को हुन् रुसकी ‘सिक्रेट फर्स्ट लेडी’ एलिना ? अमेरिकाले उनलाई किन प्रतिबन्ध लगाएको छैन ?
काठमाडौं । “हरेक परिवारमा युद्धको कथा हुन्छ, र हामीले ती कथाहरू बिर्सनु हुँदैन तर हाम्रो आगामी पुस्तालाई सुनाउनु पर्छ।” यो कुरा रुसको ‘सिक्रेट फर्स्ट लेडी’ भनिने एलिना काबाएवाको हो । युक्रेन र रुस युद्धको बीचमा उनी चर्चामा छन् । कारण यो हो कि अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरू सहित निकटका व्यक्तिहरूलाई प्रतिबन्ध लगाएको छ, तर एलिना अझै पनि यो प्रतिबन्धबाट बचेकी छिन्।
वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार अमेरिकाले पुटिनकी कथित ‘प्रेमिका’ र पूर्व ओलम्पिक जिमनास्ट एलिना काबाएभालाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको थियो, तर अन्तिम मिनेटमा यो गरिएको थिएन। यसको पछाडिको कारण थियो – पुटिनले यसलाई व्यक्तिगत आक्रमण मान्न सक्छन् र यसले शान्ति पुनर्स्थापनाको प्रयासलाई अवरुद्ध गर्न सक्छ।
यद्यपि, ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले सोमबार एक दैनिक प्रेस ब्रिफिङमा अमेरिकाले जानाजानी रुसी राष्ट्रपति पुटिनकी प्रेमिकामाथि प्रतिबन्ध नलगाएको भन्ने दाबीलाई अस्वीकार गरेकी छिन्। रुसी नेता र पूर्व जिमनास्ट एलिना काबाएवालाई कारबाही किन नगरिएको भनेर सोध्दा साकीले भनिन्, “हामी निरन्तर प्रतिबन्धहरूको समीक्षा गरिरहेका छौं।”
एलिना जिमनास्ट थिइन् र उनले २००४ मा एथेन्स ओलम्पिकमा स्वर्ण पदक पनि जितेकी थिइन्। उनले १३ वर्षको उमेरमा डेब्यु गरेर सन् १९९८ मा पहिलो विश्व उपाधि (रोप) जितेकी थिइन् । यसपछि उनले सन् २००१ र २००२ मा युरोपियन च्याम्पियनसिपमा पनि धेरै पदक जितेकी थिइन् । सन् २००३ मा पनि उनले धेरै विश्व उपाधि जितेकी थिइन् । उनी डोपिङ मुद्दामा पनि फसेकी छिन् । तर, त्यसको ठूलो असर उनले भोग्नु परेन ।
सन् २००५ पछि उनी विस्तारै राजनीतिमा प्रवेश गरिन् र उनको नाम पुटिनसँग जोडिन थाल्यो । उनी युनाइटेड रसिया पार्टीको प्रतिनिधित्व गर्दै रुसी संसदको तल्लो सदन डुमामा पनि निर्वाचित भएकी थिइन् । २०१४ मा उनी सोची ओलम्पिकमा टर्च बोक्ने खेलाडीहरू मध्ये एक थिइन्।
एलिना क्रेमलिन समर्थित मिडिया समूह ‘द नेशनल मिडिया ग्रुप’ को प्रमुख पनि छिन्, तर पश्चिमी प्रतिबन्धहरूलाई ध्यानमा राख्दै उनको नाम अप्रिलमा वेबसाइटबाट हटाइएको मस्को टाइम्सले रिपोर्ट गरेको छ।
स्विट्जरल्याण्ड, अमेरिका र युरोपका अधिकारीहरूले वाल स्ट्रीट जर्नललाई बताएअनुसार २०१५ मा एलिना बच्चा जन्माउन स्वीट्जरल्याण्ड गएकी थिइन्। त्यसपछि २०१९ मा,उनले कथित रूपमा मस्कोमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिइन् । तर, पुटिनले यो कुराको पुष्टि भने गरेका छैनन् ।
‘द मस्को टाइम्स’को रिपोर्टका अनुसार एलिना गत शनिबार रुसको राजधानीमा भएको ‘अलिना फेस्टिभल’ मा देखा परेकी थिइन् । मे महिनामा रुसको विजय दिवसको अवसरमा प्रशारण हुन लागेको ‘जिम्नास्ट प्रदर्शनी’का लागि उनी त्यहाँ आएकी थिइन् ।
यस क्रममा उनले भनिन्, ‘हरेक परिवारमा युद्धको कथा हुन्छ, हामीले ती कथाहरू बिर्सनु हुँदैन, आफ्नो आगामी पुस्तालाई सुनाउनुपर्छ ।’ यस अवसरमा उनले युक्रेनमा रुसको आक्रमण र रुसी जिम्न्यास्ट, जज र प्रशिक्षकलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्रतिबन्ध लगाएको विषयमा भएको आलोचनाबारे भने, ‘यसबाट हामीले जित मात्रै पाउनेछौँ ।’
डेली मेलको खबरका अनुसार एलिनाले यस कार्यक्रममा भाग लिएपछि उनी स्विट्जरल्याण्ड वा साइबेरियाको बंकरमा लुकेर बसेको बताइएको छ । यस कार्यक्रममा सयौं बालबालिकाको सहभागिता रहेको थियो र यस क्रममा ‘जेड’ चिन्ह पनि देखाइएको थियो जुन युक्रेनमा रुसको आक्रमणको समर्थनको प्रतीक बनेको छ ।
एलिनाका तस्विरहरू हेर्नुहोस् –
































डिसी नेपाल







Facebook Comment