व्यंग्य : टिकटको कुरै बिकट

डिसी नेपाल
१७ वैशाख २०७९ ६:३४

चुनाव निकट आएपछि जहिले पनि टिकट पाउने विकट अभिलाषा मनमा पलाउने र टिकट पाउनको लागि सबै शक्तिलाई चलाउने अनि आफ्नो तालुमा टिकटको आलु फलाउने ध्यानमा सबै जना लागेका देखिन्छन्।

चुनाव आउनु भनेको नेताहरूले दुःख पाउनु हो भने जस्तो भएको छ। तह तहको चुनावको टिकट बाँड्दा लहलह गरी नगदे बाली भित्र्याउनेहरूको पनि कुनै कमी हुँदैन रे भन्ने सुनिन्छ।

जसरी हुन्छ टिकट भ्याउने र जित्नको लागि आवश्यक भोट ल्याउने कुरा बाहेक यतिखेर कुनै पनि नेताहरूको दिमागमा कुनै कुरा छैन। टिकट दिनुपर्ने अन्तिम अवस्थामा विभिन्न तरिकाले अड्काउने र जुनसुकै तरिकाले भए पनि आफैं वा आफ्नाका लागि पड्काउने र यसैमार्फत् आफूले चाहेको पद छड्काउने चक्करमा तलदेखि माथिसम्मका नेताहरू लागेका छन्।

नचाहिँदो र फाइदा लिन नसकिने व्यक्तिलाई टिकट दिने गल्ती भयो भने आफ्नो खल्ती समेत नभरिने डर पनि छ अर्कोतिर। टिकटको नाम लिएर पार्टीको लागि भन्दै ठूलै मात्रामा नगद बुझ्ने काम पनि हुन्छ रे भन्ने सुनिन्छ।

लिने र दिनेले प्रष्ट रूपमा नबताएसम्म कसैले पत्तो पाउने कुरो पनि आएन। अहिले स्थानीय तहको लागि चुनाव हुने, यसैले त्यहाँका सबै मुख्य मुख्य पद छुने, यसैको माध्यमबाट पक्ष विपक्षबाट लागेका सबैको पाप धुने र आफ्नो प्रगति देखेर बाहिर हाँसे जस्तो गरे पनि विरोधीहरू भित्र भित्र रुने हुनाले टिकट पाउनै पर्ने अनिवार्यता भएको हो।

यो टिकट भन्ने वस्तुले पनि आफ्नो अस्तु नसेलाएसम्म दुःख दिने रहेछ। टिकट पाउनेलाई पनि समस्या, टिकट नपाउनेलाई पनि समस्या, टिकट दिनेलाई पनि समस्या, टिकट नदिनेलाई पनि समस्या, टिकटको लागि सिफारिस गर्नेलाई पनि समस्या, टिकटको लागि सिफारिस नगर्नेलाई पनि समस्या, टिकटको लागि पैसा खर्च गर्नेलाई पनि समस्या, टिकटको लागि सूको खर्च नगर्नेलाई पनि समस्या आदिआदि भएकोले समस्याको पोको ठानिएपनि टिकट पाउने सबैको धोको उत्तिकै देखिन्छ।

पहिले स्थानीय तहको सिफारिसमा पर्‍यो। त्यसपछि जिल्लाबाट सिफारिसमा पर्नको लागि विभिन्न बाधा र अप्ठ्याराहरू तर्ने प्रयास गर्‍याे। जिल्लाको सिफारिसको चरण पार गरेपछि प्रदेश र केन्द्रीय नेताहरूले भार सम्झने हुनाले त्यो मारबाट बच्नको लागि कतै पनि हार नमानिकन विभिन्न धारका नेताहरू कहाँ घर दैलो गर्नै पर्‍यो।

देशको अत्यन्त प्रजातान्त्रिक दलको निरंकुश उर्दी र फरमानले स्वघोषित महान नेताको सुपुत्रीको फेरि मेयर हुने अरमानमा बाधा नपरोस् भनेर सारै चिन्तित भएका शिर्षहरुलेपनि टिकटबाट निकै बिकट समस्या झेलिरहेको र उनिहरुको दिमाग यसैमामात्रै खेलिरहेको प्रष्ट देखिन्छ।

त्यसो गर्नलाई आफू मात्रै पुगेर पनि भएन। यसो देखाउन र नेताहरूको सहमति लेखाउन ठूलै दलबल लिएर जानुपर्‍यो। फेरि गुट उपगुट यो त्यताको त्यो उताको त्यो यताको त्यो उसको ऊ उसको त्यो यसको भन्दा भन्दै आफू कसको भन्ने नै भुलिने अवस्था हुने हो कि भन्ने जस्तो पनि हुँदो रहेछ ।

त्यसै पनि टिकट बितरण गर्ने काम घाँडो भएकोले नेताहरूले चाँडो निर्णय गर्न नसक्ने भनेर सबैलाई राम्ररी थाहा भएकोमा यसपालि विभिन्न दलहरूको अत्यन्त सँकिर्ण गठबन्धन र भावी स्वार्थले टिकटका आकांक्षीहरूलाई ठूलो समस्यामा पारेको हुनाले कतिले त टिकटलाई माया मारेको पनि सुनिन्छ ।

टिकट वितरणको चरण विना झमेला पार गर्न सक्यो भने गठबन्धनको घोषणा गर्ने नेताहरूको निद्रा हरण नहुने र अझ अर्को शरण खोज्दै हिंड्नु नपर्ने हुँदो रहेछ। टिकटको वायुले सतायो भने गठबन्धनको आयु पनि चुनाव अगाडि नै समाप्त हुन बेर लाग्दैन भनेर ठूला नेताहरु बकेपनि र लाज शरम घिन जस्ता अखाद्य बस्तुहरुलाइ सजिलै पचाउन सकेपनि गठबन्धन तोड्न खोज्नु भनेको आफैंले आफ्नो टाउको फोड्नु बराबर हो भन्ने स्वघोषि शिर्ष नेताहरुलाइ राम्ररी थाहा छ।

विभिन्न सोच, विभिन्न विचार, विभिन्न सिद्धान्त, विभिन्न दर्शन, विभिन्न स्वार्थ र विभिन्न शक्तिको भक्तिमा मौलाएका र टिकटको कारणले आफूहरूले गर्दै आएको राईंदाईं समाप्त हुने हो कि भन्ने डरले बौलाएका जमातले चुनावकै लागि रचेको गठबन्धन नामक नाटकको पर्दा टिकटको मुद्दा अघिसर्दा नै बन्द भएर फेरि उहि पुरानै छन्दमा फर्कने हो कि भन्ने डर पनि कायमै छ।

हाम्रो गठबन्धनले कुन्नि को को तर्सेर अत्तालिएको अवस्थामा विपक्षीहरूबाट यस्ता यस्ता शब्द बर्सेर ठूलो गफ गर्नेहरूलाई टिकटले सताएको र गाह्रो पर्ला जस्तो छ भनेर आफ्ना नजिककालाई बताएको हल्ला पनि बाहिर सुनिएको छ।

हिजोसम्म पानी बाराबार र देखिने नै गरी हरेक ठाउँमा मारामार गरेका दलहरूले देश र जनताका समस्याहरू हल गर्न गठबन्धन गरेको भने पनि एक अर्कालाई छल गरेर त्यसको मीठो फल चाख्ने उद्देश्य नै हो भन्ने सबैले बुझेकै विषय हो।

घिउ बेच्ने र तरवार बेच्नेहरूको कथा पुरानो भएकोले अब इमान, धर्म, सिद्धान्त, नैतिकता, आदर्श आदि सबै बेचेर प्रशस्त नाफा कमाइ सकेका, मुख्य मुख्य पद जति सबैमा पुगेर मजाले रमाई सकेका, अकूत सम्पत्ति आर्जन गरेर निकै पुस्तासम्मको लागि नवधनाढ्यको सूचीमा आफ्नो खुट्टा जमाई सकेका र दुई चार पुस्तासम्म पनि सुल्झिन नसक्ने समस्याहरूको पोको जनतालाई थमाई सकेका स्वघोषित दिग्गज नेताहरूले टिकटको माध्यमबाट सबैलाई मनोरञ्जन चाहिँ दिइरहेका नै छन्।

कुनै पनि चिजको गहिराइमा नपुगिकन मोती टिप्ने सपनाको कुरा गर्दा धोती फुस्कने बानी परेका नेताहरूलाई अर्ती उपदेशले पनि खासै काम गरेको देखिंदैन। जुनबेला जे मन लाग्यो, जे गर्ने इच्छा जाग्यो सोच विचारै नगरी आँखा चिम्लेर त्यसैको पछि पछि भाग्यो र जस्तोसुकै गल्ती भए पनि लाजै नमानिकन दाँत देखाउँदै जनतासित भोट माग्यो।

अहिलेको गठबन्धन पनि त्यस्तै मध्येको एउटा निर्णय हुन सक्छ र यसले गठबन्धनको भविष्यलाई नराम्रोसँग छुन सक्छ। टिकट दिनेको लागि सबै भन्दा पहिला त आफ्नै नाम पक्का गर्न अनेक छक्का पन्जा गरेर गतिलो धक्का नदिई हुँदैन। बाहिर जति नै गफ चुटे पनि र अर्काको दिमाग जति नै भुटे पनि टिकट त त्याग्न सक्ने कुरै भएन।

आफूले टिकट पाउने निधो भएपछि आफ्नो श्रीमती, गर्लफेन्ड, आफ्नो छोरा, आफ्नो छोरी, बुहारी, ज्वाईं, साला, साली, सासु, ससुरा, मित, भाइ, भतिजा, भान्जा, भान्जी, दाजुभाइ, छिमेकी, गाउँले आदिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। त्यसपछि पार्टीमा राम्रो पकड भएका, नाम चलेका, चुनाव जित्न सक्ने, आफ्ना नजिकका सहयोगीहरू पर्छन्।

त्यसपछि आफ्नै पार्टीका भए पनि विरोध गरेर अप्ठ्यारोमा पार्न र मौका पर्‍यो भने कैंची मार्न सक्नेहरू पर्छन्। लोकलाजबाट बच्न पनि एक दुई जना इमानदार र आदर्शवादीहरूलाई पनि हेर्नै पर्‍यो। विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराउनको लागि अलि अलि विचार गर्नै पर्‍यो।

विदेशी दूतावासबाट सिफारिस भएकाहरूलाई छुटाउनै भएन। उत्तर दक्षिणको आदेश रूपी अनुरोधलाई लत्याउनु भनेको आफ्नै लागि दुर्दशा हत्याउनु जस्तै भएकोले जनताले पत्याउनु पनि पर्‍यो। आफ्नो पिता माता भन्दा पनि नजिकको सम्बन्ध भएका दाताहरूको खाता अनुसार टिकट उपलब्ध हुने ब्यबस्था नगराए आफ्नो उठिबास लाग्ने सम्भावना हुने हुनाले त्यतातिर त विशेष ध्यान पुर्‍याउनै पर्‍यो।

जिल्लाबाट आउने सिफारिसलाई सन्तुलन मिलाउने र टिकट दिलाउने काम नगरे समस्यामा परिने अनि भविष्यमा टिकट दिने हैसियतबाट झरिने प्रबल सम्भावना रहन्छ।

यति गरी सकेर बचे खुचेको टिकट गठबन्धन तिर फाल्ने, बागी भएर दुःख दिनेहरूको मुख टाल्ने, साम दाम दण्ड भेदको सिद्धान्त अनुसार कदम चाल्ने, गडबड होला जस्तो भयो भने गठबन्धन तोडिन सक्ने धम्कीको रांको बाल्ने र विरोध गर्न सक्नेहरूलाई किन्ने काम पनि भित्र भित्र थाल्ने गरेपछि कसो पार नपाइएला र!

टिकट पाउने सम्भावना भएका तर ग्यारेण्टी नभएकाहरूले ठाउँ ठाउँमा धाउने काम गर्दा गर्दा दुई चार जोर जुत्ता फटाइ सकेको भए पनि अर्को छट्टुले भित्र भित्र आफ्नो नाम कटाई सकेको हल्लाले भोक, निद्रा गुमाइ सकेको हुन्छ। आज नाम छ भन्छन् भोलि नाम छैन भन्छन्।

फेरि कुद्दै भेट्न र मुख देखाउन गयो। गतिलो आस्वासन प्राप्त हुन्छ। त्यही उपलक्ष्यमा बेलुका जमेर धोक्यो, त्यही सुरमा आफू जस्तो योग्य कोही छैन भनेर खोक्यो र टिकट पाएर चुनाव जितेपछि यो गर्छु त्यो गर्छु भनेर जिम्मेवारी पनि बोक्यो फेरि भोलिपल्ट तपाईंलाई त फलानाले रोक्यो, हुँदै हुँदैन भनेर टेबल ठोक्यो र तपाईंको बदला अर्कैलाई तोक्यो भन्ने खबर पाएपछि फेरि जुत्ता खियाउने र टिकट दाताहरूको घरघरमा चियाउने काम गर्दैमा दिन जान्छ।

टिकटको अन्तिम घोषणा नभएसम्म र त्यसभित्र आफ्नो नाम नगएसम्म भोकतिर्खा माया मारेर नधाए अहिलेसम्मको मेहनतबाट हारेर र पछिसम्मलाई अलपत्र पारेर नछोड्लान भन्न सकिन्न। राजनीतिका जति आदर्श छाँटे पनि र जनतालाई दिनदिनै ढाँटे पनि खास कुरो भनेको टिकट नै रहेछ। त्यसैबाट वन्चित भइयो भने सधैंको लागि माटो मुनी गईयो भनेर जाने हुन्छ।

इतिहास,बिचार,सिद्धान्त,कार्यशैली,कार्यदिशा,मूल्य मान्यता आदि केहि नमिलेपनि अस्तित्व जोगाउन गरिएको र यो सबै कर्म देश र जनताको लागि मात्रै हो भन्ने भ्रम छरिएको गठबन्धनको तर्फबाट आफ्नै सहोदर छोरी,श्रीमती,बुहारी आदिलाइ माथिबाट जबरजस्ती टिकट दिइएको बिरोधमा खडा भएका बागी उम्मेदवारहरुलाइ मनाउन सरकार प्रधानदेखि स्वघोषित महान नेता र बहालवाला मन्त्रीहरु नै घरघर धाएका र बागीको पाउ परेर अनेक उपाय लगाउँदापनि मनोनयन फिर्ता लिन नआएका हुनाले बेकारमा किन दुख पाएका होलान् भन्नेपनि सुनिन्छ।

देशको अत्यन्त प्रजातान्त्रिक दलको निरंकुश उर्दी र फरमानले स्वघोषित महान नेताको सुपुत्रीको फेरि मेयर हुने अरमानमा बाधा नपरोस् भनेर सारै चिन्तित भएका शिर्षहरुलेपनि टिकटबाट निकै बिकट समस्या झेलिरहेको र उनिहरुको दिमाग यसैमामात्रै खेलिरहेको प्रष्ट देखिन्छ।

एक्लाएक्लै चुनाव उठेर स्वच्छ राजनीति गर्नेमात्रै होइन माथि देखि तलसम्म आफ्नै दल समेत सम्हाल्न नसक्नेले देश सम्हाल्छन् भनेर जनताले पत्याउनु भन्दा नीति नैतिकता आदर्श सबै बिर्सेर कुर्सी हत्याउनु मात्रै अहिलेको महान कार्य हो भन्ने सबैले बुझिदिन पर्छ।

अहिले त बिभिन्न तहबाट सिफारिस भएकाहरू र नभएकाहरु पनि अन्तिम लिस्टमा आफ्नो नाम पार्न र यसपालि जसरी भए पनि बाजि मार्न सफल भएका छन्। टिकट दाताहरूको घर कार्यालयमा थुप्रिने र सकेसम्म झुकेर नमस्कारमा कुप्रिने गरेर यिनीहरूले नेताहरूलाई हैरान पार्दै निकै बिकट रहेको टिकट पाउनेले पाइसके।

सकभर टिकटका आकाँक्षीहरुलाई आफैंले भेट्नुभन्दा आफ्ना नजिकका एजेन्टहरु मार्फत बार्गेनिङ गरेर नगदमा टिकट बिक्री गर्न पल्केका र सिद्धान्तभन्दा शुभलाभतिर ढल्केका अनि गठबन्धनको नाममा नाजायज कार्यतिर सल्केका नेतृत्व तहलाइपनि टिकटको निर्णय बिकट भएकै पाइयो।

आकाँक्षीहरुलाई भेट नदिने नेताहरुलाई थर्काउने र यसैलाई ठूलो मुद्दा बनाएर चर्काउने समेत गर्न सक्ने हुनाले नेताहरूले एकदिन भए पनि मुख देखाउन करै लाग्यो। यसरी अहिले सबैको ध्यान टिकटमा भएकोले यसको कुरै अलि बिकट रहेछ भनेर सबैले बुझेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *