टर्कीका राष्ट्रपति साउदी अरब जाने, पत्रकार जमाल खशोग्गीको हत्यापछि पहिलो भ्रमण
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार साउदी अरबको भ्रमण गर्ने भएका छन् । सन् २०१८ मा साउदी आलोचक जमाल खशोग्गीको हत्यापछि एर्दोगानको यो पहिलो रियाद भ्रमण हुनेछ।
समाचार एजेन्सी एएफपीका अनुसार रियादको यो दुईदिने भ्रमण खशोग्गी हत्या प्रकरणमा इस्तानबुल अदालतको फैसलापछि हुन लागेको हो ।
खशोग्गीको हत्यामा संलग्न २६ साउदी संदिग्धहरू बेपत्ता भएपछि अदालतले मुद्दाको सुनुवाइ रोकेको थियो।
त्यसपछि अदालतले मुद्दा साउदी अरबमा सार्यो। ५९ वर्षीय पत्रकार खशोग्गीको अक्टोबर २, २०१८ मा इस्तानबुलस्थित साउदी दूतावासभित्र हत्या भएको थियो।
यस मामिलामा अनुसन्धान अघि बढेपछि साउदी अरेबिया निकै क्रोधित भएको थियो । यसपछि दुई सुन्नी बाहुल्य देशबीचको सम्बन्ध बिग्रन थालेपछि खशोग्गी हत्याकाण्डमा टर्कीसँग आक्रोशित साउदी अरबले अर्थतन्त्रमा दबाब दिन थाल्यो ।
साउदी अरबले टर्कीबाट आयात हुने महत्वपूर्ण वस्तुमा प्रतिबन्ध लगाएको थियो ।
टर्कीको अर्थतन्त्र बिग्रिएपछि टर्कीले साउदी अरेबियासँगको सम्बन्धलाई सामान्य बनाउने प्रयास गरेको थियो । टर्कीका राष्ट्रपतिको साउदी भ्रमणलाई यसै सन्दर्भमा हेरिएको छ ।
बढ्दो मुद्रास्फीति र कमजोर अर्थतन्त्रका कारण टर्कीमा एर्दोगानको लोकप्रियता घट्दै गएको छ भने अर्को वर्ष त्यहाँ राष्ट्रपतिको निर्वाचन हुँदैछ। एर्दोगानले इजिप्ट र संयुक्त अरब इमिरेट्ससँग पनि सम्बन्ध सुधार्ने प्रयास गरेका छन् ।







डिसी नेपाल







Facebook Comment