कथा : घोप्टे युग

डिसी नेपाल
१७ वैशाख २०७९ ६:५०

सहदेवले कौशल्यालाई एउटा कलम किन्न पठाएका थिए। कौशल्या आउनासाथ उनले सोधे—‘किन यत्ति ढिलो गर्‍यौ छोरी?’

छोरीले चिन्तित मुद्रामा जवाफ दिइन्-‘पसलमा रोजी दिदी बसेकी रैछिन्। मेरो कुरा सुन्दै सुनिनन् ड्याडी! घोप्टो परेर मोबाइल मात्र चलाइरहिन्। मैले चिमोटेपछि मात्र कलम दिइन्।’

मन्दोदरीले हतार हतारमा छोरीलाई कोरीबाटी गरेर तयार पारिन्। सहदेव र मन्दोदरीलाई सधैँको चटारो पर्ने गर्दछ। हिँड्ने बेलामा सहदेवको ‘खटारो बाइक’ ले निहुँ खोज्यो। धेरै कोसिस गरे तर स्टार्ट भएन।

कौशल्याले बाइकको रोग पत्ता लगाइदिइन्। ‘इन्धन नियन्त्रक स्विच’ ‘अफ’ मा रहेछ। सहदेव निकै ‘टेन्सन’ मा थिए। ‘ट्युसन’ पढाएर आएको ‘फी’ आधाजति नकुलले उडाइदिएछ!

बाइक स्टार्ट भएपछि कौशल्यालाई दिक्क लाग्यो। उनी कूटनैतिक शैलीमा भन्छिन्-‘म कत्ति छिट्टै बढेँ हगि ड्याडी ? पहिले पहिले म यो ट्याङ्कीमा बस्दा ड्याडीलाई अगाडि हेर्न कति सजिलो हुन्थ्यो। तर अहिले त हेलमेटको च्यापुले मेरो टाउकोमा ठ्याङ्ग-ठ्याङ्ग लागेर…।’

उनको भाषाको मार्मिक भावले ममी, ड्याडीलाई भावुक बनाइदियो। छोरीलाई बीचमा राखेपछि मन्दोदरी बाइकमा बसिन्। कौशल्याले यात्राभरि कहिले ममीको सारीतिर ध्यान दिन्थिन्। कहिले ड्याडीको बाइक हँकाइप्रति मतलव राख्थिन्।

ममीले सान्त्वनाका केही शब्दहरू व्यक्त गरिन्-‘तिमी चिन्ता नगर छोरी। अब म पनि छिट्टै ‘स्कुटी’ किन्छु र तिमीलाई मैँ स्कुलमा पुर्‍याउँछु।’
छोरीको आनीबानीले भिन्दै प्रकारको आनन्दानुभूति प्राप्त हुन्छ। छोरो पनि जन्मिएको त त्यही आदिम ओडारबाटै त हो। तथापि, उसलाई त आफ्नै स्वार्थ प्यारो छ। एकदमै मतलवी छ।

कौशल्याको स्कुलको बाहिरी फाटकसामु सहदेवले बाइक रोके। कौशल्या ‘बाइ—बाइ’ को हात हल्लाउँदै भित्रतिर कुदिन्। सहदेवको बाइक फेरि अगाडि बढ्यो।

जाँदाजाँदै बाटोमा मन्दोदरीकी ‘प्रिन्सिपल म्याम’ को गाडीसँग भेट भयो। महेश्वरी म्यामले मन्दोदरीलाई डाकिन्। मन्दोदरी नचाहेरै गाडीभित्र बसिन्।

शिवानीलाई नपुग्दो के छ, भन त मेडम ? तर उपहार त गतिलै लान पर्‍यो नि हैन? हो, यस्तै यस्तै कुरामा हाम्रो खाता रित्तिन्छ म्याम! समय र सन्जोगले जुराइदिएको साइनो छ नि! तिम्री प्यारी साथी। अनि प्यारी साथीको आदरणीय दाजु म। मेरो हातमा छ, अबरपति ‘बहिनी-साथी’ को ‘ह्याप्पी म्यारिज एन्निभर्सरी पार्टी’ को निमन्त्रणा-पत्र !

स्कुलको अफिसमा पुगेपछि म्यामले भनिन्-‘किन झन्झट व्यहोरिरहनुहुन्छ म्याम? कौशल्यालाई हाम्रै स्कुलमा भर्ना गरौँ न। आमाछोरीलाई आउन र जान सजिलो हुन्छ।’

कति सुन्नु र कति जवाफ दिनु आफ्नी प्रिन्सिपललाई। तैपनि भन्न वाध्य भइन्-‘मेरा छोरा—छोरी नै ‘प्ले ग्रुप’ देखि त्यो स्कुलमा पढेका हुन्। अझ छोरो त त्यही कलेजमा पढिरहेछ। छोरी पनि स्कुल फेर्न मान्दिन। ऊ हरेक साल फस्र्ट-फस्र्ट हुन्छे।’

यता प्रिन्सिपलले मन्दोदरीको टाउको दुखाइदिइन्। उता सहदेवको दिमाग चाट्ने काम तल्लो कर्मचारीले गरे। कामै गर्दैनन् बा! खालि मोबाइल चलाइरहेका छन् ।

अन्ततः सहदेवले रातो मुख पार्नै पर्‍यो। उनले भने- ‘हेर्नोस् दधिरामजी! श्रीमतीलाई ‘पोइल जान’ वाध्य पार्ने यस्तै हर्कतले हो। कार्यालयमा त यस्तो ताल छ! घरमा झन् घोप्टो परेको पर्‍यै गर्ने होला। त्यही मौकामा श्रीमतीलाई कसैले…।’

दधिरामजीले सहदेव सरको मानहानी हुनेगरी जवाफ फर्काए-‘हजुर नै पर्नोस् न त उत्तानो! मेरो त घोप्टो पर्ने बानी छ। घोप्टो नै पर्छु! आखिर यो ‘घोप्टे युग’ नै हो क्यारे!’

‘निजामती ट्रेड युनियन’ को सदस्यरूपी साँढेलाई कसले छुन सक्छ? ज्यान गयो ‘निजामती शहीद’ हरूको। तर दधिरामजस्ता ‘कामचोर’ कर्मचारीहरूले दुरूपयोग गरिरहेका छन्।

यता नकुल घरमा आइपुग्यो। त्यही बेला उसको मोबाइल ‘भाइब्रेट’ भयो। उसलाई रिस पोख्ने मौका मिलिहाल्यो । तब कराउन थाल्यो—‘यो के हो दाइ? तरकारी त गतिलो छैन-छैन। भातसमेत मलाई नराख्दिएर के गर्न खोजेको हजुरहरूले?’

उताबाट दाइले हैन, उसको पिताले फोन गरेका थिए। नकुल सहदेवलाई ‘दाइ’ सम्बोधन गर्ने गर्दछ। नकुलको दाइ भनिटोपलिएका पिताले सम्झाए-‘ममीले कुकरमा चामल र पानी हालेर ठिक्क पारिदिएकी छिन्। चुलो बालेर पकाएर खाऊ। अँ, तरकारी मीठो भएन भने अण्डा पकाएर खाए हुन्छ नि त।’

-‘अँ, यही एउटा काम बाँकी छ मेरो!’ कस्तो निफुर्किएको छोरो होला! बाबालाई खाऊँलाझैं गरेर करायो। कुकरमा ठिक पारिदिएको चामल पकाउन नजान्ने!

घरमा अण्डा सकिएको रहेछ। उनीहरूकै घरसँग जोडिएको घरमा किराना पसल छ। अहँ, नकुललाई जाँगर लागेन। चाउचाउ पकाएर भोक मार्‍यो।

अपरान्हमा सहदेवलाई छोरीको स्कुलबाट फोन आयो। नकुल बहिनीलाई लिन नगएर साथीहरूसँग बजार डुल्न गएछ। एक घण्टाअघि घर जान खोज्दा कम्प्युटरमा तास खेलेर समय बरबाद पारिरहेका कार्यालय प्रमुखले वचन लगाएर छाडे।

बेलुका कौशल्या होमओर्क गर्दैछिन्। नकुल घाइते हालतमा घरमा आइपुग्यो। खाना पकाइरहेका सहदेवले हकारे—‘आज पनि बाइक लडाएर आएको तँ? किन साथीको बाइक चढ्न परेको तँलाई? अनि पैसा के गरिस् नि?’

नकुलले सजिलै उत्तर दियो-‘जुत्ता किनेँ। साथीको बाइकमा पेट्रोल हालिदिएँ। आफ्नो त नयाँ किनेको भए पो चढ्नु।’

केही बेरपछि नकुल किताब अगाडि राखेर मोबाइलमा व्यस्त हुन थाल्यो। दाइले देख्लान् भनेर पर्दाले छेक्यो। कौशल्याले नेपथ्यबाटै अनुरोध गरिन्-‘दादा, दादा। यता आउनोस् त एक पटक। मलाई एउटा हिसाब सिकाइदिनोस् न।’

दादाले नमिठो वचन लगायो-‘तँ आफ्नो क्लासकी ‘फस्र्ट गर्ल’ भएर पनि त्यति जाबो ‘म्याथ’ आउँदैन? म आफ्नो पाठ पढूँ कि तँलाई सिकाइदिनु? फुर्सद छैन मलाई।’

दादाको ताल देखेर उनको चित्त दुख्यो। उनले बिरालाको चालले अघि बढेर दादाको पुस्तक लिएर लुसुक्क फर्किइन्। कौशल्याले त्यो किताब ड्याडीसामु राखिदिइन्। सहदेव छोराको कान समात्न पुगिहाले-‘तँलाई नालायक! यही हो तैँले पढेको?’

छोराले बिहान चाउचाउ खाएर पेट भर्नु पर्नाको समेत रिस खन्यायो—‘मैले पास गरेर देखाए भएन हजुरहरूलाई? खाली पढ् पढ् भनेर मात्र हुन्छ? गतिलो कलेज पनि त हुनुप¥यो! बिहान पनि भोक्कै राख्नुभयो। अहिले पनि ज्यानमाथि हमला? मार्दिनोस् बरु मलाई। म मरेर के हुन्छ र? प्यारी छोरी छँदैछे नि।’

उफ्! नकुलले त जात्रै देखाइदियो गाँट्ठे! बिचरी कौशल्या! दादाको उपद्रो देखेर सुँकसुँकाउन थालिन्। श्रीमान्को हातमा तानेर मन्दोदरीले किचेनमा ल्याइन् र गुनासो गरिन्-‘तपाईँ किन जान्ने पल्टेर छोरालाई हातपात गर्नुपरेको? जे गर्नुपरे पनि मैँ गर्थेँ नि सर!’

सहदेव निकै जोशमा आए-‘गरिहाल्यौ नि खुब! बेलैमा तह लगाउन सकेकी भए आज यस्तो घमण्डी भएर निस्किन्थ्यो तिम्रो छोरो?’

बाबा, आमा यतातिर बहस गर्न लागे। उता नकुलले बहिनीलाई पाट्पिट् पार्दै दुर्वचन बोल्यो—‘खान जन्मिेकी रैछेस्! त्यसकै लागि त ढिलो जन्माएका तँलाई। यो घरमा तँ मात्र बस्। गएँ म।’

नकुल बैठक कोठाबाट निस्केर हिँड्यो। कौशल्या रुँदै किचेनमा पुगिन्। त्यही बखत माथिबाट घरबेटी बा आए र हाँस्दै भन्न लागे—‘सुरू ग¥यो हैन त आज पनि नकुलले महाभारत? हाहाहा…! बाउलाई दाइ भन्नेहरू यस्तै हुन्छन् सहदेव बाबु! जब रामायण र महाभारतका पात्रहरू नै यहीँ छन् भने किन पढिरहनु पर्‍यो किताबको ठेली? नाम त जानेर राखेको हो बा! छिमेकीहरूलाई पनि बोलाऊँ कि मन्दोदरी म्याम? हाहाहा…।’

करिब एक हप्ता बित्यो। नकुल भेटिएन। कलेज पनि गएको रहेनछ। तर अचानक रातको बीचमा शिवानीले मन्दोदरीलाई फोनमा भनिन्—‘तेरो छोरो घरमा झगडा गरेर आएजस्तो लाग्यो। तर तँ चिन्ता न लि मन्दोदरी। उसलाई म सम्झाऊँला।’

दादा घरमा नहुँदा कौशल्यालाई त्यो रात पनि निद्रा परेन। ममीले छोरीको कपाल सुुमसुम्याउँदै सोधिन्—‘दादाको साह्रै याद आइरहेछ हो छोरी? तिमी पीर नगर। भोलि बिहानै आउनुहुन्छ तिम्रो…।’

-‘ममी, ममी! म एउटा कुरा सोध्छु। हजुर नरिसाउनोस्, हस्?’ ममीको अन्तिम वाक्य पूरा नहुँदै छोरीले सवाल गरिन्। ममीको मुटुमा चसक्क घोच्यो। उनले भनिन्-‘प्रष्टसँग सोध छोरी। तिमीले जे सोधे पनि म रिसाउँदिनँ। कसम रिसाउँदिनँ।’

कौशल्या पानी पिउने निहुँ पारेर उठिन् र भन्न लागिन्- ‘आज ड्याडीले दालमा नुन अलि बेसी नै हाल्नुभएछ क्यारे।’

ममीले सहजै उत्तर दिइन्-‘तिमीलाई मात्र त्यस्तो लागेको होला। आज त झन् मीठो खाना थियो। मलाई त तिम्रो ड्याडीले पकाएको बेला माइतीको भान्छामा खाएजस्तै लाग्छ नानू।’

थोरै पानी पिएर सोफामा बस्दै कौशल्याले बडो मार्मिक सवाल गरिन्—‘मलाई हजुरहरूले किन ढिलो जन्माउनु भएको ममी? म त दादाको भाग खोस्न आएकी रे! म मरेँ भने दादा मात्र सम्पत्तिको मालिक बन्नुहुन्छ रे हो ममी?’

-‘हे भग्वान्! यो के सुन्दैछु म !’ मन्दोदरीको सातोपुत्लो उड्यो! उनी जुरूक्क उठेर गई छोरीको पाउमा समातेर भन्न लागिन्—‘हैन छोरी, हैन। कसले सिकायो तिमीलाई ? यत्ति सानी मान्छेले यत्ति ठूलो कुरा कसरी जान्यौ भन त?’

मन्दोदरीले कौशल्यालाई चपक्क अँगालोमा बेरिन्। उनका आँखाबाट असार-साउन वर्षिन थाले। ममीको त्यस्तो हालत देखेर कौशल्यालाई पीर पर्न थाल्यो। तब नाटकीय शैलीमा अट्टहास गदै भन्न लागिन्- ‘हाहाहा…! हेहेहे…! लौ! ममी त त्यत्तिकै रून थाल्नुभयो। मैले त अस्ति टीभीमा हेरेकी फिल्मको ‘कपि’ पो गरेकी त।’

त्यति भनिसकेपछि उनी चुपचाप ओछ्यानमा गई सुतिन्। अर्को कोठामा सहदेव भर्खरैजसो सुतेका थिए। बल्ल आँखा लाग्ला—लाग्लाजस्तो भएको थियो। एक्कासि गालामा तातो आँसु तप्केको आभास भयो। पत्नीको रुवाइ देखेर छक्क परे!

पत्नीले खास कुरा बताइदिइन्। त्यसपछि त उनको पनि फोक्सो फुल्न थालिहाल्यो! छोराको हर्कतबाट उनी मर्माहित भए। आधा रातसम्म निदाउन सकेनन्।

भोलिपल्ट बिहानै तीनैजना नकुललाई लिन शिवानीको घरमा पुगे। सहदेवले बाइकलाई गेटबाट भित्र लगेनन्। उनलाई एक प्रकारको लघुताभासले सतायो।

शिवानीले मन्दोदरीलाई अङ्कमाल गरेर आत्मीयता प्रदर्शन गरिन्। सहदेवले नमस्कारमै चित्त बुझाए। कौशल्याले बालसुलभता प्रदर्शन गर्दै शिवानी आन्टीलाई नमस्कार गरिन् र पिङ्ग भएतिर कुदिन्। होटलको लबीजस्तो बैठकमा बसाउँदै शिवानीले भनिन्—‘सुनको पिँजडामा दाइहरूलाई हार्दिक स्वागत छ।’

-‘हाहाहा…। पिजडा हैन, सुनको महल भन न शिवानी बहिनी। किन आफ्नो मान आफैंले घटाउँछ्यौ?’ सहदेवले हाँस्दै प्रतिक्रिया दिए।
मन्दोदरीले पनि टिप्पणी गरिन्-‘मान्छेलाई जत्ति भए पनि चित्त बुझ्दैन रहेछ शिवानी। तँलाई यहाँ केको कमी छ र ‘चरी जेलैमा’ भन्ने गीतको ‘फ्यान’ बन्न खोज्छेस्? हामीलाई पो गाह्रो छ त। मक्केको लुगाजस्तो छ हाम्रो जिन्दगी। यता टाल्यो, उता च्यातिन्छ। उता टाल्यो, फेरि अर्कोतिर च्यातिन्छ।’

शिवानीकी भदैनी ‘ब्रेकफास्ट’ को ‘ट्रे’ बोकेर उपस्थित भई। उसको नाम कल्पना हो। पछिल्तिर नकुल देखियो। नकुल र कल्पना मिलेर ब्रेकफास्ट दिए।

मन्दोदरीले सोधिन्-‘शिवानी! मलाई एउटा कुरा नढाँटी बता त। नकुल यो पाली मात्र आएको हो कि अरू दिन पनि धाउने गथ्र्यो?’
शिवानीले मस्किँदै जवाफ दिइन्-‘जसरी तँलाई शिवानीसँग भेट्न कुनै आइतबार कुर्न पर्दैन। ठीक उसैगरी नकुललाई पनि कल्पनासँग…।’

सहदेवले कुरा काट्दै व्यङग्यात्मक शैलीमा भने- ‘यिनलाई मात्र आउने रहेछ ‘टीन एज’! तिमी, हामी त त्यत्तिकै यो उमेरका भएछौँ हैन त? तिमी पनि बोल न मन्दोदरी।’

कुरा हुँदै थियो। पिङ्गमा रमाइरहेकी कौशल्या दौडँदै आइपुगिन्। उनले दादाको हात समाउँदै भनिन्—‘किन हजुर हामीलाई नभनी आन्टीको घरमा लुकेर बस्नुभएको दादा?’

आन्टीले नकुललाई बहिनीसँग माफी माग्न लगाइन्। उसले उनको कुरा मान्यो। अबदेखि बहिनीको मन दुख्ने कुरा नगर्ने कसम पनि खायो।
कौशल्या खुसी भइन्। उनले ममीको कानैमा मुख लगेर खासखुस कुरा गरिन्। उनले दादाको मोबाइलमा कल्पनाका फोटाहरू देखेकी रहिछन्।

ब्रेकफास्ट खाँदै गर्दा सहदेवको मोबाइलमा ‘कल’ आयो। उनले थाहा पाए, ट्युसन पढ्ने केटाहरू घरमा आइसकेका रहेछन्। तब उनलाई जान हतार भैहाल्यो। तर शिवानीले मन्दोदरीलाई रोकिन्। पछि मोटरमा पुर्‍याइदिने वचन दिइन्।

नकुल त कल्पनासँगै घरभित्र कतै हराइसकेको थियो। ऊ त कल्पनालाई ‘गर्लफ्रेण्ड’ बनाउन पाएकोमा मख्ख थियो। कौशल्या पनि ड्याडीसँगै फर्किइन्। प्रिय साथी शिवानी यत्रो महलमा बसेर, सुख भोग गरेर पनि सन्तुष्ट नभएकी देखेर मन्दोदरीलाई आश्चर्य लाग्यो!

शिवानीलाई भौतिक सुख चाहिएको थिएन। उनलाई त स्वतन्त्रता चाहिएको थियो। सबैभन्दा ठूलो कुरो त उनलाई नाम चाहिएको थियो। उनको चाहना थियो, ‘प्रोफेसर’ बन्ने। उनले केही समय कलेजहरूमा प्राध्यापन गरेकी पनि हुन्।

तर व्यापारिक घरानामा बिहेवारी भएपछि शिवानीको उक्त चाहनामा तुषारापात लाग्यो। पति जताजता, पत्नी त्यतात्यता। योग्यता भएर के काम लाग्यो ? त्यही भएर उनी आफूलाई ‘सुनको पिजडामा कैद गरिएकी चरी’ ठान्दछिन्।

शिवानीले मन्दोदरीको हातमा एउटा निमन्त्रणा-पत्र थमाइन्। मन्दोदरीले सरर्र पढिन् र अग्रिम शुभकामना व्यक्त गरिन्। शिवानीले मन्दोदरीलाई सुझाव दिइन्। नकुललाई गाली गरेर हैन, मायाले सम्झाउन भनिन्।

शिवानीले आफ्नो एक मात्र सन्तानको दृष्टान्त सुनाइन्। उनकी छोरीलाई यहाँ नपुग्दो के थियो र? तर उसलाई ‘बिजनेस’ मा ‘इन्ट्रेष्ट’ नै भएन। न त आमाको सपनालाई साकार पार्नतिर लागी। विदेश पढ्न गई।

तर डाक्टर पनि भइन्। इन्जिनियर पनि बनिन्। एउटा खैरेको मायाजालमा परी र उसकै होटलको म्यानेजर बनेर सेवा गर्दैछे।
साँझपख सहदेवहरू एकै ठाउँमा जम्मा भएर छलफल गर्दैछन्। नकुलले हातबाट मोबाइल छाड्न सकेको छैन।

ड्याडी भन्छन्-‘कत्ति मोबाइलमा घोप्टो परेको छोरा। तँलाई एउटा कुरा थाहा छ? मेरो एउटा डाक्टर साथीले भनेको, अत्याधिक मोबाइल चलाएर मानिसहरू अनेक रोगको सिकार बन्दै गइरहेका छन् रे! निद्रा नलाग्ने, अपच हुने, ग्याष्ट्रिकले सताउने, गर्धन दुख्ने रोगीहरूको लाम छ रे क्लिनिकमा!’

– ‘राम्रै भो नि दाइ।’ नकुलले मोबाइल नछाडी कुतर्क गर्‍यो-‘जति धेरै बिरामी भयो, उति धेरै डाक्टरलाई फाइदा हुन्छ। हामीलाई मात्र घोप्टेको देख्छन्। बिरामी जाँच्दा र ‘प्रेसक्रिप्सन’ लेख्दा डाक्टरहरू पनि त घोप्टिन्छन् नि दाइ?’

थालमा खाजा छ। तर उसलाई के खाइरहेछु भन्ने पत्तै छैन। कौशल्याले सुटुक्क थाल हटाइदिइन् र चियाको गिलास राखिदिइन्। पायो स्वाद खाजाको! थालमा हालेको हात गिलासभित्र पस्यो र तातो चियाले पोलेर चिच्यायो।

तीनैजना मज्जाले हाँसे। नकुलले बहिनीको हर्कत हो भनेर थाहा पाइहाल्यो। ऊ पिट्नलाई उठिसकेको थियो। ड्याडीले कुममा समातेर थेचारिदिए। नकुल बेसरी कराउन थाल्यो।

बहिनीलाई दादाको माया लाग्यो र कुदेर गइन्। उनले ‘फ्रिज’ बाट बरफका टुक्राहरू बटुलेर एउटा कपडामा पोको पारी पोलेको ठाउँमा सेकिदिन खोजिन्। नकुलले गाली गर्दै बहिनीको हात फालिदियो।

ममीले राम्रो मुखले सम्झाउन लागिन्-‘हेर छोरा! हामीले तिमीबाट केही पाउने आशा गरेका छैनौँ। हामी चाहन्छौँ, तिम्रो भविश्य उज्ज्वल बनोस्। विदेशै ताकेरचाहिँ केही हुन्न है।’

छोराले उही ‘रेडिमेड’ उत्तर दियो—‘हैन मम्! म त युरोप नै जाने हो। मेरै चार जना साथीहरूको ‘भीसा’ लागिसक्यो!’

छोराको कुरा सुनेर सहदेवको बर्बनी तातेर आयो र हकारे- ‘अँ, अँ! विदेशमा त सित्तैँमा डलर टिप्न पाइन्छ होला नि! तँलाई विदेशै जान मन छ भने अर्को बाटो पनि त खुला छ। लोकसेवा पास गरेर परराष्ट्र मन्त्रालयमा परिस् भने त राजदूतावास…!’

-‘फेरि उही कुरा? फेरि पुरानै रटान हजुरको ?’ छोरो एक्कासि चिच्याएर भन्न लाग्यो-‘मलाई यो झारे लोकसेवाको कुरै नगर्नोस् भनेको छु त। हजुरले के पाउनुभयो भन्नोस् त? कुनै नेताको गुलामी नगरी जागीरमा टिक्न सक्नुहुन्छ? प्रमोसन पाउनुभएको छ? सरूवा माग्दा पाउनुभयो?’

-‘यो कुराचाहिँ ठीकै गरिस् छोरा!’ ममीले मनको उहापोह पोखिन्-‘अहिले देशमा भएकै त्यही छ। जनताका छोराछोरीहरू मरेर गए। मोज गर्नेचाहिँ नेताका सन्तानहरू! जनताका छोराछोरीलाई ‘बुर्जुवा शिक्षा’ को नाममा स्कुल बहिष्कार गर्न लगाई काँधमा बन्दूक भिराए। तर नेताका सन्तान विदेशमा पढाए। आज सरकारी सुविधा खानेहरू तिनै छन्।’

ड्याडीको बढी ‘भासन’ सुन्नुपर्ला भनेर नकुल बाहिर निस्कियो। छोराको ताल देखेर सहदेव निराश भए। उनी टेबलको कम्प्युटरमा काम गर्न मेचमा बसे। तर बिहानको निमन्त्रणा-पत्रले उनको ध्यान खिचिदियो।

उनले उक्त कार्ड उठाए। पुस्तक-दराजमा पनि केही कार्डहरू थिए। सबै कार्डहरू लिएर उनी भान्छामा गए। उनले छोरीलाई पल्लो कोठामा गएर होमओर्क गर्न आग्रह गरे।

तरकारी केलाउँदै गरेकी मन्दोदरीले भनिन्-‘अब त केन्द्रीय राजधानीमा टिक्न नसकिएलाजस्तो छ श्रीमान्जी! चाँडै सरूवा मिलाउनूस्। अब आफ्नै राजधानीमा गई काम गरौँ हुन्न र?’

श्रीमान् आश्चर्य मान्दै भन्छन्-‘तिम्रा साथीहरू छन्। मेरा साथीहरू छन्। तिनीहरूलाई जे गर्न पनि पुगेकै छ! ‘पास्नीदेखि लिएर बर्थ डे पार्टीसम्म, ब्रतबन्धदेखि लिएर एन्नीभर्सरी पार्टीसम्म’ खर्च गर्न सक्छन्! हरेक महिना लुगा किन्छन्। पहेँलो धातुका गहना फेरी फेरी लगाएकै छन्!’

श्रीमती थप्छिन्-‘सबैभन्दा गाह्रो त हामीजस्ता निम्न-मध्यम वर्गीय परिवारलाई छ सहदेव सर! निमन्त्रणा आएको ठाउँमा जानै पर्‍यो। नत्र साथी-भाइको समूहमा ‘कन्जुस’ को उप-नामले परिचित भइन्छ। गयो भने सधैँभरि अभावै अभावसँग सामना गर्नुपर्छ। न त तलै झरेर बस्न सकिन्छ । न त सकिन्छ माथि नै पुग्न।’

सहदेवले प्रसङ्गकै कुरा गरे-‘शिवानीलाई नपुग्दो के छ, भन त मेडम ? तर उपहार त गतिलै लान पर्‍यो नि हैन? हो, यस्तै यस्तै कुरामा हाम्रो खाता रित्तिन्छ म्याम! समय र सन्जोगले जुराइदिएको साइनो छ नि! तिम्री प्यारी साथी। अनि प्यारी साथीको आदरणीय दाजु म। मेरो हातमा छ, अबरपति ‘बहिनी-साथी’ को ‘ह्याप्पी म्यारिज एन्निभर्सरी पार्टी’ को निमन्त्रणा-पत्र !’

अन्ततः सहदेव र मन्दोदरीले सरकारको ‘सङ्घीय शासन’ को मर्मलाई आत्मसात् गर्नै पर्ने भयो। काठमाडौँ छाड्ने निर्णयमा पुगे।
तर नकुलले ‘ब्ल्याक मेलिङ्ग’ गर्‍यो! साइत पारेर डेराघरबाट प्रस्थान गर्ने बेलामा शिवानीको मोटर आएर बाटो छेक्यो। नकुल र शिवानी मोटरबाट ओर्लिए।

शिवानीले भनिन्-‘यो तैँले राम्रो निर्णय गरिनस् साथी! नकुलले भर्खरै हाम्रो कम्पनीमा काम सिक्दै छ। तेरो यो हर्कतले छोराको प्रगतिको बाटोमा काँडा बिछ्याएजस्तो भयो मन्दोदरी!’

सहदेवलाई झनक्क रिस उठ्यो र जवाफ दिए-‘हाम्रो छोरो, तिम्रो पनि छोरै सरह हो। यसलाई तिमीले लगेर राख न त शिवानी बहिनी। युरोप जाने रहर छ यसको। तिमीले नै पठाइदेऊ।’

नकुल पछि हट्दै भन्छ-‘म त जान्नँ हजुरहरूसँग।’

मन्दोदरीले शिवानीलाई जिस्क्याइन्-‘के छ विचार शिवानी? लगेर पाल्छेस् त हाम्रो छोरालाई?’
शिवानीले मुखले जवाफ दिइनन्। व्यवहारले देखाइदिइन्। नकुललाई अँगालो हाल्दै मोटरमा बसाइन्। मोटर स्टार्ट गरिन्। नकुलको पारा देखेर सहदेवलाई उदेक लाग्यो।

मन्दोदरीले भित्र अरू कोही छ कि भनेर शिशाबाट हेरिन्। पछिल्लो सिटमा कल्पना बसेकी रैछ। उसले नमस्कार गरी। तब मन्दोदरीको मुटमा चसक्क गर्‍यो। मोटर गुड्यो।

तब कौशल्या भन्न लागिन्-‘ममी, रोक्नूस् न दादालाई। छिटो रोक्नूस् न। ममी, ड्याडी! ममी…!’
ड्याडीले सम्झाए-‘तिम्रो दादा आजदेखि पराई भयो छोरी। ऊ अब विदेश जान्छ। अब हामी गाउँ जाने। गाउँको घरमा हजुरआमा, हजुरबुबाले नातिनी कहिले आउँछिन् भनेर बाटो हेरिरहनुभएको छ छोरी। जाऊँ हामी।’

शिवानीको मोटर ओझेल परिसकेको छ। एउटा ट्याक्सी आएर रोकिन्छ। सहदेवहरू ‘ब्रिफकेस र झोलाहरू ‘लोड’ गर्न थाल्छन्। तीनैजना पछिल्लो सिटमा बस्छन्। ढोका लगाउँछन्। ट्याक्सी बसपार्कको बाटोतिर हुइँकिन्छ। हुइँकिरहन्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *