मासु खाने र नखाने विवादमा जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीबीच कुटाकुट

डिसी नेपाल
२८ चैत २०७८ १०:४३

काठमाडौं । आइतबार साँझ जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

विद्यार्थी संगठनहरूबीचको यो झगडा मुख्यतः विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर भएको हो । विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा एबीभीपी कार्यकर्ताहरूले मांसाहारी खानाको बिरूद्ध विरोध गरेको वाम विद्यार्थी संगठनहरूले आरोप लगाए।

तर अखिल भारतीय विद्यार्थी परिषदले रामनवमीको पूजा गरिरहेका विद्यार्थीहरूलाई वामपन्थी विद्यार्थीहरूले आक्रमण गरेको बताउँछन्।

अर्कोतर्फ, वाम विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (एआईएसए) ले एउटा ट्वीटमा एबीभीपी कार्यकर्ताहरूले आक्रमण गरेको दाबी गरेको छ जसमा धेरै विद्यार्थीहरू घाइते भएका छन्। विद्यार्थीबीच झडप भएपछि प्रहरी पनि पुगेको थियो । विद्यार्थी संगठनहरुले प्रहरीमा उजुरी गरेको बताएका छन् ।

प्रहरीले समाचार एजेन्सी एएनआइलाई बताएअनुसार एबीभीपीका विद्यार्थीहरूले सोमबार बिहान उजुरी दिने भनेर पनि सूचित गरिएको छ। उजुरीका आधारमा आवश्यक कारबाही गरिने दिल्ली प्रहरीले जनाएको छ ।

यसैबीच, एबीभीपीबाट ट्वीटरमा वाम विद्यार्थी संघको आक्रमणमा उनीहरूका कार्यकर्ता रविराज गम्भीर घाइते भएको जानकारी दिइएको छ।

जेएनयूमा एबीभीपीसँग सम्बद्ध रोहितले बीबीसीलाई भने, “वामपन्थी र कम्युनिस्ट विचारधाराका विद्यार्थीहरूले एबीभीपीका कार्यकर्ता र साधारण विद्यार्थीमाथि आक्रमण गरेका छन्।”

समाचार एजेन्सी एएनआईले दिल्ली पुलिसलाई उद्धृत गर्दै भनेको छ कि यस मामलामा जेएनयू विद्यार्थी संघ, एसएफआई, डीएसएफ र एआईएसएका विद्यार्थीहरूको समूहले सोमबार बिहान एबीभीपीका अज्ञात विद्यार्थीहरू विरुद्ध उजुरी दिएका छन्। उजुरीको आधारमा, दिल्ली पुलिसले आईपीसीको धारा ३२१, ३४१, ५०९, ५०६ र ३४ अन्तर्गत एफआईआर दर्ता गरेको छ।

जेएनयू विद्यार्थी संघका अध्यक्ष ऐशी घोषले ट्वीटरमा भिडियो पोस्ट गर्दै एबीभीपी विद्यार्थीहरूले जेएनयूमा बस्ने विद्यार्थीहरूलाई मांसाहारी खाना खानबाट रोक्न खोजेको दावी गरेकी छिन् । उनले छात्रावासको मेस सचिवलाई पनि एबीभीपीले आक्रमण गरेको दाबी गरेकी छिन् ।

ऐशी घोषले सोधिन्, “हामी के खान्छौं र के खाँदैनौं भनेर बताउने एबीभीपीका गुण्डाहरू को हुन्?” उनले ट्विटरमा प्रश्न सोधेकी छिन्, “जेएनयू प्रशासनले विद्यार्थीहरूको अधिकारको रक्षा गर्न आवश्यक व्यवस्था किन गरेन?”

मधुरिमा नामकी छात्राका अनुसार आइतबार छात्रावासमा मांसाहारी खाना खान दिइन्छ र के खाने वा के नखाने भन्ने निर्णय विद्यार्थीले नै गर्न सक्नेछन् ।

“एबीभीपी कार्यकर्ताहरूले होस्टेलमा मासु आपूर्ति रोके र त्यहाँ मेस सचिवलाई कुटपिट गरे,” मधुरिमा भन्छिन्। मधुरिमाका अनुसार ‘पहिला एबीभीपी र विद्यार्थीबीच दिउँसो झगडा भयो र त्यसपछि साँझ आठ बजेतिर फेरि आएर विद्यार्थीलाई नराम्ररी कुटपिट गरे ।

यस हमलामा आफू पनि घाइते भएको मधुरिमाको दाबी छ ।

तर एबीभीपीसँग सम्बद्ध छात्रा दिव्याले एक विज्ञप्ति जारी गरी विद्यार्थीहरूले रामनवमी पूजा गरिरहेका बेला वामपन्थी विद्यार्थीहरूले आक्रमण गरेको आरोप लगाइन् । दिव्याले दाबी गरिन्, “हामी रामनवमी पूजाका लागि कावेरी होस्टेलमा गयौं। म आज उपवासमा थिएँ। अचानक केही वामपन्थीहरूले हामीमाथि हमला गरे। मेरो हातमा चोट लागेको छ। यो आक्रमण किन भयो मलाई थाहा छैन।”

आइतबार रामनवमी पर्व थियो । यस दिन हिन्दू धर्ममा विश्वास गर्ने मानिसहरूले ठूलो संख्यामा व्रत बस्छन् र मांसाहारी भोजन त्याग्छन्। कतिपयले लसुन र प्याजको सेवन गर्दैनन् ।

यस वर्ष, नवरात्रिको समयमा, दक्षिण दिल्ली नगर निगम र पूर्वी दिल्ली शहरका मेयरहरूले मांसाहारी खानामा प्रतिबन्धको घोषणा गरेका थिए। यद्यपि, दिल्ली उच्च अदालतले भने मेयरहरूलाई खानामा यस्तो प्रतिबन्ध लगाउने अधिकार नभएको बताएको थियो ।

दिल्लीका धेरै क्षेत्रहरूमा यी नौ दिनहरूमा मासु पसलहरू बन्द रहे। जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी संगठनहरू विगतमा पटक पटक झडप भएका छन् । यसपटक विद्यार्थी संगठनबीचको द्वन्द्वको कारण मांसाहार नै बनेको छ । जवाहरलाल नेहरू विश्वविद्यालय, राष्ट्रिय राजधानी दिल्लीमा अवस्थित भारतमा उच्च शिक्षाको लागि उत्कृष्टताको केन्द्र हो। यस विश्वविद्यालयमा वाम र दक्षिणपन्थी विचारधाराका विद्यार्थीहरूबीच झगडा भएको हो ।

राति दश बजेसम्म विश्वविद्यालयको वातावरण तनावपूर्ण रह्यो । तर, अहिले क्याम्पसमा प्रहरी पनि उपस्थित छ । एकातिर दक्षिणपन्थी विचारधाराका विद्यार्थी एकजुट हुँदैछन् भने अर्कोतिर वामपन्थी विद्यार्थी आन्दोलनमा उत्रने तयारीमा छन् ।

आइतवार,एबीभीपीले कावेरी र पेरियार होस्टलहरू बीच रामनवमी पूजाको आयोजना गरेको थियो। सो क्रममा वामपन्थी विद्यार्थी संगठनले नाराबाजी गरेको आरोप छ । हिन्दू विद्यार्थी संगठनले दावी गरेअनुसार रामनवमी पूजाको क्रममा वामपन्थी विद्यार्थी संगठनहरूले नारा लगाएर जेएनयूलाई हिन्दूकरण गरिएको दाबी गरे।

बीबीसीसँग कुरा गर्ने वामपन्थी विद्यार्थीहरूले आफूहरूलाई एबीभीपी कार्यकर्ताहरूले आक्रमण गरेको दाबी गरे। उनीहरूले एबीभीपीले जेएनयू क्याम्पसमा हिन्दू विचारधारा थोपर्न खोजिरहेको आरोप लगाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *