संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट निलम्बित भएपछि रूसले के भन्यो ?
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार रुसलाई राष्ट्रसंघ मानवअधिकार परिषदबाट निलम्बन गरेको छ । यसपछि रुसले यो निर्णय मानवअधिकारको अवस्थाका आधारमा नभई पश्चिमी देशको प्राथमिकतालाई ध्यानमा राखेर गरिएको जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि रुसको मिसनले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गरेको हो । यसमा भनिएको छ, “यो अमेरिकी प्रस्ताव गैरकानुनी र राजनीतिक रूपमा प्रेरित छ। यसको उद्देश्य स्वतन्त्र विदेश र घरेलु नीति भएको सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि दबाब दिनु हो।”
रुसले यो प्रस्ताव विश्वव्यापी सम्बन्धका लागि खतरनाक भएको भन्दै निलम्बन हुनुअघि नै अप्रिल ७, २०२२ मा रुसी संघले मानवअधिकार परिषद्बाट बाहिरिने निर्णय गरेको बताएको छ । रुसले केही देशको समूहले मानवअधिकार परिषद्लाई आफ्नो स्वार्थ पूरा गर्न प्रयोग गरिरहेको बताएको छ ।
युक्रेनी सहर बुचामा मानवअधिकार उल्लङ्घन गरेको आरोप लागेपछि बिहीबार संयुक्त राष्ट्रसंघले रुसलाई मानवअधिकार परिषद्बाट बहिष्कार गर्ने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघमा रुसलाई युएनएचसीआरबाट निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थनमा र २४ वटा विपक्षमा मतदान गरेका थिए । ५८ देश अनुपस्थित रहे। यो मतदानमा नेपाल अनुपस्थित रह्यो।







डिसी नेपाल







Facebook Comment