रोप-वे दुर्घटनामा हावामा झुण्डिए ४८ जिन्दगी, ड्रोनबाट खाना पठाइँदै (तस्वीरहरू)

डिसी नेपाल
२८ चैत २०७८ १२:५३

काठमाडौं । झारखण्डको देवघरको त्रिकूट पहाडमा ठूलो दुर्घटना भएको छ । आइतबार साँझ पर्यटकका लागि सञ्चालित रोपवेका धेरै ट्रली एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४८ जना अझै फसेका छन् । हावामा फसेका मानिसहरूलाई प्रशासनले ड्रोनमार्फत खाना र पानी पठाइरहेको छ। आइतबार साँझदेखि अहिलेसम्म ४८ जना ट्रलीमा फसेका छन् । भारतीय वायुसेनाका दुई एमआई–१७ हेलिकप्टरबाट अहिले फसेका मानिसको उद्धारका लागि परिचालित छन् ।

फसेका मानिसहरूको उद्धार गर्न एनडीआरएफको टोलीले निरन्तर उद्धार कार्य जारी राखेको छ, जसमा हेलिकप्टरको पनि सहायता लिइएको छ। तर, हेलिकप्टरको तीव्र हावाका कारण ट्रली हल्लिन थालेपछि अलपत्र परेका मानिसलाई बाहिर निकाल्न समस्या भइरहेको छ । देवघर जिल्ला प्रशासनका उच्च अधिकारी पनि घटनास्थलमा पुगेका छन् र जतिसक्दो चाँडो मानिसलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । आइतवार रामनवमीको अवसरमा यहाँ सयौंको संख्यामा मानिसहरु रोपवेमा चढेर दर्शन गर्न आएका थिए । एक्कासी रोपवेको ट्रली एक आपसमा ठोक्किएर यो दुर्घटना भएको हो ।

एउटा ट्रली माथि जाँदै गरेको र अर्को ट्रली तल झर्दै दुर्घटना भएको एक पर्यटकले जानकारी दिएका छन् । यस क्रममा दुवै ट्रली एकअर्कासँग ठोक्किएकाले दुर्घटना भएको हो । अहिले केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । जानकारीका अनुसार दुई ट्रली एक आपसमा ठोक्किएपछि अन्य ट्रली पनि आफ्नो ठाउँबाट विस्थापित भएका कारण उनीहरु पनि गएर ढुंगामा ठोक्किएका थिए । सोही क्रममा देवघरका जिल्ला अधिकारी मञ्जुनाथ भाइजन्त्रीले रोपवे सेवा बन्द गरिएको र घाइतेलाई उपचारका लागि देवघर सदरमुकाममा भर्ना गरिएको जानकारी दिए ।

दुर्घटनापछि गोड्डाका सांसद निशिकान्त दुबेले घाइतेप्रति समवेदना व्यक्त गरेका छन् । उनले केन्द्र सरकार र झारखण्ड सरकारका मुख्य सचिवलाई तुरुन्तै एनडीआरएफको टोली घटनास्थलमा पठाउन आग्रह गरे। तीन चुचुरा भएको पहाड भएकाले यसको नाम त्रिकुटा पर्वत रहेको हो । देवघरबाट करिब १३ किलोमिटर दुमका सडकमा त्रिकूटा पर्वत छ, जहाँ पर्यटनका लागि रोपवे सेवा सञ्चालन हुन्छ । त्रिकूट रोपवे भारतको उच्चतम रोपवे सेवा हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *