रूसले अरबौं डलर विदेशी ऋण तिर्न नसकेर ‘डिफल्ट’ गर्न सक्ने !

डिसी नेपाल
२९ चैत २०७८ १४:३९

काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सीहरूले रुसले सरकारी ऋणपत्रमा ब्याज तिर्न सक्षम नहुने बताएका छन्। रुससँग अर्बौं डलरको विदेशी ऋण छ जसको ब्याज तिर्नुपर्छ । यो आशंकाले १९९८ को सम्झना ताजा गराएको छ जतिबेला रूसले भुक्तान गर्न असफल हुँदा विश्वव्यापी आर्थिक उथलपुथल भयो।

भुक्तानी गर्न असफल हुनु वा डिफल्टको जोखिम यस पटक धेरै ठूलो छ। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण अहिले यसलाई रोक्न कठिन देखिएको छ । क्रेडिट रेटिङ एजेन्सी स्ट्याण्डर्ड एण्ड पुअर्सले रूसले ३० दिनको ग्रेस अवधिमा रूबललाई डलरमा साट्न नसक्ने र डिफल्ट हुने बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।

मंगलबार मात्र श्रीलंकाले पनि विदेशी ऋण डिफल्ट गरेको छ । आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले मंगलबार ५१ अर्ब डलरको वैदेशिक ऋण तिर्न नसक्ने घोषणा गर्दै आफुलाई ‘डिफल्ट’ गराएको हो । समाचार एजेन्सी एएफपीको रिपोर्टका अनुसार श्रीलंकाले अहिलेको अवस्थामा अत्यावश्यक वस्तुको आयातका लागि विदेशी मुद्रा सकिएपछि यो ‘अन्तिम उपाय’ भएको बताएको छ ।

रूसको हकमा भने उसले पैसा हुँदाहुँदै पनि ऋण तिर्न नसकेर डिफल्टको खतरा बढेको हो । विश्वभरका सरकारहरूले ऋणपत्र जारी गरेर अन्तर्राष्ट्रिय बजार र लगानीकर्ताहरूबाट ऋण लिन्छन्। जसमा उनीहरुले ब्याज तिर्नुपर्ने हुन्छ । यदि ब्याज रकम समयमा भुक्तानी नगरेमा यसलाई डिफल्ट भनिन्छ। यसका केही तत्काल र केही दूरगामी प्रभावहरू छन्। जसको फलस्वरूप ऋण लिनेसँगै दिनेलाई पनि समस्या खेप्नु परेको छ ।

मार्च १६ मा रूसले दुईवटा ऋणपत्रहरूको लागि ११७ मिलियन डलरको ब्याज तिर्न अन्तिम मिति थियो । पश्चिमा राष्ट्रहरुको प्रतिबन्धका कारण बैंकहरुलाई रुससँग कारोबार गर्न प्रतिबन्ध लगाइएको छ । यससँगै सरकारसँग रहेको अधिकांश विदेशी मुद्रा सञ्चिति पनि जफत भएको छ ।

रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभले सरकारले डलरमा कुपन जारी गर्न निर्देशन दिएको बताएका छन् । यद्यपि, यदि बैंकले त्यसो गर्न असफल भए भने भुक्तानी रूबलमा गरिनेछ। आधिकारिक मार्च १६ मै तिर्ने अन्तिम मिति भए पनि थप ३० दिन ग्रेस अवधि पाइन्छ। यसको मतलब रुससँग पैसा छ तर तिर्न सक्दैन किनभने बैंकहरू प्रतिबन्धित छन् र विदेशी मुद्रा भण्डार जफत गरिएको छ।

रेटिङ एजेन्सीहरूले रुसको रेटिङ घटाइदिएका छन् र यो अब लगानी ग्रेड भन्दा तल ‘जंक’ग्रेडमा गएको छ। अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिशले ‘सी’ रेटिङको अर्थ ‘डिफल्ट वा डिफल्ट हुने प्रक्रिया’ सुरु भएको बताएको छ ।

केही रूसी ऋणपत्रहरू रुबल मा भुक्तान गर्न सकिन्छ। यसका लागि केही शर्तसहित स्वीकृति दिइएको छ । यद्यपि, सबै बन्डहरूको लागि यो स्वीकृति छैन । यसबाहेक रुबलको भाउ अहिले निकै तल झरेको छ र यही मूल्यमा अर्को मुद्रामा तय हुनेछ । यसको मतलब लगानीकर्ताले कम पैसा पाउनेछन्।

रुबलमा भुक्तान गर्न अनुमति दिइएको डलर बन्डको पनि धेरै कठिनाइहरू छन्। इन्टरनेशनल एसोसिएशन अफ फाइनान्स एसोसिएसन अफ फाइनान्सियल इन्स्टिच्युसनका कार्यकारी उपाध्यक्ष क्ले लोरी भन्छन् “रुबल मूल्यहीन छैन तर त्यसको मूल्य द्रुत रूपमा तल गइरहेको छ। म अनुमान गर्दैछु कि यो कानुनी मुद्दा बन्न सक्छ। रुसी सरकारले युक्रेनमाथि आक्रमण गरेको हुनाले रुसी सरकारले नै यो असाधारण अवस्था सिर्जना गरेको हो भनने लडाई अदालतमा चल्नेछ ।”

जब मूल्याङ्कन एजेन्सीले देशको मूल्याङ्कन डिफल्ट गर्छ वा अदालतले यसको बारेमा निर्णय गर्छ भने डिफल्ट भएको थाहा हुन्छ । डिफल्ट स्वैप सेवा अर्थात डिफल्टविरुद्ध बीमाको रूपमा कार्य गर्ने सेवा भएका बन्डधारकहरूले वित्तीय फर्महरूका प्रतिनिधिहरूको डिटर्मिनेसन समितिलाई निर्णय लिन अनुरोध गर्न सक्छन्। समितिको निर्णयले भुक्तानी नआएपछि रकम पाउने वा नपाउने भन्ने निर्णय गर्नेछ । यो निर्णय गर्न धेरै जटिल छ, यसमा धेरै वकिलहरू समावेश हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *