिक संकट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ ।
पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध
यसैबीच आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलङ्काको एउटा अदालतले हालै राजीनामा दिएको केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ ।
कोलम्बोस्थित एक अदालतले सोमबार राजिनामा गरेका अजिथ काबराललाई उनी विरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ । अधिकारवादीले उनीविरुद्ध निवेदन दर्ता गरेपछि देश छोड्न नदिन अधिकारीहरूलाई आग्रह गरिएका हो ।
राष्ट्रपति गोटाबाया राजपाक्षद्वारा बैंकको नेतृत्व गर्न चुनिएका काबराल श्रीलंकाको तीव्र विदेशी मुद्रा अभाव र अन्य वित्तीय संकटका लागि जिम्मेवार भएको अधिकारकर्मी कीर्ति टेनाकुनले तर्क गरे ।
टेनाकुनले सन् २००६ देखि २०१५ को बीचमा यस संस्थाको नेतृत्व गर्दा पूर्व बैंक प्रमुख पनि ‘इनसाइडर ट्रेडिङ’का लागि जिम्मेवार भएको कुरा अदालतमा बयान दिएका थिए । उनी गत वर्षको सेप्टेम्बरमा नयाँ कार्यकालका लागि नियुक्त भएका थिए ।







डिसी नेपाल







Facebook Comment