स्थानीय निर्वाचन : सिराहामा त्रिपक्षीय भीडन्त

विजयप्रसाद मिश्र
२ वैशाख २०७९ ७:५९

सिरहा। स्थानीय तहको निर्वाचनका लागि सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय भीडन्त हुने भएको छ। यस अघि नेकपा माओवादी केन्द्रका हरिनारायण चौधरी मेयरमा विजयी भएका थिए। त्यसवेला एमालेका मेयरका उम्मेदवार शिवशंंकर महतो, नेपाली कांग्रेसका मेयरका उम्मेदवार पञ्चलाल महतोले प्रतिस्पर्धामा मत ल्याएका थिए।

अहिले धनगढीमाई नगरपालिकाको अवस्था परिवर्तन भएको देखिन्छ। त्यसवेला नेपाली कांग्रेसमै रहेका जोगिलाल यादवले गत निर्वाचनमा अन्तिम चरणमा मेयरको उम्मेदवार बन्न नपाएपछि जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएर २ हजार १ सय मत ल्याएका थिए। यस पटक तिनै योगिलाल साह जसपापार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्।

नेपाली कांग्रेसले धनगढीमाई नगरपालिकामा पहिले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा विजयी भइसकेका तथा भर्खरै भएको नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका रामचन्द्र यादव नै मेयरको दावेदार भएकाले एमाले र माओवादी केन्द्रका लागि चिन्ता थपिएको छ।

रामचन्द्र यादवले प्रतिनिधिसभाको सांसद रहेको बखत धनगढीमाई क्षेत्रमा गरेको संसदीय विकास कोषको रकमबाट गरेको विकासका उदाहरणहरु देखाएर तटस्थ मत तान्ने प्रयास गरिरहेका छन्। कांग्रेसमा रामचन्द्र यादव जिल्ला सभापति भएकाले मेयरको टिकट पाउने पक्कापक्कि नै छ।

नेकपा एमालेबाट शिवशंकर महतो र रामकुमार साहको नाम चर्चामा छ। रामकुमार साहले यो बर्ष वडा अध्यक्षमा उठ्न दवाव आइरहेको छ। एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका उत्तर बहादुर जर्घा मगरले समेत मेयरका लागि दावेदारी गरिरहेकाले एमालेको भोट एकीकृत समाजबादीले काट्न सक्ने सम्भावना बढेर गएको छ।

नेकपा माओवादी केन्द्रबाट अहिले मेयर रहेका हरिनारायण साहले उम्मेदवारी दाविगरिरहेको भएपनि उनकै पार्टीबाट कुशुम मोक्तानले समेत मेयरमा दावी गर्दैछन्। धनगढीमाई बासीहरुले माओवादी भित्रपनि नयाँ अनुहार माग गरिहेको अवस्थामा पुरानोलाई नै दोहोराउदा हार्ने सम्भावना भएको भन्दै विकल्पको खोजि गर्न दवाव बढेर गएको छ।

माओवादी पार्टीको हस्तीका रुपमा स्थानीय स्तरमा चिनिएका रामप्रित राम र वडा नं. ३ को देवन साह माओवादीबाट एमालेमा प्रवेश गरेकाले माओवादीले पहिलेभन्दा कृही घटाएर मत पाउन स्थिति देखिएको छ। माओवादीबाट भर्खरै एमाले प्रवेश गरेका रामप्रित रामका श्रीमती रामकुमारी रामलाई उपमेयर मागिरहेका छन्।

एमाले भित्र उपमेयरका दावीका रुपमा पहिले उठेर हारेका निर्मला बास्तोला र विद्यार्थी संगठनदेखि सक्रिय रहेकी शोभा बरालको नाम समेत आइरहेकोले एमालेमा उपमेयरकै कारणले भित्र भित्रै विवाद बढ्ने देखिएको छ।

एमालेबाट वडा नं. ६ का भगलु महतो नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेकाले समेत एमालेको पुरानो मतमा धक्का लागेको छ । तर वडा नंं १० का डोरेन लामा माओवादी केन्द्रपार्टी त्याग गरी एमालेमा गएकाले कोही एमालेबाट माओवादीमा जाने र कोही माओवादीबाट एमालेमा जाने क्रम रोकिएको छैन। यसले उनीहरुको मत अस्थिर भएको देखिन्छ।

धनगढीमाई नगरपालिकामा नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएर नेपाली कांग्रेसको पक्षबाट मेयरमा रामचन्द्र यादवलाई समर्थन आउने भएकोले कांग्रेसले आफ्नो उपमेयरको उम्मेदवार घोषणा गरेको छैन । आफू मेयर लिएर जसपा वा नेकपा एकीकृत समाजवादीलाई उपमेयर दिनसक्ने कांग्रेसले जोड घटाऊ गरिरहेको छ ।

अहिले जीतेका मेयर शुरमा नयाँ अनुहार भएकाले केही राम्रा काम गर्लान भनेर पपुलर भोट पाएर जीतेका थिए । पछिल्लो समय जनताबाट टाँढिएको र केही कार्यकर्ता नेताहरुको घेरामा सिमित भएको आरोप पुरानो रैथाने माओवादीहरुले लगाउँदै आएका छन् ।

अहिलेका मेयर चौधरी जनयुद्धकालिन माओवादी नभएकाले जनयुद्धकालिन माओवादीले माओवादीबाटै नयाँ अनुहार आउनु पर्दछ भन्दैछन् । धनगढीमाई नगरपालिकाको सीमासंग जोडिएको गोलबजार नगरपालिकामा पहिले माओवादी केन्द्रबाट मेयरमा जितेका देवनाथ साहको बदलामा मन्त्री समेत भइसकेका उनकै भाइ विश्वनाथ साहलाई मेयरको उम्मेदवारको रुपमा माओवादीले अगाडि बढाउन चाहेकोले धनगढीमाई नगरपालिकामा पनि त्यस्तै परिवर्तन गर्नु पर्ने स्थिति आउन सक्ने आंकलन गरिँदैछ ।

बर्तमान मेयर हरिनारायण चौधरीले आइटीको क्षेत्रमा राम्रो काम गरेको देखिएपनि धार्मिक क्षेत्रमा खर्च गर्न रोक्ने रणनीति लिएकाले स्थानीय स्तरमा संगठित भएको पतन्ञल योग समिति नेपालका समर्थक र नेतृत्वकर्ताहरु चौधरीसंग रुष्ट भएको पाइएको छ ।

उत मधेसमा उदाउँदै गएको जनमत पार्टीले पवन यादवलाई मेयरमा उठाउने निधो गरेको छ । ३१ हजार मतदाता रहेको धनगढीमाई नगरपालिकामा यादव, महतोको बाहुल्यता रहेता पनि जनजाति समुहको उपस्थिति समेत प्रभावकारी रहेकोले अबको भीडन्त यादव, महतो र जनजातीबीच नै हुने देखिन्छ ।

राम्रा काम गरेपनि जनतासँग घुलमिल हुने बानी नभएकोले मतदाताहरु मेयरसंग भेटन समस्या भएको, जनताका व्यक्तिगत गुनासोहरुलाई पार्टीगत नजरले हेर्ने गरेको आरोप मेयर चौधरीलाई लागि रहेको छ ।

नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिने रामचन्द्र यादव जो आफै पनि कांग्रेसका सिरहा जिल्ला सभापति छन् अहिले पनि केही पार्टीसंग गठबन्धन गर्ने प्रयास भइरहेको बताएका छन् । गठबन्धन नभए पनि कांग्रेस एक्लै जित्ने भएकोले गठबन्धन गर्नु नगर्नुले कुनै असर नपर्ने कांग्रेसको बुझाई रहेको छ ।

धनगढीमाई नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच मिनी गठबन्धन हुने र अर्को तर्फ नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच मिनि गठबन्धन हुने सम्भावना बढेर गएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *