त्रियुगा नगरपालिकाः ७३ मतान्तरले हारजित भएका मेयर उम्मेदवार एउटै गठबन्धनमा हुँदा समस्या

सम्भव सिंह ठकुरी
३० चैत २०७८ ८:२३

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिएसँगै उदयपुरको गाईघाटमाचुनावी सरगर्मी निकै बढेको छ।

जिल्लाको सदरमुकाम र व्यापारिक दृष्टिकोणबाट पनि केन्द्रमा रहेको गाईघाटको भावी नेतृत्वमा को आउने हो भन्ने विषय निकै चासोका साथ हेरिएको छ। जिल्लामा क्रियाशील सबै राजनीतिक दलहरुले गाईघाट अर्थात त्रियुगा नगरपालिकालाई महत्वका साथ लिएका छन्।

यहाँ अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्र्धा भएको थियो। एमालेको उम्मेदवार बलदेव चौधरी र कांग्रेसको उम्मेदवार बसन्त बस्नेतबीच कडा प्रतिस्पर्धा थियो र मात्रै ७३ मतान्तरले हारजितको छिनोफानो भएको थियो । चौधरीले ११ हजार ३ सय ६८ र बस्नेतले ११ हजार २ सय ९५ मत प्राप्त गरेका थिए।

रोचक के छ भने ५ वर्षपछि उनै चौधरी र बस्नेत सत्तारुढ गठबन्धनको तर्फबाट भावी नगर प्रमुखको आकांक्षीका रुपमा देखिएका छन्। चौधरी एमाले विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका छन्। हाल चौधरी नेकपा एसको पोलिटव्युरो सदस्यको जिम्मेवारीमा पनि छन्।

केन्द्रमा अहिलेको सत्ताधारी गठबन्धनलाई नै चुनाबी गठबन्धन बनाएर अगाडि बढ्ने तयारी भइरहेकाले यी दुई आकांक्षीलाई मिलाउन निकै समस्या हुने देखिएको छ। केन्द्रमा गठबन्धन गर्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन तर सत्ताधारी दलहरुका प्रमुख नेताहरुको अभिव्यक्ति गठबन्धनकै पक्षमा छ। यदि गठबन्धन भइहाल्यो भने गठबन्धनको साझा उम्मेदवार हुनेछ र यी दुई आकांक्षीमध्ये एक जना पछि हट्नुपर्नेछ।

पछि हट्न भने दुवै तयार छैनन्। त्रियुगा नगरपालिकामा कांग्रेस र एकीकृत समाजवादी दुवैले मेयर आफूले पाउनुपर्ने अडान राख्दै आएका छन्। चौधरी आफू अघिल्लो पटक जितेको उम्मेदवार भएको हैसियतमा गठबन्धनको साझा उम्मेदवार आफैं बन्नुपर्ने अडान राख्छन्। अर्कोतर्फ बस्नेत भने अघिल्लो निर्वाचनमा पनि आफू एमालेभन्दा मात्रै ७३ मतले पछि रहेको अवस्थामा अहिले एमाले विभाजित भएकोले आफूले निर्विवाद रुसमा जित्ने दावी गर्छन्।

बस्नेतले आफूले निर्विवाद जित्ने अघिल्लो निर्वाचनको आंकडा र अहिले प्रतिस्पर्धी दलको अवस्थाले प्रस्ट देखाएको दावी गर्दै यहाँ गठबन्धन नगरी कांग्रेसबाट आफू एक्लै निर्वाचनमा गएर जित्ने दावी गरे । तर, चौधरीले भने पार्टी केन्द्रले गठबन्धन गर्ने भनिसकेकोले यहाँ गठबन्धन हुने र आफू साझा उम्मेदवार हुने बताए । उनले पार्टी केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा जिल्लाका नेताले पार्टीको निर्देशन मान्नुपर्ने बताए ।

गत निर्वाचनको आँकडा हेर्दा कुल १६ वटा वडाहरु रहेको नगरपालिकामा उपमेयर सहित ८ वटामा कांग्रेस, ६ वटामा एमाले र २ वडामा माओवादीले जितेको छ। त्यसैले कांग्रेसको जिल्ला नेतृत्व यो पटक एमाले विभाजनको प्रत्यक्ष फाइदा उठाउँदै नगरको नेतृत्व आफ्नो पक्षमा ल्याउन कसरत गरिरहेको छ ।

कांग्रेसको तर्फबाट पुनः मेयरको आकांक्षी रहेका बसन्त बस्नेत नगरपालिकामा कांग्रेस एक्लै चुनाव लड्ने बताउँछन्। ‘सिंगो नगरपालिकामा हामी बलियो छौँ । उपमेयरदेखि वडाहरुमा पनि हाम्रो बहुमत छ। हिजो एमाले एकढिक्का हुँदा पनि हाम्रो मत उच्च रुपमा आएको हो।

अहिले एमाले विभाजन भएको छ। त्यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई नै हुने हो। त्यसकारण ३ हजार ३५ सय मत भएको एकीकृत समाजवादी र माओवादीसँग गठबन्धन गरेर कांग्रेसलाई कुनै पनि फाइदा छैन।’

बस्नेतले अगाडि भने ‘हामीले नगर कार्यसमिति र संसदीय निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘ख’ निर्वाचन क्षेत्र कार्यसमितिबाट पनि गठबन्धन नगर्ने निर्णय गरिसकेका छौँ। त्यसकारण गाईघाटमा कांग्रेस एक्लै चुनाव लड्न सक्छ । हाम्रो जित सुनिश्चित पनि छ।’

गठबन्धनको नाममा जर्वजस्ती गरियो भने परिणाम कांग्रेस अनुकूल नहुन सक्ने उनको आँकलन छ। उनी भन्छन् ‘मैले यसो भन्दै गर्दा म व्यक्ति बसन्त बस्नेत बोलेको हैन। तल्लो तहको कार्यकर्ताको भावना बोल्दैछु। हाम्रो तल्लो तहको कार्यकर्तादेखि नगर समितिका अधिकांश नेताहरु कांग्रेस बाहेक अरुलाई मत हाल्ने मनस्थितिमा छैनन्। त्यसकारण गाईघाटमा कांग्रेस एक्लै निर्वाचनमा होमिन्छ।’

पछिल्लो समय गाईघाटमा गठबन्धन गर्न नहुने मत बलियो हुँदै आएको पनि उनको दावी छ। तर, नगरपालिकाका मेयर तथा एकीकृत समाजवादीबाट पुनः मेयरका आकांक्षी बलदेव चौधरी भने केन्द्र हुँदै प्रदेशसम्म गठबन्धनको संयन्त्र बनिसकेकाले आफ्नो पार्टी गठबन्धनको पक्षमा रहेको बताउँछन्।

चौधरीले भने ‘केन्द्रको गठबन्धनको निर्णय अनुसार महानगरपालिकाको उम्मेदवार र भागवण्डा केन्द्रबाट नै हुन्छ। त्यसरी नै नगरपालिका र गाउँपालिकाको उम्मेदवार चयन गर्न प्रदेश स्तरीय संयन्त्र बनाएका छौँ। सोही संयन्त्रको निर्णय अनुसार त्रियुगा नगरपालिकाको उम्मेदवारको पनि छिनोफानो हुन्छ।’

तर कांग्रेसका तर्फबाट उम्मेदवारका आकांक्षी रहेका बसन्त बस्नेत गठबन्धनको पक्षमा हुनुहुन्न नि ? भन्ने डिसी नेपालको प्रश्नमा चौधरीले भने ‘उहाँको व्यक्तिगत भनाई हो। हाम्रो नगरपालिकाको उम्मेदवारको छिनोफानो चाँडै प्रदेश स्तरीय संयन्त्रले टुंगो लगाउँछ।’

गठबन्धन कमजोर बनाउनुमा एमालेका प्रतिक्रियावादी शक्ति पनि हावी भएको चौधरीको आरोप छ। तर जति नै प्रक्रियावादी शक्तिहरुले चलखेल गरेपनि गठबन्धन नटुट्ने उनले विश्वास व्यक्त गरे । गठबन्धन र एकीकृत समाजवादीको तर्फबाट आफू पनि मेयरको आकांक्षी रहेको उनको भनाई छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *